July 19th, 2017

ब्याजदरसँगै सेयर बजार पनि बढ्यो 

भुवन पौडेल
वित्तीय प्रणालीमा निक्षेपको ब्याजदर र सेयर बजार विपरीत धु्रवमा हुने गरे पनि नेपाली बजारमा हालैका दिनले यो सिद्धान्त फेल खाएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर वढाए पनि नयाँ आर्थिक वर्षसँगै सेयर बजार उच्च अंकले बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा पनि पछिल्ला ३ दिनमा सेयर बजार परिसूचक भने करिब ५५ अंकले बढिसकेको छ । वित्तीय प्रणालीमा ब्याजदर र सेयर बजार विपरीत दिशामा हुन्छन् । सेयर बजार बढ्दा वित्तीय प्रणलीको ब्याजदर घट्ने गर्छ भने सेयर बजार घट्दा वित्तीय प्रणालीको ब्याजदर बढ्छ । तर, सेयर बजार र वित्तीय प्रणालीको ब्याजदर बढ्ने सामान्यतया नहुने नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतिले बताए ।

“ऋणीलाई ब्याजदर बढाएको एसएमएस आएको छ,” उनले भने, “तर, पछिल्ला तीन दिनमा सेयर बजार करिब ५५ अंकले बढेको छ ।” यद्यपि पछिल्ला केही दिनको सेयर बजारको क्रमलाइ हेरेर मात्रै बजारको आगामी टे«ण्ड निक्र्योल गर्न नसकिने उनको भनाइ छ । सेयर बजार भोलीका दिनमा नबढे पनि घट्ने अवस्थामा भने नरहेको उनको विश्लेषण छ । समान्यतया बैंकमा निक्षेपको ब्याजदर बढेको अवस्थामा लगानीकर्ताले सेयर बिक्री गरेरै बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने तथा ब्याजदर घटेको अवस्थामा सेयरमा लगानी गर्ने गर्छन् । सेयरमा लगानी गर्दाभन्दा निक्षेप राखेर प्रतिफल लिँदा जोखिम न्यून हुने भएकाले ब्याजदर र सेयर बजार विपरीत दिशामा हुन्छन् । केही दिनअघि सरकारले स्थानीय तहमा बजेट विनियोजन गरेको तथा सूचिकृत कम्पनीहरूको गत आर्थिक वर्षको वित्तीय विवरण राम्रो आउने हल्लाले सेयर बजारमा सुधार आएको हो । सरकारले विनियोजन गरेको बजेट बैंक तथा वित्तीय संस्थामा आउने भएकाले ब्याजदर पनि घट्ने अपेक्षामा सेयर बजार वढेको सिँजापतिको विश्लेषण छ । आइतबारको बजारले सोमबार र सोमबारकोले मंगलबारको बजा रलाइ सपोर्ट गरेको उनले बताए । तर, बैंकहरूले सस्तो दरमा कर्जा दिन सक्दैनन् भन्ने लगानीकर्ता धेरै भए पनि केहीले त्यो नबुझेको उनको तर्क छ । 

यो साताको पहिलो दिन आइतबार करिब एक अंकले बढेको नेप्से परिसूचक सोमबार २० अंकभन्दा धेरैले बढेको थियो । त्यसैगरी मंगलबार कारोबार सुरु भएदेखि निरन्तर वढेको नेप्से परिसूचक बन्द हुँदा ३४ अंकले वढेको छ । सेयर लगानीकर्ता भने स्थानीय तहको निर्वाचन भएपछि आर्थिक गतिविधि बढ्ने अपेक्षामा सेयर बजारमा बढेको बताउँछन् । अन्तर्राष्ट्रिय रूपमा नै ब्याजदर र सेयर बजारबीच विपरीत सम्बन्ध हुन्छ भनिए पनि सँधै सो सिद्धान्त लागू नहुन सक्ने नेपाल  धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरी बताउँछन् । “पछिल्ला तीन दिनको बजारको अवस्थाले यहि नै हो भन्ने निश्चित गर्न हँुदैन,” गिरीले भने, “बजार विभिन्न सेन्टिमेन्टले निर्देशित हुने भएकाले ब्याजदरअनुसार कहिलेकाहिँ नचल्न पनि सक्छ ।”

बजारको हालको टे«ण्ड नै दीर्घकालीन नभएको हुनाले निष्कर्ष निकाल्न हतार गर्न नहुने उनले बताए । नयाँ आर्थिक वर्षको सुरुवातमा गत आर्थिक वर्षमा कम्पनीको कार्यसम्पादनसम्बन्धी सूचनाहरू बाहिर आउने भएकाले पनि बजार बढ्नु स्वभाविक हुने गिरीको तर्क छ । मंगलबार सेयर बजार परिसूचक ३४।२६ अंकले बढेर १६३८।४१ अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर एक अर्ब २१ करोड रूपैयाँ बराबरको किनबेच भएको छ । मंगलबार नेप्सेको कुल बजार पुँजीकरण समेत १९ खर्ब २२ अर्ब पुगेको छ । कारोबार दैनिकमा प्रकाशित समाचार
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]