February 27th, 2017

गभर्नर डा. नेपालको चोटिलो विश्लेषण : ‘पैसाको महत्व नबुझ्दा हामी गरीब भयौँ’

कुनै पनि मुलुकका नागरिकलाई बैंक तथा वित्तीय संस्थासँग निर्धक्क र खुला रुपमा कारोबार गर्नका लागि प्रदान गरिने चेतना नै वित्तीय साक्षरता हो । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई एउटा प्रमुख एजेण्डाका रुपमा राखेको छ । सरकारले पनि नीति तथा कार्यक्रममा वित्तीय साक्षरताका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै आएको छ ।

दुर्गम क्षेत्रमा वित्तीय साक्षरता
खासगरी नेपालको सन्दर्भमा ग्रामिण क्षेत्रका मानिसहरुमा वित्तीय साक्षरताको कमी छ । त्यसैले केन्द्रीय बैंकले त्यस्ता मानिसहरुलाई ‘तार्गेट’ गरेर बैंक तथा वित्तीय संस्थालाई आफ्ना शाखा विस्तार गर्न जोड दिइरहेको छ । लघुवित्त संस्थाहरुलाई स्थापनाको इजाजत दिँदा पनि अन्य बैंक तथा वित्तीय संस्थाका शाखा पुग्न नसकेका दुर्गम गाउँमा जान तयार हुनेहरुलाई मात्रै केन्द्रीय बैंकले लाइसेन्स प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंक, वित्त बढे, कारोबारी बढेनन्
अझै ६० प्रतिशतभन्दा बढी मानिसहरु बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दैनन् भन्ने तथ्यांकले बताउँछ । त्यसमध्ये पनि ४२ प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थामार्फत कर्जा लिन्छन् भने ५२ प्रतिशतले पैसा राख्छन् । युवाहरुमध्ये २० प्रतिशत युवाहरु त बैंकमा कारोबार नै गर्दैनन् । यसको मतलव अरुसँग पैसा नै नभएर कारोबार नगरेका त हैनन् । पैसा भए पनि गोजीमा वा सिरानी मुनी राखेर सुतिरहेका छन् । बैंकिङ क्षेत्रका लागि यो बिडम्बना र ठूलो चुनौतिको विषय हो । किनभने बैंक तथा वित्तीय संस्थाको संख्या वा तीनका शाखा चाहिँँ दिन प्रतिदिन बढ्ने तर कारोबार गर्ने मानिसहरुचाहिँ बढ्न नसक्नु समस्याकै विषय हो ।

वित्तीय क्षेत्रका प्रमुख दुई चुनौति  
यहाँ दुई वटा समस्यालाई प्रमुख रुपमा केलाएर हेर्नुपर्छ । पहिलो, बैंक तथा वित्तीय संस्था ग्रामिण क्षेत्रका समुदायमा पुग्न नसकेका वा त्यस्ता धेरै ठाउँमा बैंक तथा वित्तीय संस्था पुगिसक्दा पनि मानिसहरु कारोबार गर्न नआइरहेको अवस्था । राष्ट्र बैंकको निर्देशन र पटक–पटकको जोडबलले बैंक तथा वित्तीय संस्थाहरु ग्रामिण क्षेत्रमा पनि गईरहेका छन् । यतापट्टि वित्तीय साक्षरताको अभियानमा जारी छ । तर पनि मानिसहरु अझै बैंकमा कारोबार गरिरहेका छैनन् । त्यसैले यहाँ केही कुरा मिलिरहेको छैन भन्ने कुरा प्रष्ट हुन्छ । प्रयास पनि गरिरहेको तर खास उपलब्धी नदेखिएकाले अब सबैले वित्तीय साक्षरता बढाउन आ–आफ्नो ठाउँबाट पहल जारी राख्नुपर्छ ।

वित्तीय साक्षरताका कार्यक्रमलाई प्रोत्साहन
बैंक तथा वित्तीय संस्थाले आफैँ पनि वित्तीय साक्षरताका कार्यक्रम संचालन गर्नुपर्छ । राष्ट्र बैंकले पनि आफ्नो ठाउँबाट त्यस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ र आवश्यक पर्दा बैंक तथा वित्तीय संस्थालाई पनि त्यस्ता खालका कार्यक्रममा हौसला प्रदान गर्नेछ । ग्रामिण क्षेत्रमा जान बैंक तथा वित्तीय संस्थाहरुले डराउन हुँदैन । आफै जग बसालेर काम गर्ने हिम्मत जुटाउनुपर्छ । यो देश बनाउने जिम्मा कसैको मात्र ठेक्का हुन सक्दैन । यसमा तपाई हामी सबै मिलेर अघि बढ्यौँ भने अझ बढी प्रभावकारी हुन्छ ।

बैंक बुझेमात्र कारोबारी बढ्छन्
बैंक तथा वित्तीय संस्था पुगेका तर कारोबारीहरु आकर्षित हुन नसकेका ठाउँमा पनि बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरताका कार्यक्रम आफै संचालन गर्न सक्छन् । किनभने जब मानिसहरुले बैंकमा कारोबार गर्दा, बीमा गर्दाका फाइदाबारे जान्दछन् तबमात्र बैंकमा कारोबार गर्न आउँछन्, बीमा गराउँछन् ।

एउटा संस्कृति जो समृद्धिको बाधक बन्दैछ
अर्को महत्वपूर्ण कुरा, हामीसँग एउटा यस्तो संस्कृति छ, जुन संस्कृति सफलताको बाधक बनिरहेको छ । अभिभावकहरुले आफ्ना सन्तानलाई शिक्षा–दीक्षा दिन्छन्, ठूलो र सफल मानिस बनाउन चाहान्छन् । तर बिडम्बना उनीहरुले आफ्नो सन्तानलाई पैसाको बारेमा कहिले सिकाउँदैनन् । त्यसैले ती सन्तानले पैसाको सदुपयोग, यसको महत्व र परिचालनबारे जान्ने अवसर पाउँदैनन् । जब पैसाको महत्व र यसको प्रयोगबारे जान्दैन भने एउटा मान्छे जीवनमा कसरी सफल हुन सक्दछ ? हामीले सोच्ने बेला आइसकेको छ ।

धनी मुलुकको उदाहरण
संसारमा जति पनि धनी मुलुक छन्, ती थोरै पैसाबाटै धनी हुन सफल भएका हुन् । त्यस्ता देशमा सन्तान र अभिभावकबीच दिनको एकपटक पैसाको बारेमा छलफल हुन्छ । अर्थात, यो कपडा कति पर्यो, तरकारी, चावल, नून, तेल कति पर्यो, किन भाउ बढिरहेको, सेयरमा कसरी लगानी गर्ने भनेर छलफल हुन्छ । तर हामीकहाँ पैसाको बारे कहिले कुरा हुँदैन । यहाँ त, आफ्ना सन्तानलाई पढाइन्छ र पढिसकेकपछि भनिन्छ, ‘ल बाबु अब जागिर गर ।’ तर जब उसले पैसा नै अहिलेसम्म बुझेको छैन भने जीवनमा अरु के गरोस् । अनि ऊ जागिरको लागि भौतिरिन्छ । केही लागेन भने विदेशिन्छ ।

हामी किन गरीब भयौँ ?
हामी गरीब हुनुको एउटा प्रमुख कारण पनि यही हो कि हामीले पैसाको महत्व बुझ्न सकेनौँ । पैसाको बारेमा थाहा नपाएकै कारणले अहिले लाखौँ युवा अर्काको देशमा गएर श्रम बेच्नुपरेको अवस्था छ । तर पैसा त हाम्रै मुलुकमा पर्याप्त छ । यहाँ रहेका बैंक तथा वित्तीय संस्थाहरु नागरिकलाई नै पैसा दिन बसेका छन् । टोल–टोलमा खुलेका बैंक तथा वित्तीय संस्था नागरिकको जीवन समृद्ध र उद्यमशील बनोस भनेर पैसा बाँड्नकै लागि बसेका हुन् । उनीहरुले पैसा दिएबापत ब्याजका रुपमा कमिशनजस्तो केही रकम लिन्छन् । तर उनीहरुले दिने रकम सदुपयोग गर्न सक्ने हो भने किन जानुपर्यो विदेश ? यस्ता कुरा नागरिकले बुझ्नुपर्छ । तबमात्रै हामी गरीबीको चपेटालाई सजिलै पञ्छाएर अघि बढ्न सक्छौँ । भविष्यका चुनौतिहरुलाई सजिलै ‘फेस’ गर्न सक्छौँ । त्यसैले अहिले नेपालीहरुलाई वित्तीय ज्ञानको आवश्यकता परेको हो । विकसित मुलुकहरुमा वित्तीय ज्ञान भएकै कारणले उनीहरु विकासको चरमविन्दुतर्फ उन्मुख छन् ।

भारत र चीनका बीचमा हामी किन यस्तो ?
आफुसँग भएको पैसालाई सकेसम्म कम खर्च गर्ने, बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्ने, बचत गर्ने, अनुत्पादक काममा पैसा खर्च नगर्नेलगायतका चेतना हुनु नै वित्तीय ज्ञान हो । त्यसैले आफ्ना सन्तानलाई वित्तीय ज्ञान प्रदान गर्न अभिभावकहरुले पनि यसबारे थाहा पाउनु जरुरी छ । आज भारत र चीन किन उदयीमान शक्ति राष्ट्रका रुपमा अगाडी आए । भारतका हरेक युवाहरुमा वित्तीय ज्ञान छ, उनीहरु उत्पादनमूलक व्यवसायमा लागेका छन् । भारतीयहरु यहाँ आएर काम गरेर यहाँको पैसा उता लैजान्छन र जम्मा गर्छन् । तर हामी त्योभन्दा बढी पैसा पाउँदा पनि जम्मा गर्न सकिरहेका छैनौँ ।

सुविधा समेत लिन नसकिरहेको अवस्था
वित्तीय ज्ञानको कमीले गर्दा यहाँ नागरिकहरुले पाउने विशेष सुविधा पनि लिन नसकिरहेको अवस्था छ । नेपाल राष्ट्र बैंकले विभिन्न नीतिहरु नै लिएको छ । जसअनुसार एक प्रतिशत व्याजदरमा विशेष कर्जा दिइन्छ, ४/५ प्रतिशत व्याजदरमा कृषि विशेष व्याजअनुदान नै दिइन्छ । जसलाई कृषिमा केही गर्छु भन्ने जोश जाँगर छ, उसले लिन सक्छ । त्यस्तै लघुवित्त वित्तीय संस्थाहरुबाट समूहगत रुपमा ऋण लिन पाउने व्यवस्था छ । ती संस्थाबाट तीन लाख रुपैयाँसम्म बिना धितो ऋण लिन सकिन्छ । सुदूरपश्चिमका १० जिल्लाहरुलाई राष्ट्र बैंकले तोकेरै भनेको छ, ती जिल्लाहरुमा व्यापार, व्यवसायजस्ता उत्पादनमूलक काम गर्न चाहनेलाई १ प्रतिशत व्याजमै ऋण दिइन्छ तर राष्ट्र बैंकले दिएको यस्तो सुविधा माग्न कोही आएको छैन । सुदूरपश्चिममा कृषि कर्जा पनि एकदमै कम गएको देखिन्छ । जबकी पाँच प्रतिशत व्याज अनुदान दिएर सरकारले ऋण दिँदैछ । आर्थिक गतिविधि बढाउनका लागि सरकारले यसरी दिएका सुविधानहरु नागरिकले लिन सक्नुपर्छ । यी सब चुनौतिहरुको एउटै कारण हो वित्तीय साक्षरताको कमी । त्यसैले बढीभन्दा बढी नागरिकलाई वित्तीय ज्ञान प्रदान गरी आर्थिक गतिविधिमा संलग्न गराउनका लागि सरकार, सरोकार राख्ने संस्था र सम्बन्धित सबैले पहल गर्नुपर्छ । (गभर्नर डा. चिरंजीबि नेपालले सुदूरपश्चिमको कैलालीमा आयोजित वित्तीय जागरण राष्ट्रिय अभियानलाई गरेको सम्बोधनमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]