June 2nd, 2017

‘नबुझि लगानी गर्दा सेयरमा जोखिम बढ्छ’

परिष्ठनाथ पौड्याल नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । पूँजीबजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्न, धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण र विनिमय कार्यलाई प्रभावकारी रुपमा व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम, कारबाहीलाई नियमित तथा व्यवस्थित गर्नको लागि नेपाल सरकारबाट वि. सं. २०५० जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको थियो । धितोपत्र बोर्डले भर्खरै धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ लागू गरेको छ । त्यस्तै बोर्डले धितोपत्र दलालहरुको पुँजी २० लाखबाट बढाएर दुई करोड रुपैयाँ पुर्याएको छ । १० गुणा पुँजी बृद्धि गरेपछि कार्यक्षेत्र पनि विस्तार गर्नुपर्ने धितोपत्र दलालहरुले माग राख्दै आएका छन् । अर्कोतर्फ नयाँ स्टक एस्क्सचेञ्ज कम्पनीलाई अनुमति दिने पक्रिया पनि बोर्डले अघि बढाइसकेको छ । यसै सन्दर्भमा बोर्डका कार्यकारी निर्देशक पौड्यालसँग बैंकिङ खबर डटकमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ : 

धितोपत्र बजारको बारेमा संक्षेपमा बताइदिनोस् न ।
एक बर्षभन्दा बढी समय परिपक्व हुने वित्तीय सम्पति र साधनहरुको खरिद विक्रि गर्न स्थापना गरिएको संयन्त्र धितोपत्र बजार हो । धितोपत्र बजार धितोपत्र खरिकर्ता र विक्रिकर्तालाई एकै ठाउँमा ल्याई निरन्तर रुपमा धितोपत्र खरिद विक्रि वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा जस्ता सम्पूर्ण निकायहरुलाई धितोपत्र बजार भनिन्छ । वि.स. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले प्रथम पटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि अनौपचारिक रुपमा धितोपत्र बजारको शुरुवात भएको थियो । वि.स. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भएपछि सरकारी ऋणपत्रको दैनिक खरिद बिक्रीको व्यवस्थाबाट धितोपत्र बजारको संस्थागत विकासको शुरुवात भएको हो । केन्द्रको भूमिका स्थापनाको उद्देश्य अनुरुप नभएको महशुस गरी नेपाल सरकारले जारी गरेका धितोपत्रहरु खरिद बिक्री गर्ने गराउने व्यवस्थाका लागि आवश्यक कानूनी व्यवस्था गर्न वि.स. २०४० सालमा धितोपत्र कारोवार ऐन जारी गरियो । वि.स. २०४६ सालपछि नेपालले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीति पश्चात पुँजी बजारमा निजी क्षेत्रको प्रवेश शुरु भयो । यसले गर्दा सेक्युरिटी खरिद विक्री केन्द्र आफैँले बजार व्यवस्थापन र नियमनको कार्य गर्दा स्वार्थ बाझिन सक्ने विषयलाई ध्यानमा राखी वि.सं. २०४९ सालमा धितोपत्र कारोवार ऐन, २०४० लाई संशोधन गरी सरकारले धितोपत्र बजारको स्वायत्त नियमनकारी निकाय स्थापना गर्न सक्ने व्यवस्था गरियो । धितोपत्र बजारलाई व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डको स्थापना २०५० जेष्ठ २५ गते भएको हो । 

सार्वजनिक रुपमा निष्काशित धितोपत्र खरिद गर्नुअघि के–के कुराहरु हेर्नुपर्दछ ? 
धितोपत्रको सार्वजनिक निष्काशन हुदा धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको ९ विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ । 

धितोपत्रको बजार मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न कस्तो व्यवस्था रहेको छ ? 
धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोबार हुँदा मूल्यमा गर्न सकिने घटीबढीेको सीमा तोकिएको छ । प्रत्येक दिन सेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएको अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुने व्यवस्था रहेको छ । यस्तै डिवेञ्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्दछ । बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लि. ले कारोबार स्थगन सम्बन्धमा नयाँ ब्यवस्था गरेको छ । सो नयाँ ब्यवस्था अनुसार कारोबार शुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि कारोबार स्थगन गर्ने, यसरी स्थगन भएको कारोबार पुनः खुलेपछि उक्त परिसूचकमा ४ प्रतिशतले परिवर्तन भएमा अर्को ३० मिनेटका लागि कारोबार स्थगन गर्ने, उक्त स्थगन पछि कारोबार पुनः खुलेपछि परिसूचकमा ५ प्रतिशत परिवर्तन भएमा उक्त दिन बाँकी पुरै समयको कारोबार स्थगन गर्ने व्यवस्था रहेको छ ।

धितोपत्रमा गरिने लगानी कत्तिको जोखिमयुक्त छ ? 
धितोपत्रमा गरिने लगानीमा जोखिम छ । त्यसैले लगानी गर्दा बिशेष ध्यान दिनुपर्ने हुन्छ । तर, सबै प्रकृतिका धितोपत्रमा गरिने लगानी जोखिमयुक्त हुँदैन । साधारण सेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ । डिबेन्चरको हकमा तोकिएको समय र दरमा व्याज तथा साँवा भुक्तानी गर्ने शर्त रहने हुँदा यसलाई सेयर भन्दा कम जोखिमपूर्ण मानिन्छ । यस्तै सरकारी धितोपत्रमा तोकिएको समय र तोकिएको २० दरमा व्याज प्रदान गरिने र तोकिएको अवधिमा सावाँ भुक्तानी समेत निश्चित हुने हुँदा यस्तो धितोपत्रलाई जोखिममुक्त धितोपत्रको रुपमा लिईन्छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने तयारी गरिरहेको छ, यसमा बोर्डको धारणा के छ ? 
नेपाल राष्ट्र बैंकले यसको तयारी थालेको छ । वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन कानूनी व्यवस्था कस्तो छ भनेर राष्ट्र बैंकले बोर्डमा पत्र पठाएको थियो । हामीले त्यसको उत्तर पठाइसकेका छौं । नियमावलीमै दिन मिल्ने प्रावधान छ । 

ब्रोकर एशोसियसनले त यसको विरोध गरिरहेको छ होइन ? 
कानूनले गर्नु भनेको कुरामा विरोधको अर्थ हुँदैन । राष्ट्र बैंकले कानूनी व्यवस्था अनुसार अनुमति दिने प्रक्रिया शुरु गरेको हो । 

नयाँ स्टक एक्स्चेञ्जलाई अनुमति दिने प्रक्रिया कहाँ पुग्यो ? 
अहिले भएको एक मात्र स्टक एक्सचेञ्ज नेपाल स्टक एस्कचेञ्जले मात्रै काम गर्न नसकिरहेको र बिभिन्न प्रविधिहरुमा बेलाबेलामा समस्या आइरहने हुँदा अर्को पनि एक्सचेञ्च कम्पनीको आवश्यकता महशुस भएको हो । अर्को कुरा, अर्को पनि एक्सचेञ्च कम्पनी हुँदा प्रतिपर्धा हुने र सेवाको गुणस्तर बृद्धि हुने हुँदा अर्को प्राइभेट सेक्टरको नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने तयारी भएको हो । वि.सं. २०६६ सालमा दर्ता भएर अनुमतिका लागि ४ वटा कम्पनी पाइपलाईनमा छन् । यसबारे अध्ययन भइरहेको छ । 

नयाँ स्टक एक्सचेञ्ज एउटा मात्रै थप्ने कुरा छ, तर अनुमति लिने पाइपलाईनमा ४ वटा कम्पनी छन् होइन ? 
२०६६ सालमा दर्ता भएर स्टक एक्सचेञ्ज सञ्चालन अनुमतिको पर्खाइमा रहेका ४ वटा कम्पनीहरु छन् । ४ वटा छन् भन्दैमा ४ वटालाई नै अनुमति दिनु पर्छ भन्ने छैन । हामीले मिलेर आउनु भनेका छौं । ४ वटा मिलेर आए एउटालाई लाइसेन्स दिने हो । मिलेर नआए तीमध्ये उत्कृष्ट वा नयाँ कम्पनीलाई अनुमति दिन सकिन्छ । 

अन्तमा, धितोपत्र बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरुलाई तपाईको सुझाव दिनोस् न । 
धितोपत्र बजारमा लगानी गर्नुपूर्व धेरै कुरा बुझ्नुपर्ने हुन्छ । लगानी गर्नुअघि धितोपत्र भनेको के हो, यसमा कसरी लगानी गरिन्छ, धितोपत्रको मूल्याङ्कन कसरी गर्ने आदि कुराको बारेमा अध्ययन गर्नुपर्छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]