September 17th, 2016

कस्तो रह्यो आर्थिक वर्ष ०७२/७३ को पुँजी बजार ? हेर्नुस्, धितोपत्र बोर्डको समीक्षा

stockनेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा पुँजी बजारमा भएका गतिविधिको समीक्षा गरेको छ । आर्थिक वर्ष २०७२।७३ मा नेपालको धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा महत्वपूर्ण सुधारहरु भएका छन् । गत आर्थिक वर्षमा बजारका विभिन्न परिसूचकहरू ओरालो लागेको भएतापनि समीक्षा वर्षमा भने धितोपत्रको प्राथमिक तथा दोस्रो बजारको परिसूचकहरूमा उल्लेख्य सुधार आएको छ । समग्रमा यस्तो छ बोर्डको समीक्षाः

क. धितोपत्र बजारको सुधार तथा विकास–

दोस्रो बजारको कारोबारलाई पूर्ण रुपमा अभौतिकृत गर्ने, लगानीकर्ताहरूले बजारको गहिराई हेर्न पाउने, सरोकारवालाहरूसँग छलफल तथा अन्र्तकृया गरी प्राप्त उपयुक्त सुझावको आधारमा धितोपत्र बजार सुधार तथा  विकास सम्बन्धी कार्य अगाडि बढाउने, लगानीकर्ताको यथार्थपरक गुनासाको तुरुन्त सुनुवाई गर्ने लगायतका महत्वपूर्ण कार्यहरू बोर्डको अग्रसरतामा भएका छन् । 

दोस्रो बजारलाई स्थायित्व प्रदान गर्न संस्थागत लगानीकर्ताको रुपमा रहेको नागरिक लगानी कोषलाई धितोपत्र व्यापारी/बजार निर्माताको रुपमा दोस्रो बजारमा प्रवेश गराउने सन्दर्भमा प्राविधिक पक्षको अध्ययनबाट प्राप्त भएको प्रतिवेदनको आधारमा कार्य अगाडी बढाइएको छ । 

नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय धितोपत्र बजारको मूल प्रवाहमा समाहित गर्ने क्रममा बोर्डले इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटिज् कमिशनको एशोसियट सदस्यता प्राप्त गरेको तथा बोर्डको समन्वय एवं सकृयतामा सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई एशोसिएसन अफ नेशनल नम्बरिङ एजेन्सिज्को ९२ औं सदस्य प्राप्त भएको छ । 

बोर्डले नेपाल स्टक एक्सचेन्जमा सूचिकृत नभएका पब्लिक कम्पनीहरुको धितोपत्रको खरिद विक्री ओटिसि बजारबाट गर्न सकिने जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयमा दिनुको साथै नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई ओटिसि बजार व्यवस्थित गर्न निर्दे्शित गरी कारोबार शुल्कमा कटौती समेत गरेका कारण ओटिसि बजार थप व्यवस्थित भई कारोबारमा उल्लेख्य वृद्धि आएको छ। 

बोर्डले नियमन क्षमता अभिवृद्धि गरी बजारको बढ्दो चुनौती एवं नियमन जिम्मेवारी प्रभावकारीरुपमा पूरा गर्न सहायक तह देखि उच्च तहसम्म आवश्यक जनशक्तिको व्यवस्था गरेको छ । बोर्डले फ्रन्टलाइन रेगुलेटरको रुपमा रहेको नेपाल स्टक एक्सचेन्जलाई बजार अनुगमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन, सिडिएस एण्ड क्यिरिङ्ग लिमिटेडलाई केन्द्रीय निक्षेप सेवालाई देशव्यापी बनाउन, धितोपत्र व्यावसायीहरुलाई सेवामा सुधार ल्याउन, लगानीकर्ताहरुको बजार तथा सेवामा पहुंच बढाउन, सेवा सम्बन्धी बडापत्र लगायतका व्यवस्थाहरु गर्न निर्देशन दिइयो ।

सार्वजनिक निष्काशन क्रममा फिर्ता भुक्तानी गर्नुपर्ने रकम आवेदककै बैंक खातामा जम्मा हुने व्यवस्था गर्न र सूचिकृत कम्पनीहरुलाई नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गर्न, बोनस सेयर तथा हकप्रद सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्न, हकप्रद सेयरको निष्काशन तथा बोलकबोल व्यवस्थालाई स्वच्छ, पारदर्शी बनाउन तथा लगानीकर्ताहरुलाई यस सम्बन्धमा यथार्थ एवं बढी जानकारी दिन विभिन्न निर्देशनहरु दिएकोमा बोर्डको निर्देशन अनुसारका कार्यहरु सम्पन्न भएका छन् । 

बोर्डले नेपाल स्टक एक्सचेन्ज लि. लाई क्लियरिङ बैंक थप गर्न, सफ्टवयरमा सुधार गर्न, र अक्सन मार्केटको व्यवस्था गर्न, सिडिएस एण्ड क्यिरिङ्ग लि.लाई सेटल्मेन्ट ग्यारेन्टी फण्ड स्थापना गर्न, केन्द्रीय निक्षेप कम्पनीको कार्य संचालन गर्ने क्रममा हितग्राहीलाई पर्न सक्ने जोखिम कम गरी हित रक्षा गर्न बीमा लगायतका अन्य पर्याप्त सर्तकता अपनाउन निर्देशनहरु दिएकोमा बोर्डको निर्देशन अनुसारका कार्यहरु हुने क्रममा रहेका छन् ।

ख. धितोपत्र बजार समीक्षा–

आर्थिक वर्ष २०७२।७३ मा नेपालको धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा महत्वपूर्ण सुधारहरु भएका छन्। गत आर्थिक वर्षमा बजारका विभिन्न परिसूचकहरू ओरालो लागेको भएतापनि समीक्षा वर्षमा भने धितोपत्रको प्राथमिक तथा दोस्रो बजारको परिसूचकहरूमा उल्लेख्य सुधार आएको छ । समीक्षा वर्षमा गत आर्थिक वर्षको तुलनामा ३१.५१ प्रतिशतले बृद्घि भई १८.९९ अर्व रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ। प्राथमिक निष्काशन, हकप्रद निष्काशन, थप निष्काशन तथा म्युचुअल फण्ड निष्काशन मार्फत कुल ५३ संगठित संस्थाहरुले सार्वजनिक निष्काशन गरेका छन् । 

त्यस्तै समीक्षा वर्षमा धितोपत्रको दोस्रो बजारको नेप्से परिसूचक ७८.७४ प्रतिशतले बृद्घि भई १७१८.१५ विन्दु पुगेको छ । उक्त अवधिमा बजार पुँजीकरणमा १२३.३३ प्रतिशतले बृद्घि भई १८ खर्व ९० अर्व र फ्लोट बजार पुँजीकरणमा १५५.१५ प्रतिशतले वृद्धि भई ७१८.९६ अर्ब कायम भएको छ । यस आर्थिक वर्षमा ओटीसी बजार थप व्यवस्थित भई सूचिकृत नभएका पब्लिक कम्पनीहरुको कारोवार संख्या एवं रकममा समेत वृद्घि भएको छ ।प्राथमिक बजार– 

समीक्षा वर्षमा विगत वर्षको तुलनामा सेयर तथा सामूहिक लगानी कोषको नयां निष्काशन संख्या तथा रकम दुवैमा कमी आएतापनि हकप्रद सेयर निष्काशन संख्या तथा रकम दुवैमा उल्लेख्य वृद्धि भएर समग्रमा धितोपत्रको प्राथमिक बजारमार्फत् पँुजी परिचालनमा बढोत्तरी आएको छ ।

समीक्षा वर्षमा १२ वटा संगठित संस्थाले साधारण सेयरको प्राथमिक निष्काशन, ३ वटा संस्थाले थप निष्काशन, ३७ वटा संस्थाले हकप्रद निष्काशन र १ वटा संस्थाले सामुहिक लगानी योजना निष्काशन गरी कुल ५३ वटा संगठित संस्थाहरूले १८ अर्ब ९९ करोड बराबरको पुँजी परिचालन गरेका छन् । गत आर्थिक वर्षमा कुल ४८ कम्पनीले १४.४४ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन गरेका थिए । यसरी गत वर्षको तुलनामा समीक्षा वर्षमा सार्वजनिक निष्काशन गर्ने कम्पनीको संख्यामा १०.४१ प्रतिशतको र सार्वजनिक निष्काशन रकममा ३१.५१ प्रतिशतको वृद्धि आएको छ ।

समीक्षा अवधिमा २१ वाणिज्य बैंक, ७० विकास बैंक, १९ वित्त कम्पनी, १६ बीमा कम्पनी, १ जलविद्युत, ३ होटल र १ व्यापार कम्पनी गरी कुल १३१ संगठित संस्थाहरूको रु २१ अर्ब ५ करोड ६१ लाख २ हजार २ सय ७ बराबरको बोनस सेयर दर्ता भएका छन् । गत आर्थिक वर्षमा कुल ११३ संगठित संस्थाहरूले रु.१५ अर्ब २१ करोड ६० लाख ५५ हजार ७ सय २८ बराबरको बोनस सेयर दर्ता गरेका थिए ।

प्राथमिक बजारमा लगानी गर्ने कार्यलाई सरलीकृत गर्न तथा निष्काशन अवधि घटाउनको लागि एकाउन्ट सपोर्टेड बाई ब्लक एमाउन्ट प्रणाली सम्बन्धी निर्दे्शिकाको प्रारम्भिक मस्यौदा तयार गरी सोमा सरोकारवाला निकायहरूबाट राय÷सुझाव लिइएको छ ।  

 
दोस्रो बजार– 

आर्थिक वर्ष २०७२।७३ मा धितोपत्रको दोस्रो बजारमा मर्जर तथा प्राप्तीका कारणले सूचिकृत कम्पनीहरुको कुल संख्या घटेको देखिएतापनि नेप्सेपरिसूचक, कारोवार रकम तथा बजार पूँजीकरण जस्ता अन्य अधिकांश परिसूचकहरुमा उल्लेखनीय बृद्धि भएको छ :

  • नेप्से परिसूचक २०७२।७३ आषाढ मसान्तमा १७१८.१५ विन्दुकायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको ९६१.२३ विन्दुको तुलनामा ७८.७४ प्रतिशतको वृद्धि हो । नेप्से फ्लोट परिसूचक २०७२।७३ आषाढ मसान्तमा १२५.४१ बिन्दु कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको अन्तको७३.११ विन्दुको तुलनामा ८३.१६ प्रतिशतको वृद्धि हो ।
  • नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरीङ्ग लि. लाई २०७२ माघ १ देखि पूर्ण स्वचालित कारोबार सञ्चालन गर्न निर्देशन दिइएकोमा सोही अनुसार कारोबार भैरहेको तथा निक्षेप सदस्यको सेवालाई उपत्यका बाहिर विस्तार गर्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन दिइएकोमा बोर्डको निर्देशन अनुसार कार्य भई दोस्रो बजारको गतिविधिहरूमा उल्लेख्य वृद्घि आएको छ । 
  • समीक्षा वर्षमा धितोपत्रको दोस्रो बजारमा १५ वटा कम्पनीहरू थप सूचिकृत भएको र एक आपसमा मर्जर तथा प्राप्तिका कारण १८ कम्पनीहरू सूचीकरणबाट हटेकोले कुल सूचीकृत कम्पनीको संख्या २२९ कायम भएको छ जुन गत वर्षमा २३२ रहेको थियो । 
  • समीक्षा वर्षमा बजार पुँजीकरणमा १२३.३३ प्रतिशतले वृद्धि भई १८ खर्ब ९० अर्ब कायम भएको छ । गत आर्थिक वर्षमा उक्त बजार पुँजीकरण ८ खर्ब ४६ अर्ब रहेको थियो । समीक्षा वर्षमा बजार पुँजीकरणमा कारोबार रकम ८.६७ प्रतिशत रहेको छ ।
  • समीक्षा वर्षमा फ्लोट बजार पुँजीकरणमा १५५.१५ प्रतिशतले वृद्धि भई रु ७१८.९६ अर्ब कायम भएको छ । गत आर्थिक वर्ष उक्त पुँजीकरण २८१.७८ रहेको थियो । कुल ग्रार्हस्थ उत्पादनमा फ्लोट पुँजीकरण ३१.९७ प्रतिशत कायम भएको छ ।
  • आर्थिक वर्ष, २०७२।७३ मा कारोबार रकममा १५०.९६ प्रतिशतले बृद्घि भई १६३.९५ अर्बको कारोबार भएको छ अघिल्लो आर्थिक वर्षमा कारोवार रकम ६५.३३ अर्ब रहेको थियो । 
  • समीक्षा वर्षमा दैनिक औसत कारोबार रकममा गत वर्षको तुलनामा १३३.२८ प्रतिशतले वृद्धि भई रु.७०.६६ करोड कायम भएको छ । गत आर्थिक वर्ष दैनिक औसत कारोबार रकम रु.३०.२९ करोड रहेको थियो ।  

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]