Sunday , February 26 2017

आर्थिक वर्ष २०७२/७३ को आर्थिक तथा वित्तीय अवस्था : हेर्नुस् विस्तृतमा 

August 29, 2016

economicकेन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान अनुसार आर्थिक वर्ष २०७२/७३ मा यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ०.८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो वृद्धिदर २.३ प्रतिशत रहेको थियो । त्यसैगरी, उत्पादकको मूल्यमा कुल गार्हस्थ्य उत्पादन वृद्धि अघिल्लो वर्ष २.७ प्रतिशतको तुलनामा समीक्षा वर्षमा ०.६ प्रतिशत रहेको अनुमान छ । समीक्षा वर्षमा अपर्याप्त वर्षाका कारण प्रमुख कृषिजन्य उपजमा कमी आउनुका साथै लामो समयसम्मको बन्द हड्ताल एवम् सीमा नाका अवरोधका कारण अर्थतन्त्रका समग्र क्षेत्रहरुमा नकारात्मक असर परेकोले आर्थिक वृद्धिदर न्यून हुन गएको हो । 

समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन १.३ प्रतिशत तथा गैर–कृषि क्षेत्रको उत्पादन ०.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष कृषि तथा गैर–कृषि क्षेत्रको उत्पादन क्रमशः ०.८ प्रतिशत र ३.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा मकैको उत्पादनमा केही वृद्धि भएतापनि मौसम अनुकुल नहुँदा प्रमुख खाद्य बालीहरु धान तथा गहुँको उत्पादनमा ह्रास आएको छ । त्यसैगरी, अन्न भण्डारको रुपमा रहेको तराई क्षेत्रमा बन्द हड्ताल तथा सीमा अवरोधका कारण कृषि क्षेत्रमा अत्यावश्यक रासायनिक मल एवम् बीउ÷विजन को आपूर्ति अवरुद्ध हुन गई धान र गहुँ जस्ता मुख्य कृषि बालीको उत्पादनमा ह्रास आएको हो । 

यस अवधीमा प्रमुख खाद्यान्न बालीहरु मध्ये धानको उत्पादन १०.२ प्रतिशत, गहुँको उत्पादन ५.० प्रतिशत र कोदोको उत्पादन २.० प्रतिशतले ह्रास भएको अनुमान छ । अर्कोतर्फ, मकैको उत्पादन भने ४.० प्रतिशतले बढेको अनुमान छ । यसैगरी, आलुको उत्पादन ४.५ प्रतिशत र तरकारीको उत्पादनमा ५.० प्रतिशतले वृद्धि भएको अनुमान छ । 

अघिल्लो वर्ष १.५ प्रतिशतले वृद्धि भएकोउद्योग क्षेत्रको उत्पादनमा समीक्षा वर्षमा ६.३ प्रतिशतले ह्रास आएकोअनुमान छ । भूकम्प पश्चात उत्पादित वस्तुको मागमा आएको संकुचन, उर्जा अभाव एवम्लामो समयसम्मको बन्द हड्तालका कारण अत्यावश्यक ईन्धन तथा कच्चा पदार्थको आपूर्ति रोकिन जाँदा समग्र औद्योगिक क्षेत्रको उत्पादन प्रभावित भएको हो । समीक्षा वर्षमा सेवा क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि भएको अनुमान छ । अघिल्लो वर्ष यो क्षेत्र ३.६ प्रतिशतले वृद्धि भएको थियो । भूकम्प पश्चात पर्यटक आगमन ठप्प प्रायः रहनुका साथै सीमा नाका अवरोधका कारण होटल तथा रेष्टुरेन्ट र व्यापार क्षेत्रको वृद्धिदर ऋणात्मक रहेकोले समग्र सेवा क्षेत्रको वृद्धिदरमा कमी आएको हो । 

कुल राष्ट्रिय खर्चयोग्य आय, उपभोग, बचत तथा लगानी 
आर्थिक वर्ष २०७२/७३ मा कुल राष्ट्रिय खर्चयोग्य आय ० ८.१ प्रतिशतले वृद्धि भएको अनुमान छ । अघिल्लो वर्ष यस्तो आय ९.० प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश ९४.७ प्रतिशत र कुल बचतको अंश ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ९१.२ प्रतिशत तथा ८.८ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कुल लगानीको अनुपात ३४.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३८.८ प्रतिशत रहेको थियो । त्यसैगरी, समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा राष्ट्रिय बचतको अनुपात ४२.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४३.९ प्रतिशत थियो । 

वैदेशिक लगानी 
आर्थिक वर्ष २०७२/७३ मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता रकममा ७७.५ प्रतिशतले ह्रास आउनुका साथै वैदेशिक लगानीका परियोजनाको संख्यामा पनि ७.३ प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा उद्योग विभागले रु. १५ अर्ब १४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३४१ वटा विदेशी संयुक्त लगानीका परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको छ । विभागले अघिल्लो वर्ष रु. ६७ अर्ब ४२ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३६८ वटा परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सेवा सम्बन्धी परियोजनाको संख्यामा वृद्धि भएको छ भने उत्पादन, पर्यटन र उर्जा सम्बन्धी परियोजनाहरुको संख्यामा कमी आएको छ । देशगत रुपमा विश्लेषण गर्दा समीक्षा वर्षमा सबैभन्दा बढी चीनबाट १२५, दक्षिण कोरियाबाट ५५, संयुक्त राज्य अमेरिकाबाट ४०, भारतबाट २३, जापानबाट १८, संयुक्त अधिराज्यबाट ११ र अन्य देशहरुबाट ६९ गरी कुल ३४१ परियोजनाहरुलाई स्वीकृति प्रदान गरिएको छ । स्वीकृत परियोजनाहरुबाट कुल ११४२६ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर उपभोक्ता मुद्रास्फीति 
आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ९.९ प्रतिशत रह्यो । अघिल्लो आर्थिक वर्षमा सो मुद्रास्फीति ७.२ प्रतिशत रहेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ असार महिनामा उपभोक्ता मुद्रास्फीति १०.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.६ प्रतिशत रहेको थियो । तराई आन्दोलन, सीमा–नाका अवरोध र आपूर्ति असहजता जस्ता प्रतिकूल परिस्थितिका कारण समीक्षा अवधिमा मूल्यमा चाप परेको हो । समीक्षा वर्षमा दलहन तथा गेडागुडी, घ्यू तथा तेल, लत्ता कपडा तथा जुत्ता, मसला, घरायसी सामान तथा सेवाको मूल्य वृद्धिदर उच्च रहेकाले समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्न गएको हो । समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको औसत मूल्य वृद्धिदर क्रमशः १०.९ प्रतिशत र ९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा यी समूहहरुको औसत मूल्य वृद्धिदर क्रमशः ९.६ प्रतिशत र ५.२ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा दलहन तथा गेडागुडीको मूल्य ३२.७ प्रतिशत, घ्यू तथा तेलको मूल्य १९.५ प्रतिशत र मसलाको मूल्य १३.५ प्रतिशतले बढेकोले खाद्य समुहको वार्षिक औसत मुद्रास्फीतिदर दोहोरो अंकमा पुगेको हो । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता र घरायसी सामान तथा सेवाको मूल्यमा क्रमशः १४.२ प्रतिशत र १२.७ प्रतिशतले वृद्धि भएको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ११.६ प्रतिशत, पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.८ प्रतिशत र तराईमा ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर काठमाडौं उपत्यकामा ७.२ प्रतिशत, पहाडमा ७.३ प्रतिशत र तराईमा ७.१ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भारतमा ५.२ प्रतिशत र नेपालमा ९.९ प्रतिशत रहेकोले यी दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ७.२ प्रतिशत र ५.३ प्रतिशत रही वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर १.९ प्रतिशत रहेको थियो । २०७२ बैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभावका साथै समीक्षा वर्षको शुरुका ६ महिनामा तराईमा भएको लामो बन्द हड्ताल र दक्षिणी सीमा–नाकाहरूको अवरोधबाट भएको असहज आपूर्तिको कारण नेपालको मूल्यमा चाप पर्न गएकोले नेपाल र भारत बीच मुद्रास्फीतिदरको अन्तरमा वृद्धि हुन गएको हो । 

थोक मुद्रास्फीति
आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औसत थोक मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.१ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क १०.५ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क ६.२ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क २.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यी सूचकाङ्कहरुको वृद्धिदर क्रमशः ८.८ प्रतिशत, ५.६ प्रतिशत र ०.७ प्रतिशत रहेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औसत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ५.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष उक्त सूचकाङ्क ८.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा तलब सूचकाङ्कको वृद्धिदर ०.८ प्रतिशत रहेको छ भने ज्यालादर सूचकाङ्कको वृद्धिदर ७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष तलव सूचकाङ्क र ज्यालादर सूचकाङ्क दुबैको वार्षिक औसत वृद्धिदर ८.४ प्रतिशत रहेको थियो । ज्यालादर अन्तर्गत समीक्षा वर्षमा निर्माण मजदूर, कृषि मजदूर र औद्योगिक मजदूरको ज्यालादर सूचकाङ्कको वार्षिक औसत वृद्धिदर क्रमशः ९.७ प्रतिशत, ८.३ प्रतिशत र ३.६ प्रतिशत रहेको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 
आर्थिक बर्ष २०७२/७३ मा कुल वस्तु निर्यात १७.८ प्रतिशतले ह्रास आई रु. ७० अर्ब १२ करोडमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो निर्यात ७.३ प्रतिशतले घटेको थियो । समीक्षा बर्षमा भारततर्फ २९.३ प्रतिशत र चीनतर्फ २४.६ प्रतिशतले गिरावट आएको निर्यात अन्य मुलुकतर्फ भने ६.३ प्रतिशतले बढेको छ । समीक्षा बर्षमा कुल वस्तु निर्यातको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ३.१ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक बर्ष यस्तो अनुपात ४ प्रतिशत रहेको थियो । 

वस्तुगत आधारमा 
समीक्षा वर्षमा मुख्यतया ऊनी गलैँचा, अलैंची, पश्मिना, तयारी पोशाक, पिना लगायतका वस्तुहरुको निर्यात बढेको छ भने जिङ्क शीट, जि.आई.पाइप, पोलिष्टर यार्न, लत्ताकपडा, जुस लगायतका वस्तुहरूको निर्यात घटेको छ । समीक्षा वर्षमा पेट्रोलियम पदार्थको आयात उच्च दरले घटेकोले कुल वस्तु आयात ०.१ प्रतिशतले घटेर रु. ७७३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ८.४ प्रतिशतले वृद्धि भएको थियो । पेट्रोलियम पदार्थ बाहेकको आयात भने ६.४ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा चीनबाट भएको आयात १५.५ प्रतिशतले बढेको छ भने भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २.९ प्रतिशत र १.२ प्रतिशतले घटेको छ । समीक्षा बर्षमा कुल वस्तु आयातको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ३४.४ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक बर्ष यस्तो अनुपात ३६.५ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा वस्तुगत आधारमा मुख्यतयाः यातायातका साधन तथा पार्टपुर्जा, सुन, औषधि, रासायनिक मल, दुरसञ्चारका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, चाँदी, एम.एस.विलेट, सुपारी, कच्चा पाम तेल लगायतका वस्तुहरूको आयात घटेको छ । 

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र सुख्खा वन्दरगाह भन्सारबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ । आयाततर्फ वीरगञ्ज भन्सार नाकाबाटको आयातमा ठूलो कटौति भएको छ भने वीरगञ्ज सुख्खा बन्दरगाह, भैरहवा, कृष्णनगर र कैलाली भन्सार नाकाबाटको आयातमा उच्च वृद्धि भएको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २ प्रतिशतले बढी रु. ७०३ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा १०.८ प्रतिशतले बढेको थियो । समीक्षा बर्षमा कुल वस्तु व्यापार घाटाको कुल गार्हस्थ उत्पादनसँगको अनुपातमा सीमान्त दरले कमी आई ३१.३ प्रतिशत रहेको छ । अघिल्लो बर्ष यस्तो अनुपात ३२.५ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.१ प्रतिशत अर्थात निर्यातको आकारको तुलनामा आयातको आकार करिब ११ गुणा ठूलो रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ११ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
आर्थिक वर्ष २०७२/७३ मा भन्सार तथ्याङ्कमा आधारित निर्यातको वार्षिक औसत एकाइ मूल्य सूचकाङ्क १४.५ प्रतिशतले वृद्धि भएको तर आयात मूल्य सूचकाङ्कमा ६.४ प्रतिशतले कमी आएकोले व्यापारको सर्त मा २२.२ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षमा यस्तो अनुपात १२.८ प्रतिशतले बढेको थियो । अलैँची, सुपारी, चियापत्ती र यार्सागुम्बाको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ र गाडीको टायरको आयातीत मूल्यमा कमी आएको कारण आयात मूल्य सूचकाङ्कमा कमी आएको हो । 

सेवा
समीक्षा वर्षमा कुल सेवा आयमा ७.२ प्रतिशतले कमी आएको र कुल सेवा खर्च ५.७ प्रतिशतले वृद्धि भएको कारण खुद सेवा आय बचत ६४.३ प्रतिशतले घटेर रु. ९ अर्ब ८५ करोडमा खुम्चिएको छ । अघिल्लो वर्ष खुद सेवा आय रु. २७ अर्ब ६२ करोडले बचतमा रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा बर्षमा २१.८ प्रतिशतले घटेको छ । अघिल्लो बर्ष यस्तो आय १५.२ प्रतिशतले बढेको थियो । समीक्षा बर्षमा दृश्यावलोकन, ट्राभल तथा ट्रेकिङ्क एजेन्सीबाटको आय उल्लेख रुपमा घटेको छ । पर्यटन खर्च भने समीक्षा बर्षमा ६.१ प्रतिशतले बढेको छ । यो खर्च अघिल्लो बर्ष २६.१ प्रतिशतले बढेको थियो । पर्यटन खर्च अन्र्तगत अघिल्लो बर्ष १२.९ प्रतिशतले बढेको शिक्षातर्फको खर्च समीक्षा बर्षमा १८ प्रतिशतले बढेको छ । 

विप्रेषण आप्रवाह 
समीक्षा वर्षमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले वृद्धि भई रु. ६६५ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १३.६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा बर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात २९.६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक बर्ष यस्तो अनुपात २९.१ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण खुद ट्रान्सफर आय ९.६ प्रतिशतले वृद्धि भई रु. ७७८ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १२.४ प्रतिशतले बढेको थियो । विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा भने समीक्षा बर्षमा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या आर्थिक वर्ष २०७२/७३ मा १८.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या २.८ प्रतिशतले घटेको थियो । कामदारको संख्याका आधारमा समीक्षा बर्षमा गन्तव्य मुलुकको संरचनामा परिवर्तन आएको छ । समीक्षा बर्षमा साउदी अरब, कतार र मलेसिया क्रमशः पहिलो, दोस्रो र तेस्रो गन्तव्यको रुपमा रहेका छन् । अघिल्लो आर्थिक बर्ष मलेसिया, कतार र साउदी अरब, क्रमशः पहिलो, दोस्रो र तेस्रो गन्तव्य रहेका थिए । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
समीक्षा वर्षमा एफ.ओ.वि. मूल्यमा आधारित वस्तु व्यापार घाटा बढेको तथा खुद सेवा र आय प्राप्ति बचत घटेको भएपनि खुद ट्रान्सफर आप्रवाह बढेको कारण चालू खाता समीक्षा बर्षमा रु. १४० अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष रु. १०८ अर्ब ३२ करोडले बचतमा रहेको थियो । त्यसैगरी, चालू खाता बचतका साथै पुँजी आप्रवाह बढेको कारण समीक्षा बर्षमा रु. १९१ अर्ब २४ करोडले शोधनान्तर बचतमा रहेको छ । अघिल्लो वर्ष यस्तो बचत रु. १४५ अर्ब ४ करोड रहेको थियो । समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर रु. १६ अर्ब ९९ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ५ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु. १४ अर्ब ८१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ३८ करोड रहेको थियो । घण्। नेपाल राष्ट्र बैंकबाट लिइएको स्वीकृतिका आधारमा समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानीमा रु. ६ अर्ब २५ करोड लाभांश भुक्तानी भएको छ । गत आर्थिक वर्षमा प्रत्यक्ष वैदशिक लगानीको लाभांश स्वरूप रु. ७ अर्ब २१ करोड भुक्तानी भएको थियो । 

विदेशी विनिमय सञ्चिति 
कुल विदेशी विनिमय सञ्चिति २०७२ असार मसान्तको रु. ८२४ अर्ब ६ करोडबाट २६.१ प्रतिशतले वृद्धि भई २०७३ असार मसान्तमा रु. १०३९ अर्ब २१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७२ असार मसान्तको तुलनामा २०७३ असार मसान्तमा २६.२ प्रतिशतले वृद्धि भई रु. ८८७ अर्ब १ करोड पुगेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले वृद्धि भई रु. १५२ अर्ब २० करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१.४ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
आर्थिक वर्ष २०७२/७३ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.५ महिनाको वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा वर्षमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका छन् । २०७२ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ३८.९ प्रतिशत, ९३.३ प्रतिशत र ४३.९ प्रतिशत रहेका थिए । 

वैदेशिक सम्पत्ति र दायित्वको स्थिति 
International Investment Position (IIP) ले नेपालको कुल वैदेशिक सम्पत्ति र दायित्वको अवस्थालाई देखाँउछ । २०७३ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु. १०५४ अर्ब १ करोड तथा दायित्व रु. ५६४ अर्ब ५५ करोड रहेको छ । फलस्वरुप सम्पत्ति र दायित्वको खुद स्थिति रु. ४८९ अर्ब ४६ करोडले धनात्मक रहेको छ । २०७२ असार मसान्तमा यस्तो रकम रु. ३१६ अर्ब ७८ करोडले धनात्मक रहेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति 
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७२ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५७.३१ रहेकोमा २०७३ असार मसान्तमा १९.३ प्रतिशतले ह्रास आई प्रति ब्यारल अमेरिकी डलर ४६.२५ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७२ असार मसान्तमा प्रति आउन्स अमेरिकी डलर ११४४.४० रहेकोमा २०७३ असार मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १२८३.३० पुगेको छ । २०७२ असार मसान्तको तुलनामा २०७३ असार मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ५.२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.२ प्रतिशतले नैअवमूल्यन भएको थियो । २०७३ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०६.७३ पुगेको छ । २०७२ असार मसान्तमा उक्त विनिमय दर रु. १०१.१४ रहेको थियो । 

सरकारी वित्त स्थिति 
सरकारी राजस्व
आर्थिक वर्ष २०७२÷७३ मा नेपाल सरकारको राजस्व १८.९ प्रतिशतले वृद्धि भई रु. ४८२ अर्ब ७५ करोड पुगेको छ । उक्त राजस्व वार्षिक बजेट लक्ष्य रु. ४७५ अर्ब १ करोडको १०१.६ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष सरकारको राजस्व १३.८ प्रतिशतले वृद्धि भई रु. ४०५ अर्ब ८५ करोड पुगेको थियो । समीक्षा वर्षमा राजस्व÷कुल गार्हस्थ्य उत्पादन अनुपात २१.५ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७१/७२ मा यस्तो अनुपात १९.१ प्रतिशत रहेको थियो । राजस्वका शीर्षकहरूमध्ये मूल्य अभिवृद्धि कर राजस्व समीक्षा वर्षमा ८.६ प्रतिशतले वृद्धि भई रु. १२२ अर्ब ७ करोड परिचालन भएको छ । अघिल्लो वर्ष सो राजस्व ११.३ प्रतिशतले वृद्धि भई रु. ११२ अर्ब ३८ करोड पुगेको थियो । समीक्षा वर्षमा आयकर राजस्व ३२.४ प्रतिशतले वृद्धि भई रु. ११७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर राजस्व ३०.३ प्रतिशतले वृद्धि भई रु. ८८ अर्ब ४६ करोड पुगेको थियो । समीक्षा वर्षमा भन्सार महसूलबाट प्राप्त हुने राजस्व १०.९ प्रतिशतले वृद्धि भई रु. ८२ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष सो राजस्व ४.२ प्रतिशतले ह्रास भई रु. ७४ अर्ब ६७ करोड रहेको थियो । समीक्षा वर्षमा अन्तःशुल्क परिचालन २९.८ प्रतिशतले वृद्धि भई रु. ६९ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष अन्तःशुल्क १७.९ प्रतिशतले वृद्धि भई रु. ५३ अर्ब ५३ करोड पुगेको थियो । समीक्षा वर्षमा कुल राजस्व परिचालनमा मूल्य अभिवृद्धि करको अंश सबैभन्दा बढी अर्थात् २५.३ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः आयकर (२४.३ प्रतिशत), भन्सार महसूल (१७.२ प्रतिशत) र अन्तःशुल्क (१४.४ प्रतिशत) रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः २७.७ प्रतिशत, २१.८ प्रतिशत, १८.४ प्रतिशत र १३.२ प्रतिशत रहेका थिए । समीक्षा वर्षमा गैर–कर राजस्व परिचालन २२.९ प्रतिशतले वृद्धि भई रु. ६१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष गैर–कर राजस्व १०.८ प्रतिशतले वृद्धि भई रु. ४९ अर्ब ९० करोड पुगेको थियो । समीक्षा वर्षमा कुल राजस्वमा कर राजस्वको अंश ८७.३ प्रतिशत र गैर–कर राजस्वको अंश १२.७ प्रतिशत रहेको छ । त्यस्तै, कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३४.९ प्रतिशत र अप्रत्यक्ष कर राजस्वको अंश ६५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष कुल राजस्वमा कर राजस्वको अंश ८७.७ प्रतिशत र गैर–कर राजस्वको अंश १२.३ प्रतिशत रहेको थियो भने कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३२.४ प्रतिशत र अप्रत्यक्ष कर राजस्वको अंश ६७.६ प्रतिशत रहेको थियो । 

सरकारी खर्च 
आर्थिक वर्ष २०७२/७३ मा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ११.९ प्रतिशतले वृद्धि भई रु. ५६९ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्ष कुल सरकारी खर्च २२ प्रतिशतले वृद्धि भई रु. ५०९ अर्ब २१ करोड पुगेको थियो । आर्थिक वर्ष २०७२/७३ मा नगद प्रवाहमा आधारित चालू खर्च ६.५ प्रतिशतले वृद्धि भई रु. ३५६ अर्ब ५० करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष चालू खर्च १२.९ प्रतिशतले वृद्धि भएको थियो । चालू खर्च बजेट अनुमानको ७३.६ प्रतिशत भएको छ । समीक्षा वर्षमा नगद प्रवाहमा आधारित पूँजीगत खर्च अघिल्लो वर्षको तुलनामा ३७.९ प्रतिशतले वृद्धि भई रु. १११ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष पूँजीगत खर्च ३२.१ प्रतिशतले वृद्धि भएको थियो । पूँजीगत खर्च बजेट अनुमान रु. २०९ अर्बको ५३.५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७२/७३ मा नगद प्रवाहमा आधारित वित्तीय व्यवस्था अन्तर्गतको खर्च अघिल्लो वर्षको ५७ प्रतिशत वृद्धिको तुलनामा ८.६ प्रतिशतले वृद्धि भई रु. १०१ अर्ब ३७ करोड पुगेको छ । उक्त रकम बजेट अनुमानको ८०.२ प्रतिशत हुन आउँछ । 

बजेट घाटा 
आर्थिक वर्ष २०७२/७३ मा नगद प्रवाहमा आधारित बजेट रु. ३७ अर्ब ४९ करोडले घाटामा रहेको छ । आर्थिक वर्ष २०७१/७२ मा यस्तो बजेट रु. ४५ अर्ब ८८ करोडले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादनसँग बजेट घाटाको अनुपात १.७ प्रतिशत रहेको छ । 

न्यून वित्त पूर्तिका स्रोतहरु 
आर्थिक वर्ष २०७२/७३ मा कुल आन्तरिक ऋण रु. ८७ अर्ब ७७ करोड परिचालन भएको छ । उक्त ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष रु. ४२ अर्ब ४२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको थियो । समीक्षा वर्षमा रु. ५० अर्ब ४० करोड आन्तरिक ऋणको भुक्तानी भएको छ भने समीक्षा वर्षको अन्त्यमा नेपाल सरकारको नेपाल राष्ट्र बैंकसँग रु. १२७ अर्ब ३८ करोड नगद मौज्दात रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो बचत रु. ३३ अर्ब ८१ करोड रहेको थियो । 

सरकारी ऋण
आर्थिक वर्ष २०७२/७३ को असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु. ३८१ अर्ब ७४ करोड रहेको छ । त्यसैगरी समीक्षा वर्षको अन्त्यमा नेपाल सरकारको कुल तिर्न बाँकी आन्तरिक ऋण अघिल्लो वर्षको रु. १९६ अर्ब ७९ करोडबाट रु. २३४ अर्ब १६ करोड पुगेको छ । दुबै जोड्दा नेपाल सरकारको तिर्न वाँकी कुल ऋण रु. ६१५ अर्ब ९० करोड हुन आउछ । सरकारको कुल ऋण/कुल गार्हस्थ्य उत्पादन अनुपात २०७२/७३ मा २७.४ प्रतिशत छ भने कुल ऋण भुक्तानी÷राजस्व अनुपात १७.६ प्रतिशत छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 
आर्थिक वर्ष २०७२/७३ मा विस्तृत मुद्राप्रदाय १९.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १९.९ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा विप्रेषण आप्रवाहमा वृद्धि भएको तथा आयात विस्तार नभएका कारण खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. १९१ अर्ब २४ करोड (२५.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्ष उक्त सम्पत्ति रु. १४५ अर्ब ४ करोड (२४.२ प्रतिशत) ले बढेको थियो । समीक्षा वर्षमा सञ्चित मुद्रा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्रा १९.८ प्रतिशतले बढेको थियो । 

कुल आन्तरिक कर्जा 
आर्थिक वर्ष २०७२/७३ मा कुल आन्तरिक कर्जा १७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १६.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी १९.४ प्रतिशतले बढेको थियो । 

निक्षेप संकलन
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १९.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त निक्षेप २०.१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वाणिज्य बैंक र विकास बैंकहरुको निक्षेप क्रमशः २०.७ प्रतिशत र १६.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको निक्षेप १२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष वाणिज्य बैंक र विकास बैंकहरुको निक्षेप क्रमशः २१.४ प्रतिशत र १५.२ प्रतिशतले बढेको थियो भने वित्त कम्पनीहरुको निक्षेप ०.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मर्जरको परिणामस्वरुप वित्त कम्पनीहरुको निक्षेप घट्न गएको हो । 

कर्जा प्रवाह 
आर्थिक वर्ष २०७२/७३ मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९.८ प्रतिशतले बढेको थियो । समीक्षा वर्षको चौथो त्रयमास देखि आर्थिक गतिविधि चलायमान भएका कारण निजी क्षेत्रतर्फको कर्जा विस्तार भएको हो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र विकास बैंकहरुको कर्जा प्रवाह क्रमशः २६.५ प्रतिशत र २०.३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह १२.५ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट यातायात, संचार तथा सार्वजनिक सेवातर्फको कर्जा ३९.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त क्षेत्रतर्फको कर्जा २७ प्रतिशतले बढेको थियो । त्यसैगरी, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५.८ प्रतिशत र वित्तीय, वीमा तथा स्थिर सम्पत्तितर्फको कर्जा २५.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २१.८ प्रतिशत र वित्तीय, वीमा तथा स्थिर सम्पत्तितर्फको कर्जा १८.३ प्रतिशतले बढेको थियो । छड। अघिल्लो वर्ष कृषि क्षेत्रतर्फको कर्जा २८ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा उक्त कर्जा २०.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १४.८ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा उक्त कर्जा १५.९ प्रतिशतले बढेको छ । २०७३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १५.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.६ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो । २०७३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा (रियलस्टेट) क्षेत्रमा रु. २५० अर्ब ८७ करोड (प्रति ग्राहक रु. १ करोडभन्दा कमको रु. १४२ अर्ब ८१ करोडको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १४.९ प्रतिशत हुन आउँछ । २०७३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत (रु. ३७ अर्ब ६६ करोड) रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.६ प्रतिशत (रु. ३५ अर्ब ८७ करोड) छ । समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) ३१.८ प्रतिशत (रु. १७ अर्ब ५६ करोड) ले वृद्धि भई रु. ७२ अर्ब ६८ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो कर्जा १३.३ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७२/७३ मा वित्तीय प्रगाढता थप विस्तार भएको छ । समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनसँग विस्तृत मुद्राप्रदाय, कुल निक्षेप, कर्जा तथा लगानी र निजी क्षेत्रतर्पmको दावीको अनुपात अघिल्लो वर्षको तुलनामा बढेको छ । 

तरलता व्यवस्थापन 
आर्थिक वर्ष २०७२/७३ मा यस बैंकले रु. ५९१ अर्ब ६३ करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोलमार्फत् रु. २९७ अर्ब ५० करोड, रिभर्स रिपोमार्फत् (टर्नओभरको आधारमा) रु. २३५ अर्ब ९५ करोड, नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत् रु. ४९ अर्ब ८ करोड तथा सोझै बिक्री बोल–कबोलमार्फत रु. ९ अर्ब १० करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्ष निक्षेप बोल–कबोलमार्फत् रु. १५५ अर्ब, रिभर्स रिपोमार्फत् रु. ३१५ अर्ब ८० करोड तथा सोझै बिक्री बोल–कबोलमार्फत् ६ अर्ब तरलता प्रशोचन भएको थियो । 

समीक्षा वर्षमा विभिन्न उपकरणमार्फत तरलता प्रशोचन गर्न ब्याज लागत वापत रु. ७१ करोड ८२ लाख खर्च भएको छ । अघिल्लो वर्ष यस्तो लागत रु. १९ करोड ६ लाख रहेको थियो । आर्थिक वर्ष २०७२/७३ मा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ४ अर्ब ४५ करोड खुद खरिद गरी रु. ४७१ अर्ब ३५ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब ३ करोड खुद खरिद गरी रु. ३९६ अर्ब ७२ करोड खुद तरलता प्रवाह भएको थियो । समीक्षा वर्षमा अमेरिकी डलर ३ अर्ब ४० करोड र यूरो २१ करोड बिक्री गरी रु. ३८५ अर्ब ४७ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षमा अमेरिकी डलर ३ अर्ब ५० करोड बिक्री गरी रु. ३४८ अर्ब ९ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा तथा उत्पादनशील कर्जा 
उत्पादनशील क्षेत्रतर्फ लगानी बढाउने तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा वर्षमा बढेको छ । समीक्षा वर्षमा साधारण पुनरकर्जा रु. ७ अर्ब ६० करोड र निर्यात पुनरकर्जा रु. १ अर्ब ३० करोड गरी जम्मा रु. ८ अर्ब ९० करोड पुनरकर्जाको उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ रु. ५ अर्ब ८२ करोड र निर्याततर्फ रु. २ अर्ब ७४ करोड गरी कुल रु. ८ अर्ब ५६ करोड पुनरकर्जा उपयोग भएको थियो । त्यसैगरी, भूकम्प पीडितहरूलाई राहत प्रदान गर्न यस बैंकबाट शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७३ असार मसान्तसम्म रु. ५ करोड ९० लाख कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७३ असार मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १६.५८ प्रतिशत पुगेको छ । तोकिएका कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था अन्र्तगत २०७२ चैत मसान्तसम्ममा २३४२ जना किसानहरूलाई रु. १ अर्ब ९९ करोड कर्जा प्रवाह भएको छ । यस व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले रु. ४ करोड १९ लाख ब्याज अनुदान प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७४ को बजेटले यस्तो सहुलियत कर्जाको ब्याजदर ६ प्रतिशतबाट ५ प्रतिशत कायम गरेको छ । 

अन्तर–बैंक कारोबार र स्थायी तरलता सुविधाको उपयोग 
आर्थिक वर्ष २०७२/७३ मा वाणिज्य बैंकहरुले रु. ९६१ अर्ब ७२ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) ले रु. १२९ अर्ब ६ करोड बराबरको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्ष वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ३७४ अर्ब ७० करोड र रु. २२६ अर्ब ९१ करोड बराबरको यस्तो कारोबार गरेका थिए । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु. ८ अर्ब ५५ करोडको स्थायी तरलता सुविधाको उपयोग गरेका छन् । 

ब्याजदर 
२०७२ असारको तुलनामा २०७३ असारमा ९१–दिने ट्रेजरी विल र अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर घटेको छ । २०७२ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.१७३९ प्रतिशत रहेकोमा २०७३ असारमा ०.०४५६ प्रतिशत कायम रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरुबीचको अन्तर– बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ असारमा १.०१ प्रतिशत रहेकोमा २०७३ असारमा ०.६९ प्रतिशत पुगेको छ । अन्य वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ असारमा ३.८९ प्रतिशत रहेकोमा २०७३ असारमा ३.२५ प्रतिशत पुगेको छ । २०७३ असारमा वाणिज्य बैंकहरुको भारित औसत ब्याजदर अन्तर ४.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असारमा यस्तो ब्याजदर अन्तर ४.६१ प्रतिशत रहेको थियो । त्यसैगरी वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर २०७२ असारको ७.८८ प्रतिशतको तुलनामा २०७३ असारमा ६.५४ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति तथा रिजोलुसन 
वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर नीति कार्यान्वयनमा आएसँगै मर्ज हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ । “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी विनियमावली, २०६८” कार्यान्वयनमा आएपछि २०७३ असार मसान्तसम्ममा १०८ वटा बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भई ४३ वटा संस्था बनेका छन् । त्यसैगरी, दुई वाणिज्य बैंकले चारवटा वित्त कम्पनीहरू र एक विकास बैंकले अर्को एक विकास बैंक प्राप्ति (एक्विजिसन) गरेका छन् । २०७३ असार मसान्तमा ११ वटा संस्थाहरू (२ विकास बैंक र ९ वित्त कम्पनीहरू) रिजोलुसनको प्रक्रियामा रहेका छन् । उक्त संस्थाहरूमा निक्षेप रु. ३ अर्ब ४ करोड रहेको छ भने कर्जा लगानी रु. ६ अर्ब ४२ करोड रहेको छ । यी संस्थाहरूको खराव कर्जा करिब ९७.३ प्रतिशत रहेको छ भने समग्र पुँजीकोष करीब ३३.९ प्रतिशतले ऋणात्मक छ । मर्जर तथा प्राप्तिको परिणामस्वरुप यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७३ असार मसान्तमा १७९ रहेको छ (बक्स १२) । यस अनुसार २०७३ असार मसान्तमा २८ वाणिज्य बैंक, ६७ विकास बैंक, ४२ वित्त कम्पनी र ४२ लघुवित्त विकास बैंकहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा कमी आएतापनि शाखा सञ्जाल विस्तार भएको छ । २०७३ असार मसान्तमा यी संस्थाहरुको शाखा संख्या ४२७२ पुगेको छ । 

पूँजी बजार 
नेप्से सूचकाङ्क २०७३ असार मसान्तमा १,७१८.२ विन्दुमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सूचकाङ्क ९६१.२ विन्दु रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि गरिने नीति अगाडि सारिएको, २०७२ माघदेखि कागजरहित शेयर (डिम्याट) प्रणालीबाट मात्र कारोबार भएको तथा लगानीकर्ताहरुमा राजनीतिक संक्रमण अन्त्य हुने अपेक्षा बढ्दै गएको कारण शेयर बजार परिसूचक उच्चदरमा बढेको हो । आर्थिक वर्ष २०७२/७३ मा कुल शेयर कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १५१ प्रतिशतले वृद्धि भई रु. १६३ अर्ब ९६ करोड पुगेको छ । डिम्याट प्रणालीबाट कारोबार भई स्टकको तरलता बढेको तथा नेप्से सूचकाङ्कमा उछाल आएका कारण कुल कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको हो । स्रोत : नेपाल राष्ट्र बैंक
 

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *