April 8th, 2016

‘ट्रेड युनियनबिना’का एघार वाणिज्य बैंकहरु 

unionशिवहरी घिमिरे । गत साउनमा माछापुच्छ्रे बैंकमा कर्मचारी युनियन गठनको विषयले खैलाबैला मच्चियो । कर्मचारीहरुको आन्दोलनका कारण केही समय बैंकको कारोबार समेत ठप्प भयो । कानुनी प्रक्रिया अनुसार यूनियन गठन गर्न खोज्दा बैंक व्यवस्थापनले ४६ जनालाई सरुवा गरी कर्मचारीको नैसर्गिक अधिकारलाई बैंकले दबाउन खोजेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर बैंकको काम छाडेर आन्दोलन गरे । अन्ततः बैंक व्यवस्थापन कर्मचारी युनियन गठन गर्न सहमत भएपछि बैंकिङ कारोबार संचालनमा आयो । 

त्यस्तै कृषि विकास बैंकमा पनि एकताका कर्मचारी आन्दोलन चर्किएको थियो । तर ती बैंकहरुमा आन्दोलन चर्किनुको कारण भने माछापुच्छ«े बैंकभन्दा फरक थियो । त्यहाँको युनियनले भने सेवा तथा सुविधा सहितका विभिन्न माग राखेर गत भदौमा आन्दोलन चर्काएका थिए । पछि व्यवस्थापनले सेवा सुविधामा केही बृद्धि गरेपछि त्यो आन्दोलन रोकियो । 

त्यसो त त्यस्तै आन्दोलन नेपाल राष्ट्र बैंकमै पनि नेकपाएमाले निकट कर्मचारी युनियनले सेवा सुविधा बढाउनुपर्ने र संस्थागत सुधारको माग राख्दै गरेको धेरै दिन वितेको छैन । सेवा सुविधा र कर्मचारीका हकहीतका लागि मात्रै नभएर बैंकका कर्मचारी युनियनहरुले बैंक व्यवस्थापनमा भएको अपारदर्शीतालाई पर्दाफास गर्न भूमिका खेल्ने गरेका देखिन्छ । 

हिमालयन बैंकमा तत्कालीन समयमा भएको अनियमितता पनि त्यहाँ भित्र रहेको कर्मचारी युनियनकै कारण बाहिर आएको थियो । हिमालयन बैंकका तत्कालीन कार्ड सेक्सन प्रमुख अनिलभक्त सुवाल डंगोलले गरेको अनियमितता कर्मचारीले नै पर्दाफास गरेका थिए । 

त्यस्तै नेपाल बंगलादेश बैंकमा एनबी समूहले गरेको घोटाला प्रकरण पनि कर्मचारी युनियनकै कारण बाहिर आएको थियो । 

विशेषतः कर्मचारी हकहितको लागि भन्दै कर्मचारी युनियनहरु गठन भएका हुन् । बैंक तथा वित्तिय क्षेत्रलाई पारदर्शी बनाउन पनि युनियनको भूमिका आवश्यक पर्ने कर्मचारीहरुको भनाई छ । कृषि विकास बैंकका माओबादी निकट कर्मचारी युनियनका अध्यक्ष प्रेमप्रसाद खनाल कर्मचारी युनियन गठन गर्न पाउनु कर्मचारीको अधिकार भएको बताउँछन् । उनी भन्छन् – ‘ट्रेड युनियन गठन गर्न पाउनुपर्छ । यो कर्मचारीको आवश्यकता मात्रै नभएर अधिकार पनि हो ।’ 

आर्थिक पारदर्शीता र कर्मचारीहरुको हकहीतको लागि कर्मचारी युनियन आवश्यक भएको भन्ने कर्मचारीहरुको भनाईप्रति मेगा बैंकका सिईओ अनिल केशरी शाह समर्थन गर्दै भन्छन्, ‘कर्मचारी युनियन आवश्यकता हो तर मर्यादित र लोकतान्त्रिक ढंगबाट चल्नुपर्छ ।’

ट्रेड युनियनको अन्तर्राष्ट्रिय मान्यतानुसार पनि संविधानले नै कर्मचारीहरुलाई संगठन बनाउन पाउने अधिकार दिएको छ । अहिलेसम्म ठूला बैंकहरु अधिकांशमा युनियन गठन भइसकेपनि अझै ११ वटा बैंकहरु युनियन गठन भएका छैनन् । युनियन गठन नभएका बैंकहरुको सूची बैंकिङ खबरले तयार गरेको छ ।

कर्मचारी युनियन नभएका बैंकहरु 
१. सनराइज बैंक
२. एनएमबी बैंक
३. सेन्चुरी बैंक 
४. ग्लोबल आईएमई बैंक 
५. सिटिजन्स बैंक 
६. लुम्बिनी बैंक
७. नेपाल इन्भेष्टमेन्ट बैंक
८.स्ट्यान्डर्ड चाटर्ड बैंक 
९. सेन्चुरी बैंक
१०. जनता बैंक  
११. सानीमा बैंक 


नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबी बैंकका सिईओ उपेन्द्र पौडेलको विचारमा बैंकको संचालक समिति र व्यवस्थापन राम्रो हुने हो भने युनियनको आवश्यकता छैन । उनी भन्छन्, ‘राम्रो व्यवस्थापन प्रणाली भएका बैंकहरुमा युनियनको आवश्यकता छैन ।’

पछिल्लो समय केही बैंकहरुमा भने युनियन गठनको प्रक्रिया चलिरहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा युनियन गठन हुँदा सञ्चालक तथा व्यवस्थापनको अपारदर्शी गतिविधि र संस्थामा कार्यरत कर्मचारीलाई गरिने हेपाहा प्रवित्तिप्रति कर्मचारीले प्रतिकार गर्ने हुँदा पनि निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरुमा प्रभावकारी रुपमा युनियन गठन हुन नसकेको बताईन्छ । तर संचालक समिति र व्यवस्थापन मितव्ययी र कर्मचारीलाई बुझ्ने भएमा युनियनको आवश्यकता नरहने भन्दै कतिपय बैंकहरुले अझै युनियन गठन गर्न दिएका छैनन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]