August 15th, 2016

‘शैक्षिक प्रमाणपत्रबाट ऋण दिनु  अत्यन्तै राम्रो कुरा’  

chintamani siwakotiविद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर थप अध्ययनका लागि शैक्षिक कर्जा दिने एनएमबी बैंकको निर्णयलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले स्वागत गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा दिने निर्णय गरेको निर्णयलाई डेपुटी गभर्नर शिवाकोटीले  स्वागत गरेका हुन् । उनले आइतबार बैंकिङ खबरसंग भने, ‘एनएमबी बैंकले राम्रो कामको सुरुवात गरेको छ ।’

विद्यार्थीहरुलाई प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा दिनेबारे एनएमबी बैंक र हिमालय कलेजबीच शुक्रबार हस्ताक्षर भएको थियो । सम्झौताअनुसार हिमालय कलेजमा इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीले शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशत सहुलियतपूर्ण कर्जा पाउने छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले कर्जाको अवधि ४ वर्षको हुने र अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को चार वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्ने बताए ।

शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने विद्यार्थीसँग उनीहरुको अवस्था हेरी ५ देखि ८ प्रतिशत ब्याज लिने सम्झौतामा उल्लेख गरिएको छ । केपी ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । नीति तथा कार्यक्रम अनुसार सरकारले बजेटमा पनि उच्च शिक्षा अध्ययनका लागि बैंकबाट ऋण मिलाउने घोषणालाई निरन्तरता दिएको थियो । तर नेपाल राष्ट्र बैंकले भने मौद्रिक नीतिमा त्यस्तो व्यवस्था समावेश गरेको थिए । यसबारे गभर्नर चिरञ्जीबी नेपालले बैंकहरुसंगको छलफलपछि यो व्यवस्था लागु गर्नेबारे निर्णय लिन सकिने बताएका थिए ।
तर राष्ट्र बैंकले चलाएका केही छलफलका क्रममा बैंकहरुले शैक्षिक प्रमाणपत्रकै आधारमा ऋण दिन नसक्ने जनाएपछि राष्ट्र बैंक यसबारे सेलाएको थियो । बैंकहरुले यस्तो ऋण दिन नसकिने बताइरहेका बेला एनएमबी बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नयाँ कार्यक्रम सुरु गर्नु अत्यन्तै सराहनीय काम भएको डेपुटी गभर्नर शिवाकोटीले बताए । सबै विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने कुरा सम्भव छ कि छैन भन्ने जिज्ञासामा डेपुटी गभर्नरले दिएको जवाफ जस्ताको त्यस्तै :
 
नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रकै आधारमा ऋण दिनु भनेर बैंकहरुलाई निर्देशिका जारी गरेको पनि छैन । त्यसो गरिहाल्न अहिले सम्भव पनि छैन । २०४० सालमा तत्कालीन अर्थमन्त्रि प्रकाशचन्द्र लोहनीले पनि यस्तै खालको कार्यक्रम ल्याउनुभएको थियो । त्यसको नाम ‘शैक्षिक वेरोजगार कर्जा’ थियो । त्यतिबेला बैंकहरुमार्फत थुपै्रलाई शैक्षिक बेरोजगार कर्जा वितरण पनि गरियो । तर कर्जा लिएकाहरु धमाधम विदेश पलायन हुने, कर्जा लिएर नतिर्ने, फर्जी प्रमाणपत्र बनाएर कर्जा लिनेसम्मका गतिविधिहरु बढे । त्यस्तो प्रवित्तिका कारण अन्ततः त्यो कार्यक्रम असफल हुन पुग्यो ।

अहिले फेरी शैक्षिक प्रमाणपत्रको आधारमा निरब्याजी ऋण दिने कुरा छ, यो एकदमै स्वागतयोग्य छ । यसमा हामी राष्ट्र बैंक नकारात्मक हुने वा उदाशीन हुने कुनै कुरा छैन । तर त्यसका लागि बैंकहरुलाई एउटा विश्वस्त आधार चाहिन्छ । हामीले पटक–पटक छलफल गरिसकेका छौँ । अझै गदैछौँ । तर त्यसबारे अहिलेसम्म यसो गर्दा भरपर्दो हुन्छ भन्ने कुरा आएको छैन ।

यहीबीचमा एनएमबी बैंकले विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिन सुरुवात गर्दैछ भन्ने कुरा आएको छ । तर उसले दिने ऋण भनेको इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीलाई हो । यो स्वागतयोग्य छ । जेजस्तो भएपनि राम्रो कामको सुरुवात गरेकोप्रति हामीले प्रशंसा गर्नैपर्छ । यसरी नै अन्य बैंकहरुले पनि राम्रो काम गर्ने अवसरको सदुपयोग गर्छन भन्ने विश्वास छ ।

अमेरिकाको उदाहरण हेर्ने हो भने त्यहाँ शैक्षिक प्रमाणपत्रको आधारमा बैंकले ऋण दिन्छन् । तर ऋण दिने व्यक्तिले पढाई सकेर जागिर खान थाल्छ, उसले बैंकबाट लिएको कर्जा तिर्नैपर्छ । यदी दिन नमान्ने र छल गर्न खोजियो भने ‘ब्ल्याक लिस्ट’मा राखिदिन्छन् । त्यहाँ बैंकको कालोसूचीमा पर्दा धेरैतिरको अवसरबाट वञ्चित हुनुपर्ने हुन्छ । त्यहाँ एउटा व्यवस्थित प्रणाली छ । हामीकहाँ अहिले त्यस्तो प्रणाली छैन । अहिले समयले त्यस्तै प्रणालीको माग गरिसकेको भएपनि त्यसका लागि केही समय लाग्छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]