January 1st, 2017

सेयरबाट पैसा कमाउन रविन्द्र भट्टराईका महत्वपूर्ण चार टिप्स

स्टक एक्सचेन्ज केन्द्र एकदमै व्यस्त बजार बनेको छ । तथापि, स्टक बजारबारे केही नबुझेका मानिसहरू स्टक बजारमा ‘जम्प’ गरेको पाइन्छ । जसका कारण उनीहरुले आफ्नो लगानी गुमाइरहेका छन् । सेयर किन्न जानुभन्दा पहिले नै मैले किनेको मुल्यभन्दा तल गयो र नोक्सान भयो भने त्यो नोक्सानलाई म यसरी क्षतिपुर्ति गराउँछु भन्ने उपायसहित लिएर सेयर बजारमा प्रवेस गर्नुपर्छ । तर, ९० प्रतिशत लगानीकर्ताहरु त्यस्तो उपाय लिएर हिँड्दैनन् । त्यसैले डुब्छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा पूर्व तयारी हो । पूर्व तयारी भनेको कुनै कुरा गर्नुअघि नै त्यसबारे जानेर बुझेर मात्रै अघि बढ्ने । सेयर बजार लगानी डुबाउने धेरै मानिसहरु हल्लाका पछि दौडनेहरु नै हुन्छन् । त्यसैले आफुलाई ‘स्ट्रङ’ राख्न सकेसम्म यससम्बन्धी बढी जानकारी लिने र जोखिम आइपरेको खण्डमा सामना गर्ने उपायसहित ‘स्ट्याण्ड’मा रहनुपर्छ ।

थोरै लगानीकर्ताले दीर्घकालमा कमाउँछन् तर धेरै लगानीकर्ताहरु छोटो समयमै धेरै नाफा खान खोज्ने भएकाले जस्ता पनि कम्पनीको सेयर किनेकै कारण पनि डुब्छन् । पछिल्लो समय लगानीकर्ताका कारण मुल्य बढ्नुपर्ने कुनै आधार नभएका कम्पनीको मुल्य पनि आकासिएको देखियो ।  

समग्रमा सेयरमा पैसा कमाउने हो भने लगानीकर्ताले चार वटा ‘इ’ फलो गर्नुपर्छ ।  

एजुकेशन अर्थात शिक्षा
पहिलो ‘इ’ भनेको एजुकेशन हो । सेयरमा लगानी गर्न चाहनेसँग सेयर बजार के हो र कसरी कारोबार हुन्छ ? कस्ता कम्पनीको सेयर किन्नुपर्छ ? लगायतका ज्ञान हुनुपर्छ । किनकी एजुकेशन भनेको कम्पनीको बारेमा बुझ्ने पनि हो । त्यसभित्र कम्पनीको नाफा, रिजर्भ, खराब कर्जा, दायित्व, सञ्चालक समिति, लगानी, व्यवस्थापन, उसले विगतमा दिएको नाफाको अवस्था सबै कुरालाई अध्ययन गर्नुपर्छ । राम्रो के हो ? नराम्रो के हो ? छुट्याउन सक्ने ज्ञान प्राप्त गर्नका लागि सेयर तालिम लिने, किताबहरु पढ्ने, भिडियोहरु हेर्ने, नीतिगत कुराहरु हेर्ने, आमसञ्चारका माध्यममा समाचार तथा विश्लेषणहरु हेर्ने गर्नुपर्छ ।

इन्ट्री अर्थात प्रवेश
दोस्रो ‘इ’ भनेको बजारमा इन्ट्री (प्रवेस) हो । सेयरसम्बन्धी शिक्षा लिइसकेपछि बजारमा प्रवेस गर्नुपर्छ । बजारमा प्रवेस गर्नुअघि मैले कस्ता कम्पनीमा लगानी गरेँ भनेँ जोखिम बढी हुन्छ । घट्यो भने के गर्ने ? भन्ने उपायहरु पनि सोच्नुपर्छ ।
 
एक्स्पेरियन्स् अर्थात अनुभव
तेस्रो ‘इ’ भनेको एक्स्पेरियन्स अर्थात् अनुभव हो । बजारमा प्रवेस गरेपछि मात्रै लगानीकर्तासँग अनुभव हुन्छ । लगानीकर्ताको चाहाना आज बजारमा प्रवेस गरेर भोली नै कमाइहालौं भन्ने हुन्छ तर, आफुसँग कति वर्षको अनुभव छ भन्ने कुरा चाहिँ बझेको पाइँदैन । अनुभवी लगानीकर्ताहरु कहिले डुब्दैनन् ।
 
एक्जिट अर्थात प्रस्थान
चौथो ‘इ’ भनेको एक्जिट अर्थात बाहिरिने हो । एउटा नाफा लिएर बाहिरिने, दोस्रो नोक्सान व्यहोरेर बाहिरिने र तेस्रो सावाँ लिएर बाहिरिने हो । सकेसम्म लगानीकर्ताले नाफा लिएर बाहिरिने हो । तर, जोखिम आउन सक्छ भन्ने संकेत देखियो भने नाफाको लोभमा नपरी सावाँ लिएर बाहिरिनु नै उपयुक्त हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]