July 15th, 2017

सेयर बजार : लगानीकर्ताले एक वर्षमा ४४ अर्ब गुमाए

विष्णु बेल्वासे / सेयर धितोमा बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याज बढ्दा धितोपत्र बजारका लगानीकर्ताले एक वर्षमा ४४ अर्ब रुपैयाँ गुमाएका छन्। चालु बैंक ब्याजको असरले आर्थिक वर्ष २०७३/०७४ मा सेयरको मूल्य घट्दा लगानीकर्ताले उक्त घाटा बेहोरेका हुन्।

आर्थिक वर्ष २०७३/०७४ मा पुँजी बजार ४४ अर्ब रुपैयाँले घटेको छ। चालु आवको सुरुमा गत साउन १ गते सेयर बजारमा कुल पुँजीकरण १८ खर्ब ९० अर्ब रुपैयाँ थियो। आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार (असार २९ गते) पुँजीकरण १८ खर्ब ५६ अर्ब रुपैयाँमा ओर्लिएको छ।

बजार निरन्तर रुपमा ओरालो लागेपछि लगानीकर्ताले उक्त रकम गुमाएका हुन्। पोहोर असारको अन्तिम कारोबार दिन १७१८.१५ बिन्दुमा रहेको नेप्से चालु आवको अन्तिम दिन गत बिहीबार १५८२.६७ मा आइपुगेको छ। एक वर्षको अवधिमा नेप्से १३५.४८ बिन्दुले ओरालो लाग्यो। चारैतिर निराशा छाएका कारण सेयरमा लगानी गर्नेले यो आवमा कमाउन सकेनन्। सेयर बजारमा लगानीको हिसाबले चालु आर्थिक वर्षलाई शुभ वर्ष रहेन। पुँजी बजारमा लगानी गर्नेले दुःखका साथ यो आर्थिक वर्षको बिदाइ गरे।

उनीहरुले नयाँ आर्थिक वर्ष २०७४/०७५ साललाई कमाइको वर्ष बनोस् भनेर शुभकामना दिएका छन्। आर्थिक वर्ष २०७३/०७४ को अन्तिम दिन बिहीबार नेप्से ४.८९ बिन्दुले ओरालो लागेकाले पनि आगामी आवको लागि शुभसंकेत नदेखिएको लगानीकर्ता बताउँछन्। चालुु आर्थिक वर्ष लगानीयोग्य रकम (तरलता)को अभावले सेयर बजार कारोबारसमेतलाई प्रभाव पार्‍यो। ७–८ प्रतिशत ब्याजमा पाइने सेयर धितो कर्जा १३–१४ प्रतिशत पुग्यो। उच्च ब्याजदर तिरेर पनि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन सकेका छैनन्। यसले गर्दा पनि नाफा अपेक्षा लगानीकर्ताले घाटा बेहोर्नु पर्‍यो।

सरकारले सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम नल्याएकाले पनि सेयर बजार घट्न पुगेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले नागरिकलाई बताए।

नेप्सेमात्र होइन कारोबार रकममा समेत कमी आएको छ। डेढ अर्ब रुपैयाँको कारोबार हुँदै आएको सेयर अहिले सेयर कारोबार दैनिक औसतमा ७० करोडको मात्र कारोबार हुन थालेको छ। सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको एक विश्लेषकले बताए। 'सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको हो,' उनले भने, 'अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ।' बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा ब्याज बढ्ने गर्छ।

ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको विश्लेषक बताउँछन्। ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ। ब्याजदर बढेकाले सेयर बजारमा गिरावट आएको भनाइ कतिपयको छ। यसअघि ब्याजदर कम थियो। सेयरको भाउ पनि बढेको थियो। अहिले ब्याजदर बढेसँगै सेयर मूल्यमा शिथिलता आएको छ।

चालु आर्थिक वर्षको अन्तिममा पुँजी बजारमा मूल्य अभिवृद्धि कर (भ्याट) का कारण सिर्जित अन्योलले पनि बजार घटाउन योगदान गरेको छ। नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा पुँजी बजार सुधारका खबर आउन सकेका छैनन्। बरु भ्याटका कारण नराम्रो सन्देश गएको छ। चालु आवमा सुखद सन्देश दिन नसकेको सेयर बजारले नयाँ आवमा पनि सकारात्मक सन्देश प्रवाह नगर्ने हो कि भन्ने आंशका लगानीकर्तामा छ।

मुलुकको एकमात्र पुँजी बजारको दायरा फराकिलो बनाउन उपत्यका बाहिरबाट कारोबार सुरु गरिए पनि त्यसको असर देखिएको छैन।

सेयर बजार बढ्नका लागि अर्थतन्त्रका सूचकमै सुधार हुनुपर्ने भनाइ कतिपयको छ। 'बजारमा लगानीयोग्य पुँजीको अभाव छ, ब्याजदर बढेको छ,' पौडेलले भने, 'यसले गर्दा पनि बजार बढ्न नसकेको हो।'

यसपछिको वृद्धिका लागि सेयर बजारमा विदेशी लगानी खोल्नुपर्ने विज्ञहरु बताउँछन्। 'विदेशी लगानीकर्तालाई सेयर बजार खुला गर्नुपर्छ र एनआरएनलाई कार्डकै आधारमा लगानी गर्न दिनुपर्छ,' उनले भने, 'नेप्सेको कारोबार प्रणालीमा पनि सुधार ल्याउन आवश्यक छ।'

लगानीकर्ताले बैंकको ब्याजदरमा कमी, असोजमा हुने स्थानीय निकायको निर्वाचन र विदेशीलाई पनि यसमा लगानी गर्ने वातावरण बनेमा मात्र सेयर बजार बढ्ने अपेक्षा गरेका छन्। अन्यथा, सेयर  बजार बढ्ने सम्भावना नभएको विश्लेषकहरुको भनाइ छ।

राजनीतिक घटनाक्रमले पनि सेयर  बजार उकालो वा ओरालो लाग्ने गर्छ। निर्वाचनपछि लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने लगायतका काम हुन सकेमा मात्र पनि लगानीकर्ताको मनोबल सकारात्मक हुने विश्लेषकको भनाइ छ। चालु आवको अन्तिम दिन बिहीबार पुँजी बजार सूचक नेप्से ४.८९ बिन्दुले तल झरेर १५८२.६७ मा आइपुगेको छ।

एक सय ५० कम्पनीको ७४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। यस दिन २० लाख ४० हजार ७२८ कित्ता सेयर किनबेच भएका छन्। अन्यबाहेक बाँकी सबै समूहका सूचक तलतिर झरेका छन्। अन्य समूहमा भने ११.८६ अंकको वृद्धि देखिएको छ। सबैभन्दा धेरै बिमा समूहको सूचक ५३.६७ अंकले तल झरेको छ।

यसैगरी, उत्पादनमूलक समूहको सूचक ३४.४१ अंक र होटल सूचक ३४.३२ अंकले ओरालो लागेको छ। कारोबार रकममा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले अग्रता लिएको छ। फरवार्डको १२ करोड ८८ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रह्यो। नागरिक दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]