August 27th, 2016

एक वर्षमा नेपालमा भित्रियो १५ अर्ब वैदेशिक लगानी

foreign-investment-2गत आर्थिक वर्षमा नेपालमा १५ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । एक वर्षमा उद्योग विभागले रु. १५ अर्ब १४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३४१ वटा विदेशी संयुक्त लगानीका परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको हो । प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५ प्रतिशतले ह्रास आएको हो । वैदेशिक लगानीका परियोजनाको संख्यामा पनि ७.३ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष विभागले ६७ अर्ब ४२ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३६८ वटा परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको थियो । 

देशगत रुपमा विश्लेषण गर्दा समीक्षा वर्षमा सबैभन्दा बढी चीनबाट १२५, दक्षिण कोरियाबाट ५५, संयुक्त राज्य अमेरिकाबाट ४०, भारतबाट २३, जापानबाट १८, संयुक्त अधिराज्यबाट ११ र अन्य देशहरुबाट ६९ गरी कुल ३४१ परियोजनाहरुलाई स्वीकृति प्रदान गरिएको छ । स्वीकृत परियोजनाहरुबाट कुल ११४२६ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । 

विनाशकारी भुकम्पको प्रभावका कारण नेपालमा लगानी गर्न विदेशीहरु हच्किएका हुन् । साथै, गत वर्ष भएको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण पनि विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्नु असुरक्षित मान्न थालेका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्षमा सेवा सम्बन्धी परियोजनाको संख्यामा वृद्धि भएको छ भने उत्पादन, पर्यटन र उर्जा सम्बन्धी परियोजनाहरुको संख्यामा कमी आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]