March 16th, 2017

शरीरको भार गोडासम्म, मर्जरको लहर वडासम्म

प्रा.रामप्रसाद दाहाल – नेपाल राष्ट्र बैंकले जब न्यूनतम चुक्ता पुँजीको व्यवस्थासम्बन्धी नीति ल्यायो, त्यसपछि पुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर नै चलेको छ । ‘मर्जर’ शब्द विशेष गरी बैकिङ्ग क्षेत्रमा ढकमक्क भएर फूलेको छ, तर फल फल्न भने बाँकी रहेको देखिन्छ । अमेरिकी बैज्ञानिक बेन्जामिन फ्राङ्कलिनले भनेका थिए ‘मान्छेलाई बनाउन र पैसाले पैसा कमाउन अनुशासन र तीक्ष्णता सदैव साथमा राख्न सक्नुपर्छ’ । हेर्दा सरल, प्रयोगमा गहन यो युक्ति मर्जरको कसी हुन सक्छ । मर्जर गर्ने, गराउने आवश्यक ठान्ने सबै पक्ष एकै टेबुलमा बसेर छलफल बहस र अन्तरक्रिया गरी सही निश्कर्षमा पुग्न सक्नुपर्छ, कामको लागि काम, अस्थिरताको खेती गर्ने चालबाजीमा मर्जर सीमित हुनु हुँदैन किनकी विषय सोचनीय हुन सक्छ ।
 
मर्जरको तीब्र लहर
विगत तीन वर्षदेखि एक अर्कामा गाभ्ने गाभिने मर्जर प्रक्रिया बैंकमा मात्र नरहेर अन्य क्षेत्रमा पनि जाँदैछ । बैकिङ्ग क्षेत्रमा त छँदैछ, कतै कुनै संस्था अब चल्न नसक्ने भयो, टाट पल्टियो, सञ्चालकले संस्थालाई निचोरे, आफू उक्सिए, संस्थालाई डुबाए, भने तब भन्न थाल्छन्, ‘सके चलाउँला, नसके मर्जर छँदैछ नि’ । पूँजी वृद्धिको कुरा चल्छ, ‘सके सेयर थपौंला, नसके मर्जर गरौँला, के बिग्रेको छ र ?’ ‘बैंकले ऋण दिए सेयर किन्ने, नदिए मर्जर गर्ने’ जस्ता कुराहरु आजभोलि बजारमा सार्वजनिक भइरहेका छन् ।

शिक्षा क्षेत्रमा पनि कुनै बेला लाइसेन्स प्राप्त गर्ने होडबाजी चलेको थियो । कलेज विद्यालय खोल्न, कसैले केही गर्न नसके, जागिर नपाए, के गर्ने त ? भन्ने प्रश्न उठ्यो भने उत्तर आउँथ्यो – ‘कलेज खोल्ने’ । धेरै पैसा छ भने नर्सिङ्ग र मेडिकल कलेज खोल्ने । कति सजिलै २–४ लाख हालेर मान्छे जम्मा गर्यो अनि भटाभट स्कूल कलेज, खोल्यो । चलेसम्म चलायो । नचलेपछि, आजभोलि मर्जर गर्ने यो अभियान विद्यालयतर्फ पनि चलेको छ । नचलेका वा चलाउन नसक्ने भएपछि हामी चलाउन नसक्ने मिलौँ, मर्जर गरौँ, हल्ला गरौँ भन्दै मर्जरको सुरुवाती भइरहेको छ ।

संसद र सरकार पनि मर्जरमा
संविधान सभाले संविधान बनायो । सरकारले नियम कानून बनायो, महानगरपालिका, उप नगरपालिका, नगरपालिका त लहरकै रुपमा ल्यायो । सुविधा होस् वा नहोस्, पविरर्तनको नाममा परिवर्तन गर्नका निम्ति भएपनि अहिले स्थानीय तहका ७४४ संख्या कायम भएपछि बेलुका सुत्दाखेरको गा.वि.स. विहान उठ्दा नगरपालिका भइसकेको हुन्छ । थुप्रै गा.वि.स मर्जर गरेर नगरपालिका बनाउने तीब्र लहर छ । हल्ला चलेको छ स्थानीय निकाय बलियो बनाउनु पर्छ । मन्त्रीहरु अब राजीनामा दिएर नगरपालिकाको मेयर उपमेयर बन्ने कोशिसमा छन् । यो सकारात्मक पनि हो । नजानिँदो पाराले गाविसहरु वडाहरु मर्जर भएर महानगरपालिका, नगरपालिका बन्दैछन् । सबैभन्दा ठूलो नगरपालिका भौगोलिक हिसाबले पोखरा–लेखनाथ नगरपालिका बन्यो रे ! चर्चा आएको छ कैयौं गाविसहरु हराए, के को लागि हरायो – भन्दिएकै छ पुनः संरचना ! अनि एक अर्काको अहम् प्रतिस्पर्धामा पनि जोड्ने फोर्ने विभिन्न तह तप्कामा चलेकै छ । यसो भनौं नामरुपी रुप फेरिएको छ, तर सार फेरिएको छैन ।

जताततै चुनाव, पैसाको अभाव
छिमेकी भारततिर फर्कियो विधान सभाको चुनाव, मोदीको लहर । यता नेपालमा हेर्यो, एमालेको पदयात्रा, ओलीको ……गोलीको लहर ….. । उता क्याम्पसमा युनियनको चुनाव, हुने नहुने, चुनावी द्वन्द्व । कतै भए, कतै मनोनयन भएन, कतै मनोनयन च्यातिए । यस्तै उवडखावडका समाचारभित्र समय गुज्रिँदैछ । यता पत्रकार महासंघको जिल्ला जिल्लामा चुनाव, संस्था संस्थामा चुनाव । के गर्ने पैसा कम भयो र पो ? नत्र मैले मेरै पकडमा चुनाव जान्थ्यो अलिकति कमजोर …… पैसा पेल्यो ….. मैले हारें, जस्तो गुनासा र दुःखेसाहरु बजारमा छिरल्लिएका छन् । चलचित्रका एकाईहरुमा चुनावै छ, चुनावै चुनाव भित्र आएको स्थानीय चुनाव … । चुनाव हुन्छ÷हुँदैन मा समाज विभक्त छ । तर पनि निर्वाचनका नाममा ठूलावडाले ठूला तारे होटलमा भोज भतेर सुरु गरेको समाचारहरुले छापा रङ्गिदैछन् । कर्मचारी मुकरर र तालिमका कुरा बढेकै छन् । कुखुरा साँप्राहरु सगबगाएका छन् । खाने खुवाउने चलन बढ्दैछ । विकास खाने खुवाउने र सरकारी ढुकुटी रित्याउनेमा खुब काम लागेको छ ।

बजारमा विकासका पैसा आउनुपर्यो
बैंकले ऋण दिन सकेनन् । जति ब्याज दिँदा पनि जनताको पैसा तान्नै सकिएन, ठूलो पूँजी आएन, सानो पूँजीले चाहेको पुग्दैन भनेर ‘खुइया’ गर्ने सिईओहरुको समवेदना एकातर्फ मौजूदा रहिरहेको छ भने सबैले एकस्वरमा भन्न थालेका छन्, सरकारले विकास बजेट खर्च गर्न सकेन । अनि सरकार र सरकारमा बस्नेमा के कमी थियो र रात–रात मिटिङ्ग वैठक बसे ? प्रत्येक मन्त्रालय, विभाग, योजना निर्माण सबैतिर आदेश परमादेश जारी गरियो । कुनैपनि राखिएको योजनाका पैसा खर्च गर्न सक्दैनौं भने त्यसलाई तानिन्छ, अर्कोतिर विकासमा हानिन्छ । विकास भएपनि नभएपनि पैसाको निकास हुन थालेको छ । बाटो भत्कायो, खन्यो, पुर्याे, पिच गर्यो, फेरी भत्कायो । कि ढलले कि पानीले, कि बिजुलीले, पालैपालो भत्कायो, खन्यो पुर्यो विकास बजेट तुर्यो । थन्किएको विकास बजेट बजारमा आउनुलाई सकारात्मक पक्ष मान्न सकिन्छ ।

गुरुले पढाएको लिङ्ग र विद्यार्थीले बुझेको लिङ्ग
कक्षा कोठामा गुरुले आधुनिक लिङ्गका बारेमा चर्चा गरेछन् । लिङ्गका तीन प्रकार हुन्छन् ‘पुलिङ्ग स्त्रीलिङ्ग, नपुंसकलिङ्ग’ । विद्यार्थीले भनेछन् – ‘हैन सर चार प्रकारका हुन्छन् ।’ ‘तिमीले कुन लिङ्ग थप्न लागेको’ भनेर के गुरुले भनेका थिए चेलाले भनेछ ‘लथालिङ्ग’ । हो, लथालिङ्ग, नेपाली भाषामा पनि देखिन्छ । नेताको सोचाईमा पनि देखिन्छ । व्यापार व्यवसाय, सरकार, संसद, कर्मचारी, ठेकेदार, एनजिओ, आइएनजिओ, जताततै देखिन्छ । जसरी हुन्छ “पैसा कमाउ, भोज गर” भन्ने नवयुगले अहिले प्रवेश पाएको छ । निष्ठा, त्याग, समर्पण, हराएको छ । गुरुको ज्ञान भन्दैथियो तर चेला हाँस्दै थिए ।

नेपालको पार्टी र त्यसको आर्थिक पूर्वाधार
आजभोलि देशको पार्टीहरु कसरी चलेका छन् ? कसरी पैसा लिन्छन् ? आम्दानीको श्रोत के छ ? पार्टी कसरी धनी बनेका छन् ? भन्दा बाहिर मजाले भन्ने गरिन्छ ( तीन ठूला पार्टीको आर्थिक पूर्वाधार हेरेपुग्छ । लेभी, चन्दा, सहयोग, त थोर बहुत देखाउने विषय पनि हो । यो पूर्वाधार पनि हो । तर सारमा ठेक्कापट्टा आफ्नालाई पारेर पैसा असुल्ने एउटा पार्टी भो । अर्को पार्टी एनजिओ आइएनजीओ चलाएर पैसा सङ्कलन गर्छ, भने अर्को पार्टी जताबाट पाइन्छ त्यतैबाट लिइन्छ भन्दै, अर्थ सङ्कलन गरी पार्टी चलाउन थालेपछि, के आर्थिक नियम बन्ला ? के समाज सुध्रिएला ? अनि त्यही सिको गर्ने पुस्ताले भत्काउने र भाँच्ने बाहेक के बनाउने ? प्रश्न जीवन्त भएर उभिएको छ ।

शरीरको भार गोडासम्म, मर्जरको लहर वडासम्म
हामी पृथ्वीका भार हौँ – हाम्रो शरीर पृथ्वी माथि अडिएको छ । शरीरलाई हिडाँएको छ, चलाएको छ । गोडाले  गोडालाई मनले चलाएको छ । तरपनि सम्पूर्ण शरीरको भार टेक्ने पाइतालामा केन्द्रित छ । खुट्टा नै शरीर अडाउने माध्यम हो । त्यस्तै देशको सुन्दरता भनेको र अडिने आदर पनि प्रष्ट छ । जहाँ ज्ञान हुन्छ, त्यहाँ नियम हुन्छ । जहाँ नियम हुन्छ, त्यहाँ अनुशासन हुन्छ । जहाँ अनुसशासन हुन्छ, त्यहाँ अनुशरण हुन्छ । जहाँ अनुशरण हुन्छ, त्यहाँ विकासको सोच हुन्छ । जहाँ विकासको सोच हुन्छ, त्यहाँ भोक, रोग र गरिबीको अन्त्य हुन्छ । त्यो अन्त्य नै जीवनको प्राप्ति हुन्छ । नेता महानेता बन्नु छन्, जनताको प्रिय हुन्छन् । त्यसैले त्यो प्रियता कमाउन प्रयोग मात्रै गर्ने होइन, दीर्घकालीन योजना निर्माण गर्नु पनि हो । पुस्तौं पुस्ताका लागि बाटो खोल्ने पनि हो । त्यसैमा यो मर्जरको लहर पनि सार्थक हुन्छ – वडाको लहर पनि गोडासम्म पुग्छ । त्यसैले नेतृत्व लिनेले पारदर्शी तरिकाले बोल्नुभन्दा अगाडि सुन्न र सोच्न सक्नुपर्छ । जे काम गर्नुछ लक्ष्यको आधा बाटोमा गएर कहिले नफर्किनु, किनकि फर्किनुलाई पनि त्यत्तिकै आधा बाटो पार गर्नुपर्दछ ।

अन्त्यमा हामीले पूँजी वृद्धि गर्ने निर्णय गरिसक्यौं, फर्कनु हुन्न । मर्जर बढिसक्यो, फर्किनु हुन्न । सकारात्मक सोचका साथ नचाहिँदा संघ संस्थालाई अन्त्यकै लागि भएपनि मर्जर जरुरी ठान्यौं, पूरा गर्यौँ । फेरी प्रत्येक क्षेत्र प्रयोग प्रयोगको क्रिडास्थल नबजाउँ । त्यही नै हाम्रो उपलब्धी हुनेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]