April 17th, 2016

कार्यालयमै गभर्नरको कुरा काट्दै बस्छन् राष्ट्र बैंकका प्रवक्ता

trilochan pangeniडेपुटी गभर्नर बन्न नपाएपछि रुष्ट बनेका राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी गभर्नर र डेपुटी गभर्नरकै दुश्प्रचारमा उत्रिएका छन् । डेपुटी गभर्नर बन्ने दाउ असफल भएपछि पंगेनी आजभोली गभर्नर र डेपुटी गभर्नरकै ‘ब्याक बाईटिङ’ मा उत्रिएका हुन् । विशेष कार्यक्रममा भाग लिन अमेरीका पुगेका गभर्नर डाक्टर चिरञ्जिवी नेपाललाई असभ्य शब्द प्रयोग गर्दै कार्यालयका केही कर्मचारीकै अगाडी दोश्रो कुनै व्यक्तिसंग फोनमा कुरा गर्दै गरेको अडियो बैंकिङ खबरले फेला पारेको छ । पुरानो कर्मचारी भएको भन्दै डेपुटी गभर्नर दाबी गर्दै आएका पंगेनी डेपुटी गभर्नर बन्न नपाएको झोकमा फोनमा दोश्रो व्यक्तिसंग केही पत्रकार र गभर्नरलाई असभ्य शब्दले गाली गर्दै दुश्प्रचार गरिरहेका थिए । 

आजभोली उनको व्यवहारले राष्ट्र बैंकका कर्मचारीहरु पनि आजित भईसकेका छन् । एक कर्मचारीले भने, ‘उहाँको के कुरा गर्नु, हामी उहाँसंग काम गर्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ ।’ स्रोतकाअनुसार नियुक्त भएका डेपुटी गभर्नरहरु चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठसंग समेत उनको राम्रो बोलचाल छैन । दुवै डेपुटी गभर्नर सरल र मिलनसार स्वभावका भएपनि घमण्डी र रिसाहा स्वभावका पंगनीले दुवै डेपुटी गभर्नरलाई ‘आफ्नो भाग खोस्न आएको’ भन्ने नजरले हेर्छन् । राष्ट्र बैंक स्रोतले भन्यो, ‘उहाँलाई डेपुटी गभर्नर बन्छु भन्ने ठूलो विश्वास थियो तर त्यो पूरा नभएपछि अहिलेका ‘साब’हरुलाई समेत राम्रो मान्नुहुन्न । उहाँको यो बानीबाट कर्मचारीहरु पनि वाक्क भईसकेका छन् ।’

मिडियालाई सूचना दिँदैनन् 
राष्ट्र बैंकजस्तो उच्च निकायका प्रवक्ता पंगेनी सूचना दिने कुरामा समेत झर्कोफर्को गर्छन् । कुनै पनि संघ संस्था वा सरकारी निकायमा सूचना पाउने जनताको नैसर्गिक अधिकारलाई सुदृढ पार्नको लागि प्रवक्ता तोकिएको हुन्छ । संचारमाध्यमले सूचनाको हक दिलाउने क्रममा कतिपय विवरण र नयाँ नयाँ समाचारमूलक जानकारी र सूचनाका कुरा अपेक्षा गरेका हुन्छन् । तर त्यस्ता सूचनासमेत दिँदैनन् राष्ट्र बैंकका प्रवक्ता पंगेनी । सोमबार राष्ट्र बैंकमा बैंकिङ सूचना लिन पुगेका पत्रकार शिवहरि घिमिरे भन्छन्, ‘प्रवक्ताले सिधै तपाईको मिडियालाई म सूचना दिन्न भन्नुभयो ।’ प्रवक्ता पंगेनीले कुनै व्यक्तिसंगको व्यक्तिगत रिसिबीका कारण संस्थालाई नै सूचना दिन नमानेको पत्रकार घिमिरेको दाबी छ ।  

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ मा सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधानअनुसार राष्ट्र बैंकले पंगेनीलाई प्रवक्ता तोकेको हो । तर पंगेनीले सूचनाको हकसम्बन्धी उक्त कानुनको समेत ख्याल गर्ने गरेका छैनन् । 

किन डेपुटी गभर्नर बन्न पाएनन् पंगेनी ?
‘पहिला–पहिला उहाँ आफुलाई कांग्रेस भन्नुहुन्थ्यो, पछि एमाले बन्नुभो । फेरी धार परिवर्तन गरी माओबादी बन्नुभयो । त्यसैले कुनै पार्टीले पनि अब उहाँमाथी विश्वास गर्न छाडेकाले डेपुटी गभर्नर बन्ने मौका गुमाउनुभएको हो ।’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसैले पनि उहाँ आजभोली तनावमा हुनुहुन्छ ।’ कार्यविधि, अनुभव र क्षमताका आधारमा डेपुटी गभर्नर बन्न आफुलाई उनले दक्ष ठानेपनि कर्मचारी र राजनीतिक दलहरुको मन नपर्ने व्यक्ति भएकाले उनले डेपुटी गभर्नरको पद नपाएका हुन् ।

कांग्रेस पार्टीको भएको ठानेर गभर्नरले प्रवक्ता तोकेको तर एमाले सरकार आएपछि डेपुटी गभर्नर बन्न पाइन्छ भनेर पंगेनी एमाले तिर लागेका थिए । तर माओबादीबाट पनि एउटा कोटा छ भन्ने सुईको पाएपछि उनी माओबादीपट्टि दौडेर पुगेका थिए । फाइदाका लागि जता पनि दौडने उनको प्रवित्तिकै कारण कुनै पनि पार्टीले उनलाई विश्वास गर्दैनन् । त्यसैले अहिले उनी तनावमा छन् । व्यक्तिगत तनावका कारण उनको व्यवहारबाट कर्मचारी पीडितजस्तै बनेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]