April 16th, 2017

अन्तर्राष्ट्रिय बैंकिङमा उत्कृष्ट ‘नर्वेको बैंकिङ प्रणाली’

आरपी पौडेल

नर्वे ५५ लाख जनसंख्या भएको राजतन्त्रात्मक मुलुक हो । फिनल्यान्ड र स्वीडेनको बीचमा अवस्थित यो देश हावापानीको दृष्टिकोणले अत्यन्तै चिसो मुलुक हो । यहाँका धेरैजसो नागरीकहरु जंकफुडमा निर्भर छन् । यसका साथै नर्वेमा आलु, पाउरोटी, माछाका प्रकारहरू धेरै बिक्रि हुन्छ । नर्वेको प्रमुख उत्पादन पेट्रोलियम पदार्थ हो । यहाँको अर्थतन्त्र पेट्रोलियम र हाइड्रोपावरले धानेको छ । नर्वेजियन नागरीकलाई  अत्यन्त शान्त र इमान्दार मानिसका रूपमा लिने गरिन्छ । नर्वेमा सरकारी शैक्षिक संस्थाहरूको संख्या बढि छ । नर्वेमा धेरै प्रयोग हुने भाषा नर्वेजीयन हो भने, दोस्रो अंग्रेजी हो । नर्वेमा आर्थिक क्रियाकलाप वा काम ५ देखि ६ महिना मात्र हुने गर्दछ । बाँकी महिना सबैतिर हिउँ पर्ने हुँदा विकास निर्माण तथा अन्य कामहरु ठप्पप्रायः हुन्छ । 

नर्वेजियन बैँक र वर्गीकरण
नर्वेमा एउटा बलियो र स्थिर वित्तीय प्रणाली रहेको छ । नर्वेजियन सेभिङ बैँकहरुले एकदमै प्रभावकारी सेवा प्रदान गरिरहेका छन् । नर्वेमा बैँकहरुलाई कमर्सियल बैँक, सेभिङ बैंक र विदेशी बैंकहरुका शाखा गरि तीन प्रकारमा विभाजन गरिएको छ । नर्वेका कमर्सियल बैंकहरुलाई विजनेस बैंकको रुपमा पनि लिइन्छ जसले बैंकको रुपमा काम गर्नुका साथै वित्तीय मध्यस्थकर्ताको भूमिका समेत निभाउने गर्दछन् । कमर्सियल भन्नेवित्तिकै यी बैंकहरुले ठूला व्यवसायहरु र कर्पोरेसनहरुलाई केन्द्रमा राखेर काम गर्ने गर्दछन् । हाल यस्ता बैंकहरुले नीजि उपभोक्तालाई पनि सेवा सुविधा प्रदान गर्ने गरेका छन् भने रकम बचत गर्ने, चेक निक्षेप, मुद्धति निक्षेप, ऋण प्रवाह लगायतका सेवाहरु पनि दिने गरेका छन् । नर्वेको सबैभन्दा पुरानो कमर्सियल बैँक स्टोरब्रान्ड बैँक हो जसको स्थापना सन् १७६७ मा भएको थियो । त्यस्तै, सेभिङ बैंकहरु यस्ता वित्तीय संस्था हुन् जसले व्यक्तिगत बचत खातामा केन्द्रित रहेर फराकिलो क्षेत्रलाई समेट्दै वित्तीय सेवा प्रदान गर्ने गर्छन् । सबैभन्दा पुरानो नर्वेजियन सेभिङ बैंक स्पेयरबैंक भेस्ट हो, जसको स्थापना सन् १८२३ मा भएको थियो । नर्वेमा विभिन्न विदेशी बैंकहरुले आफ्नो शाखा विस्तार गरेका छन् । यी शाखाहरुलाई नर्वेजियन नियामक निकायले नै नियमन गर्ने गर्दछ । अरु बैंकहरु जस्तै यी बैंकहरुको सेवा क्षेत्र पनि फराकिलो र विस्तारित रहेको छ । 

नर्वेजियन बैंकमा खाता कसरी खोल्ने ?
कुनै पनि बैंकमा आफ्नो खाता खोल्नको लागि सबैभन्दा पहिले त आफूले खाता खोल्न चाहेको बैंक छनौट गर्नु जरुरी हुन्छ । बैंक छनौट गर्ने विभिन्न तरिकाहरु छन् । यसका लागि बैंकहरुको वेवसाइट पनि हेर्न सकिन्छ । नर्वेजियन बैंकहरुको हकमा भन्ने हो भने, कुनै पनि बैकहरुले भौतिक रुपमा शाखा नै खोलेर सेवा नदिई पूर्णतया ः अनलाइनबाट नै सेवा प्रवाह गर्ने गरेका छन् । यस्तो अवस्थामा उपभोक्ताले घरमै बसीबसी खाता खोल्न, बिल तिर्न र पैसा ट्रान्सफर गर्न सक्छन् । यहाँका बैंकहरु विहानैदेखि संचालनमा आउँछन् । नर्वेका बैंकहरु सबै यति नै समय खुला रहन्छन् भन्ने छैन । बैंकको कार्य समय बैंकअनुसार फरक छ । तर साधारणतयाः विहान ८ बजेदेखि दिउसो साढे ३ बजेसम्म सोमबारदेखि शुक्रबारसम्म नर्वेजियन बैंकहरु खुल्ला रहन्छन् । 

नर्वेजियन बैंकमा खाता खोल्नका लागि नर्वेजियन नागरिकताको नम्बर आवश्यकता पर्दछ । यदि ६ महिनाभन्दा बढी समय तपाई नर्वेमा बस्ने सोच्दै हुनुहुन्छ भने तपाईंले नेशनल रजिस्टरसँग दर्ता गराएर सो नम्बर लिन सक्नुहुन्छ । यो नम्बर जन्ममिति र व्यक्तिगत कोडसहित गरेर ११ अंकको हुन्छ । नागरिकता नम्बर लिकनिङ्स्कोन्टरमा रहेको स्थानीय कर प्रशासनबाट इस्यु गरिन्छ । नर्वेमा बस्ने अथवा काम गर्ने निश्चित भएको प्रमाणपत्रविना नागरिकता दर्ता गर्न सम्भव छैन ।

यदि तपाईँ पढाईको शिलशिलामा नर्वेमा हुनुहुन्छ भने तपाईँले डी नम्बरको लागि एप्लाई गर्न सक्नुहुन्छ । यो नम्बरबाट पनि नर्वेका बैंकहरुमा खाता खोल्न सकिन्छ । यस नम्बरको लागि तपाईँ नर्वे पुगेपछि मात्र नभएर आफ्नै मुलुकमा बसेर पनि एप्लाई सक्नुहुनेछ । यसरी तपाईँसँग परिचय खुलाउने नम्बर भएपछि आफूले चाहेको बैंकको शाखामा गएर तपाईंले आफ्नो खाता खोल्न सक्नुहुन्छ । यसका लागि तपाईंको पासपोर्ट र पासपोर्ट फोटो अनिवार्य हुन्छ । केही बैंकहरुले आफ्नो मुलुकमा भएको बैंकको अनुमतिपत्र पनि माग गर्न सक्छन् । कतिपय बैँकले खाता खोलेकै दिनमा तपाईंलाई डेविट÷क्रेडिट कार्ड उपलब्ध गराउँछन् भने पिन नम्बर पोस्टमार्फत पठाउँछन् । 

निक्षेपको सुरक्षण
विश्वका अन्य मुलुकहरुमा जस्तै नर्वेका बैंकहरुमा पनि निक्षेप विमा सेवा उपलब्ध छ । यसको उद्देश्य भनेको बैंकले ऋण तिर्न नसकेको अवस्थामा उपभोक्ताको संरक्षण गर्ने हो । नर्वेमा निक्षेप विमाको पहुँच धेरै छ । जहाँ झण्डै आधा जनसंख्या अर्थात २० लाख जनतासम्म रहेको छ ।

मनि ट्रान्सफर गर्नुपरेमा के गर्ने ?
नर्वेमा पैसा ट्रान्सफर गर्ने तथा झिक्ने थुप्रै तरिकाहरु छन् । तपाईंले ट्रान्सफर एजेन्सी, बैंक अथवा अनलाइनमार्फत रकम ट्रान्सफर गर्न सक्नुहुन्छ । जसमध्ये पैसा निकाल्नको लागि डेविट र क्रेडिट कार्ड तथा पैसा ट्रान्सफर गर्नको लागि अनलाइनको प्रयोग गर्नु एकदमै सहज र सरल मानिन्छ । प्रायः बैंकहरुले सस्तोमा तथा निशूल्क पैसा ट्रान्सफर गर्न तथा विल तिर्नको लागि अलनाइन बैंकिङ सर्भिस उपलब्ध गराएका हुन्छन् । नर्वेमा चेकको प्रचलन हराइसकेको छ । ठूला ठूला होटल तथा कम्पनिहरुमा डेविट र क्रेडिट कार्डको अत्याधिक प्रयोग हुने गरेको छ । यदि तपाईंसँग आफ्नै भिसा, युरोकार्ड, मास्टरकार्ड, डाइनर्स क्लब अथवा अमेरिकन एक्सप्रेस कार्ड केही छ भने तपाईंले जता पनि प्रयोग गर्न सक्नुहुन्छ । कुनैकुनै सुपरमार्केट र ग्यास स्टेसनहरुमा भने यस्ता कार्डहरु स्विकृत गरिदैनन् ।

नर्वेका एटीएमहरु
नर्वेका प्रायः बैंकहरुले तपाईंलाई साधारण डेबिट कार्ड उपलब्ध गराउँछन् । जसलाई तपाईंले जुनसुकै एटीएममा प्रयोग गर्न सक्नुहुन्छ । यदि, आफ्नै खाता भएको बैँकको एटीएमबाट रकम निकाल्नुभयो भने शूल्क लाग्दैन । नर्वेका एटीएमलाई मिनि बैंक भनिन्छ । नर्वेका एटीएमहरु कि त बैंकको छेउमा पाइन्छन् भने कि सपिङ सेन्टर जस्ता व्यस्त स्थानहरुमा पाइन्छन् । तीमध्ये प्रायबाट तपाईंले मास्टर कार्ड, भिसा कार्ड जस्ता इन्टरनेशनल क्रेडिट कार्डमार्फत रकम निकाल्न सक्नुहुन्छ । कतिपयमा त अन्य युरोपेली मुद्रा निकाल्न पनि पाइन्छ । कतिपयमा भिसा कार्ड अथवा मास्टर कार्डमार्फत पेश्की रकम निकाल्न पनि पाइन्छ ।

ट्राभलर्स चेक
ट्राभलर्स चेकको प्रयोग पनि नर्वेमा धेरै हुने गर्दछ । त्यसलाई साट्नको लागि बैंकमा जानुभयो भने तपाईले शूल्क तिर्नुपर्दैन । उल्टो बैंकले नै तपाईंलाई शूल्क दिएर पठाउँछ । ट्राभल चेकलाई होटल, प्रमुख हुलाक केन्द्रहरु, ट्राभल एजेन्सी लगायतमा पनि साट्न सकिन्छ । तर, यस्तो ठाउँमा साट्दा साविकको भन्दा कम दरमा साटिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]