March 13th, 2017

जापानमा नेपालीहरु, नेपाली व्यबसाय र त्यसको भविष्य 

डि.पि अर्याल – पहिलेपहिले नेपालीहरु विदेश जाने कुरामा धेरै प्रश्नहरु उठाउँथे । विदेशमा आफन्त भएकाहरु मात्रै विदेश जान्थे । अन्यथा कुन देश जाने ? तलव कति आउँछ ? कसरी जाने विदेश ? कसले लैजान्छ ? कति पैसा लाग्छ ? अनि कति आम्दानी हुन्छ ? यी र यस्तै प्रश्नहरु निकै चल्थे । तथापि, आज परिस्थिति फेरिएको छ । नेपाली समाजमा मेरो छोराको विदेशमा होटल छ, मेरो छोरा वा छोरीको रेष्टुरेन्ट छ, भतिजाको यस्तो व्यबसाय छ, यस्तो कम्पनी छ जस्ता कुराहरु हुन थालेका छन् । सँगसँगै आजकल फलानाको छोरीले पासपोर्ट लियो, फलानाको छोराको यो देश र उ देशको भिसा लाग्यो, फलानो त एनआरएनए भएछ, जस्ता कुराहरु सुनिन थालेका छन् । हरेक विषयमा सकारात्मक र नकारात्क पाटाहरु हुन्छन् र वैदेशिक यात्रामा पनि छन् । 

जापानमा बढ्दै नेपाली, विस्तार हुँदै व्यवसाय 
यहाँ कुरा उठान गर्न लागिएको छ जापानको । हाल जापानमा नेपाली समुदायको लगानी बढेर गएको छ । आर्थिक स्तर र संख्यात्मक रुपमा पनि नेपालीहरु बृद्धि भएका छन् । रेष्टुरेन्ट व्यवसाय सबै भन्दा अघि छ । त्यसपछि रेमिट्यान्स, आयात निर्यात, लगायतका व्यबसायमा नेपालदीहरु अब्बल भइसकेका छन् । होटल, सुपरमार्केट, ट्राभल्स, निर्माण लगायत अन्य नयाँनयाँ क्षेत्रमा पनि नेपाली समुदायको उपस्थिति प्रशंसनीय छ, जुन कुरालाई जापान सरकारको विभिन्न निकायबाट पनि पुरस्कृत र सम्मान गर्ने क्रम बढिरहेको छ । हामीले गरेका लगानी भविष्यको लागि हो । जापानको कानुन, सुरक्षानीति, कर तथा कम्पनीसम्बन्धी नियमहरु र भविष्यमा हुन सक्ने समय सापेक्ष कानुन परिवर्तनले हामीलाई कस्ताकस्ता फाइदा र बेफाइदा पुर्याउँछन् भन्नेबारे प्रष्ट हुनुपर्छ । लगानी गरीसकेपछि अब हामी विदेशी होइन, यही देशको कानुनको दायरामा बसेर लगानी गरिसकेका लगानीकर्ता हौँ । यहाँ अब जापानी र गैरजापानी भन्दा पनि यो देशको सरकारलाई कर तिरेर व्यवसाय सञ्चालन गर्ने, यो देशको आर्थिक अवस्थामा सम्बन्ध राख्ने नेपाली भएका छौं । जसले प्रत्यक्ष रुपमा जापानको अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । 

व्यवसायमा संवेदनशीलताको आवश्यकता 
यति संवेदनशील अवस्थामा पुगिसकेका हामीहरुको व्यवसाय गर्ने तरिका चाहिँ के जापानी नागरिकहरुको जस्तै छ त ? हामी आफ्नो व्यवसायप्रति कति लगनशील छौँ ? कति संवेदनशील छौँ ? कति दुरदृष्टिले हेरेका छौँ ? कति अध्ययन गरेका छौँ या गरिरहेका छौँ ? मानव जीवनमा सबैभन्दा संवेदनशील खानेकुरा समाजलाई दिएका छौँ भने त्यसमा हुनुपर्ने सबै सुक्ष्म विषयमा ध्यान दिएका छौँ कि छैनौं ? स्वाद, स्वस्थता, सरसफाई, प्रभावकारी सेवा, सम्मानित व्यवहार, ग्राहकको चाहनाको ख्याल लगायतका कुरामा ध्यान दिँदै आफ्नो व्यवसायको धर्म र नैतिकतालाई मूल आधार मानेर, लगानीकर्ताले व्यवसायिक बनेर कर्मचारीले जिम्मेवार कर्मचारी भएर हामीले आआफ्ना जिम्मेवारी निर्वाह गरेका छौँ कि छैनौ ? यी कुरामा ध्यान दिन अति आवश्यक छ । जसले गर्दा हामी सम्पूर्ण नेपाली समुदायले गरिरहेका व्यवसायमा जापानी समाजले विदेशीले सञ्चालन गरेको जस्तो नभई जापानमा सञ्चालन भएको व्यवसायको रुपमा हेर्न सकेको हुनुपर्छ । (उदाहरणको लागि वातामी र सुसिया जस्तै) मान्न सकुन् र हाम्रो व्यवसायले यो देशमा सयौँ वसन्तहरु पार गरुन् । हामी सफल व्यवसायी बन्न सकौँ । अनि हाम्रो आफ्नो जन्मभूमि र त्यहाँका जनताको लागि केही नयाँ नयाँ कुराहरु दिन सकौँ । 

मित्र भावको खाँचो 
अर्कोतर्फ, पछिल्लो समय नेपालीहरुको संख्यामा आएको वृद्धिसँगै नेपाली समुदायलाई नै आफ्नो मुख्य बजार (ग्राहक) बनाएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी साथीहरुबीचको प्रतिष्पर्धा छ । हामी सबै व्यवसायीले ग्राहकको भावना कतिको बुझ्ने गरेका छौँ ? यो विषयमा विचार गर्नुपर्ने बेला आएको छ । नेपाली समुदायले नेपालीद्धारा सञ्चालन गरिएका व्यवसायमा आफू ग्राहक बनेर जाँदा हामीसँग के के कुराको अपेक्षा गरेको होला ? सेवा जापानको, भाषा नेपालको, व्यवहार र समय जापानको, माया र सम्मान नेपालको । अनि नेपालीबाटै सुविधा लिँदा झन् बढी सुरक्षित महशूस गरेको हुनुपर्छ । एउटा नेपालीले अर्को नेपालीसँग सेवा सुविधा लिँदा होस् या मनोरञ्जन गर्न जाँदा त्यहाँबाट आफू असुरक्षित भयो र ठूलो दुर्घटना भयो भने त्यसको जिम्मेवार को हुन सक्छ ? सेवाग्राही ? व्यवसाय सञ्चालक ? या दुवै ? यस्ता विषयमा हामीहरु गम्भीर हुने बेला आएको छ । प्रतिष्पर्धाको नाममा नेपालीहरुबीच नै गलत कामहरु त भएका छैनन् ? जसले गर्दा भविष्यमा ग्राहकलाई पर्न आउने समस्या, आफूले सञ्चालन गरेको व्यवसायमा पर्ने समस्या, यसको समाधान, लगानीकर्ताका लगानीको सुरक्षा, अनि कर्मचारीहरुको भविष्य, निस्कने प्रतिफल इत्यादि विषयवस्तुहरुमा सोच्ने बेला आएको छ । 

सहकार्य र सम्बन्धको अवस्था 
नेपाल र जापानबीचको सुमधुर सम्बन्ध हुनुमा तपाईँ हाम्रो ठूलो भूमिका छ भन्ने कुरा हामीले बिर्सन हुँदैन । त्यस्तै, दुईदेशका नागरिक नागरिक बीच र दुई देशबीच बनेको यो सुमधुर सम्बन्धलाई अझ बढी र घनिष्ट बनाउँदै लैजाने पुलको काम गर्ने जिम्मेवारी पनि हामीकहाँ छ । अझ त्योभन्दा महत्वपूर्ण जिम्मेवारी यहाँको विकास र प्रविधिको सिको गरी नेपालकै विकास र जनताको आर्थिक विकासप्रति जिम्मेवार भूमिका निभाउनुपर्नेछ । यसकारणले पनि जापानमा व्यवसाय गरी बस्ने सम्पूर्ण नेपालीहरुबीच सुमधुर सम्बन्ध राख्नुपर्ने, अनुभव बटुलिसक्नुभएकासँग सिक्नुपर्ने र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ । यसरी यहाँ गरिने कार्य र यहाँ सिकेको सिप नेपालमै भित्राउने पद्धतिले आउँदो पुस्तालाई पनि बाटो देखाउँदै लैजाने छ । 

बढ्दै संस्थाहरु 
जापानमा नेपाली समुदायको वृद्धि सँगसँगैराजनीतिक र गैरराजनीतिक संघसंस्था खुल्ने क्रम पनि धेरै रहेको छ । यसले पनि भविष्यमा कतै नेपाली नेपालीबीचको सम्बन्धमा बिकराल अवस्था त ल्याउँदैन ? यो विषयमा समेत सम्बन्धित नेपालीहरुले सोच्नुपर्ने देखिन्छ । संघसंस्था स्थापना र त्यसको नेतृत्व लिनुअगाडि आफू आर्थिक तथा सामाजिक रुपमा कति सबल छु ? मैले नेतृत्व लिने बेला भएको छ वा छैन ? भन्ने बारेमा समेत सोच्नु उपयुक्त हुन सक्छ । जसले त्यो संस्थाको भविष्यमा प्रत्यक्ष प्रभाव राख्दछ । 

सामाजिक संजालको विकराल 
यता सामाजिक सञ्जालको प्रयोगले सुविधाका लागि र विश्व बजारमा व्यवसाय सञ्चालन गर्नेहरुले नयाँ नयाँ विलासिताका उत्पादन ल्याउनका लागि सहयोगी भूमिका खेलेको होला । तर त्यसको प्रयोगमा ध्यान नदिने हो भने प्रयोगकर्ता र समाजमा अरु धेरैले दुःख कष्ट भोग्न नपर्ला भन्न सकिँदैन । किनकि विभिन्न फोटो, भिडियो र लेख रचनाहरु हचुवाको भरमा प्रसारण र प्रकाशन गरिएका हुन्छन् । सबै वास्तविकता बुझेर मात्रै त्यस्ता सामग्री सार्वजनिक गरियो भने मात्रै त्यसले समाजलाई सकारात्मक बनाउनुका साथै वास्तविक कुरा बुझ्ने अवसर दिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]