October 19th, 2016

राष्ट्र बैंकको प्रवक्ताबाट हटाइए पंगेनी, नयाँ प्रवक्तामा पौडेल  

nrb-spokepersonनेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका त्रिलोचन पंगेनिलाई सो जिम्मेवारीबाट मुक्त गरेको छ । पंगेनीको ठाउँमा राष्ट्र बैंकले सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायण पौडेललाई प्रवक्ता बनाएको छ । प्रवक्ता तोकिएका पौडेल झण्डै तीन दशकयता राष्ट्र बैंकमा कार्यरत कर्मचारी हुन् । अर्थशास्त्रका विज्ञ पौडेलले नेपालबाट व्यवस्थापन, अर्थशास्त्र र वेलायतबाट वित्त व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।
 
बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले कात्तिक २ गते नै प्रवक्ता परिवर्तन गरेको जनाएको हो । राष्ट्र बैंकमा कर्मचारीदेखि उच्च अधिकारीसम्मले नरुचाएका पंगेनी प्रवक्ता नै भएपनि खासै सक्रिय थिएनन् । तत्कालीन समयमा डेपुटी गभर्नरका आकांक्षी रहेका उनी डेपुटी गभर्नर हुन नपाएपछि निराश बनेका हुन् ।
 
लामो समयदेखि राष्ट्र बैंकमा कार्यरत पंगेनी ‘सिनियारिटी’का आधारमा डेपुटी गभर्नर दाबी गर्दै आएका थिए । तर उनको दाबी दाबीमै सीमित हुन पुग्यो । डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ नियुक्त भएपछि पंगेनी रुष्ट बनेका थिए । प्रवक्ताबाट हटाइएका पंगेनीलाई राष्ट्र बैंकले राष्ट्र ऋण व्यवस्थापन विभागको कार्यकारी निर्देशक तोकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]