August 14th, 2016

बीमा क्षेत्रमा सरल योजना ल्याउँदै ‘सगरमाथा इन्स्योरेन्स’ : सीईओ चंकी क्षेत्रीसँगको अन्तर्वार्ता

chankeeसगरमाथा इन्स्योरेन्स कम्पनीले हालै आफ्ना बीमितको सवारी दुर्घटना भएको अवस्थामा घट्नास्थलमा नै बीमा दावी भुक्तानी गर्ने गरी एउटा नयाँ बीमा पोलिसी ल्याएको छ । ‘सगरमाथा भीआईपी अन दी स्पट’ नाम दिइएको सो पोलिसीलाई सेवाग्राहीहरुका लागि छिटो र छरितो सुविधाका रुपमा लिइएको छ । सगरमाथा इन्स्योरेन्सले ल्याएको सोही पोलिसीमा केन्द्रित रहेर कम्पनी र बीमा व्यवसायको अवस्थाबारे बैंकिङ खबर डटकमका लागि सहकर्मी नवराज कुँवरले कम्पनीका कार्यकारी अधिकृत चंकी क्षेत्रीसंग गरेको कुराकानीको संम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
 
सगरमाथा इन्स्योरेन्स झण्डै २० वर्षयता क्रियाशील छ, त्यसयता यसले हाँसिल गरेका उपलब्धिहरु के हुन् ?
सगरमाथा इन्स्योरेन्सले हासिल गरेको मुख्य उपलब्धि भनेकै हामीले दिएको सेवाबाट आएका ‘पोजिटिभ फिड्ब्याक’हरु नै हुन् । नाफालाई मात्र नभएर सेवाग्राहीको सन्तुष्टिलाई मुख्य उपलब्धि भन्न चाहान्छु । यसबाहेक अघिल्लो वर्षको बैशाखमा नेपालमा गएको महाभूकम्पमा हामीले पुर्याएको सेवालाई पनि एउटा अवसर र उपलब्धिको रुपमा लिएका छाँै । त्यतिबेला जति दाबी भुक्तानीहरु हामीले उपलब्ध गरायौँ त्यो हाम्रो लागि एउटा सेवाको अवसर र उपलब्धि दुवै हो ।

तपाई आफैँ पनि लामो समयदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय हुनुहुन्छ । तपाईहरुको कम्पनी स्थापना भएका बेला त्यति धेरै कम्पनीहरु पनि थिएनन्, आज धेरै कम्पनीहरु स्थापना भएका छन् । फरक के पाउनुभयो, थोरै कम्पनीहरुका बीचमा काम गर्नु र धेरै कम्पनीका बीच काम गर्नुमा ?
धेरै के कुरा गर्नु, आजभन्दा पाँच वर्षअघि नै पनि बीमा कम्पनीहरु अहिलेको जस्तो बाक्लो संख्यामा थिएनन् । त्यसअघि त झन् पातलो संख्यामा थिए । तर आज कैयौँ कम्पनीहरु खुलेर संचालनमा छन् । त्यतिबेला कम्पनीहरु पातलो संख्यामा भएका बेला क्षेत्र साँघुरो थियो । चुनौति धेरै थिए । सेवाग्राही कम थिए, सेवा गुणस्तरीय थिएन । तर आज बीमा व्यसायको क्षेत्र विस्तार भईसकेको अवस्था छ । कम्पनीहरु धेरै भएकाले प्रतिष्पर्धा बढेको छ । कति ठाउँमा अस्वस्थ प्रतिष्पर्धा पनि छ भनिन्छ तर त्यस्तो एकदमै न्युन छ भन्ने मलाई लाग्छ । आज धेरै कम्पनीहरु भएकाले प्रतिष्पर्धा छ । सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएर आकर्षण गर्नुपर्ने हुन्छ । त्यसैले फरक धेरै छ  ।

तपाईको विचारमा नेपालको बीमा व्यवसायमा देखिएका मुख्य चुनौति के–के हुन् ?
मेरो विचारमा नेपालको बीमा क्षेत्रमा एउटै चुनौति छ त्यो हो जनचेतना । बीमाका बारेमा आज पनि धेरै नेपालीहरुलाई थाहा छैन । फिल्डकै अनुभवलाई आधार मानेर भन्ने हो भने बीमा क्षेत्रलाई अघि बढ्नबाट रोक्ने र यसको विस्तारमा समस्या देखिनुको एउटै कारण हो जनचेतनाको कमी । जनस्तरमा यससम्बन्धी जानकारी र यसका फाइदाबारे सूचना नपुग्नु नै बीमा क्षेत्रको मुख्य चुनौति हो ।   

यसलाई निराकरण गर्न के गर्नुपर्छ ?
नेपालीहरुलाई बीमा शिक्षा उपलब्ध गराउन सरकारले विशेष नीति अवलम्बन गर्नुपर्छ । अहिले कम्तिमा ५÷७ प्रतिशत नेपालीले बीमा बुझेका छन् । बीमा गरेका पनि छन् । अब बाँकी नेपालीहरुलाई पनि बीमाबारे जानकारी गराउनुपर्छ । यसका लागि पाठ्यक्रममै बीमा साक्षरता अथवा बीमा शिक्षा समावेश गरिनुपर्छ । यसो गरिने हो भने केही लामो समय लागेपनि भविष्यमा बीमा क्षेत्र राम्रोसंग विस्तार हुन सक्दछ । यसो गरिएन भने अन्य कुनै पनि संयन्त्रबाट बीमा क्षेत्रको मुख्य चुनौतिलाई हटाउन सकिन्छ जस्तो मलाई लाग्दैन । संगै विश्वास पनि छ, कि सरकारले बीमा शिक्षालाई जन–जनसम्म पुर्याउने नीति अख्तीयार गर्नेछ ।  

बीमा क्षेत्र विस्तारमा बीमा समितिको भूमिका कस्तो छ ?
गत वर्षको भूकम्पमा बीमा समितिले हामीलाई जुन किसिमले खटायो त्यसले हामीलाई अघि बढ्न ठूलो मद्दत पुगेको छ । बीमा समितिको काम र कदमहरु एकदमै सराहनीय छन् । बीमा क्षेत्रका समस्या र चुनौति निराकरणका लागि बीमा समितिको ‘भाइटल रोल’ हुन्छ । उसले त्यो रोल निर्वाह गरिरहेको छ र गरिरहनेछ भन्ने विश्वास छ ।
 
अब तपाईको कम्पनीकै कुरा गरौँ, हालै तपाईहरुले भिआइपी अन द स्पट बीमा सुरु गर्नुभएको छ, यो कस्तो सेवा हो ? कसरी लिन सक्छन सेवाग्राहीले ?
यो बीमितको सवारी दुर्घटना भएको अवस्थामा घट्नास्थलमा नै बीमा दावी भुक्तानी गर्ने पोलिसी हो । कम्पनीको यो योजनाले बीमितलाई तत्काल राहत पुग्छ । दाबी भुक्तानीको लागि लामो प्रक्रियामा झेल्नु पर्दैन भने आर्थिक भार पनि कम पर्छ । मोटर बीमा गर्ने बीमितलाई मनीपर्समा राख्ने मिल्ने ‘सरगरमाथा भीआईपी अन द स्पट’ कार्ड दिईन्छ । यो एटीएम कार्ड जस्तै हुन्छ । बीमितले जहिले पनि यो कार्ड साथमा राख्न मिल्ने गरि बनाईएको छ । यो कार्डमा कम्पनीमा निःशुल्क सम्पर्क गर्न सकिने फोन नम्बर राखिएको हुन्छ । दुर्घट्ना भएको अवस्थामा बीमितले आफूसँग भएको कार्डको सहायतामा तत्काल कम्पनीमा फोन गर्न सक्छन् । कम्पनीले क्षति मूल्याङकन गर्न इन्जिनियर्ससहित एक टोलीलाई घट्ना स्थल पठाउँछ । क्षति विवरण र बीमा पोलिसीको अध्ययन गरेर बीमितले पाउने क्षतिपूर्ति रकम मूल्याङकन गरिन्छ । त्यसमा बीमित सहमत भएमा तत्काल बीमितको एकाउण्टमा भुक्तानी दिइन्छ । तर कम्पनीको प्रतिनिधिसँग बीमित असहमत भएमा दावी भुक्तानी नियमित प्रक्रिया जान सकिनेछ ।

सामान्यतया भिआइपी भनेको चाहिँ ‘भेरि इम्पोर्टेन्ट पर्सन’ अर्थात अति विशिष्ट व्यक्ति भन्ने बुझिन्छ, सगरमाथा भिआइपी भन्न खोजेको त्यही हो ? हो, सामान्यतया भीआईपीको अर्थ भेरी इम्पोर्टेन्ट पर्सन ‘अति विशिष्ट व्यक्ति’ भनेर बुझिन्छ । तर वास्तविकतामै यसको अर्थचाहिँ त्यो हैन । सगरमाथा भीआईपीको अर्थ फरक छ । भिआइपी अर्थात् ‘भेइकल इन्स्योरेन्स पोलीसी । ‘प्रतिस्पर्धी बजारमा ग्राहकलाई नै भगवान मानिन्छ । हामी पनि हाम्रा ग्राहकलाई भेरी इम्पोटेन्ट पर्सन मान्छौँ । त्यतापटिबाट मात्रै पनि व्याख्या गर्न सकिन्छ । तर यसको तात्वीक अर्थचाहिँ भेइकल इन्स्योरेन्स पोलीसी हो ।

कम्पनीले अझै योजनाहरु तय गरेको होला नि, के छन् आगामी योजनाहरु ?
हामीले ल्याएको भिआइपी अन दि स्पट सेवा तत्काललाई काठमाडौँका लागि मात्रै हो । यो काठमाडौँमा प्रभावकारी बन्दै गईरहेको छ । अब यसलाई हामीले देशका अन्य जिल्लाहरुमा पनि लैजाने तयारी गरेका छौँ । तीबाहेक सेवाग्राहीलाई राम्रो, छिटो र प्रभावकारी सेवा दिनु नै हाम्रो उद्देश्य र योजना हुनेछ । अहिले हामीसंग ३२ वटा शाखाहरु छन् । अझै हामी ग्रामीण क्षेत्रमा पनि शाखा विस्तार गर्ने योजनामा छौँ । बीमा कम्पनीहरु थुप्रै छन् । तीमध्ये हामीले लिएको गतिलाई जोगाउनुछ । हामी अरुको जोखिम बोक्छौँ । अरुको जोखिम बोक्दै गर्दा आफु पनि जोखिमबाट जोगिँदै अघि बढ्नुछ । त्यसैले तत्कालकै योजना भनेको चाहिँ भिआइपी अन दि स्पट सेवालाई विस्तार गर्नु नै हो ।

तपाईहरुसंग अन्य के त्यस्ता विशेषता छन्, जसले ग्राहकहरु तपाईहरुकै बीमा योजनाहरु किन्नतर्फ आकर्षित होउन् ?
हामीसंग ग्राहकलाई सन्तुष्टि दिन सक्ने सेवा छन् । हालै ल्याएको भिआइपी अन द स्पट नितान्त ग्राहकहरुकै सेवाका लागि हो । हामी चाहान्छौँ ग्राहकहरु कुनै पनि प्रक्रियागत झमेलामा नपरुन् । म यति भन्न चाहान्छु कि सगरमाथा इन्स्योरेन्स ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राख्ने कम्पनी हो ।

पुँजी बढाउने योजना छ कि छैन ?
बीमा समितिले निर्धारण गरेभन्दा हामीले झण्डै दोब्बर पुँजी वृद्धि गरिसकेका छौँ । बीमा समितिले २५ करोड भनेकोमा हाम्रो अहिले ४५ करोड चुक्ता पुँजी भएको छ । तर पनि यति काफी हैन । हामी पुँजी वृद्धिपट्टि पनि लाग्दै छौँ । 

बीमा कम्पनीहरु मिलेर छुट्टै लघुबीमा कम्पनीहरु पनि खोल्दैछन् भनेको सुनिन्छ । कुरा के हो ?
सरकारले लघुबीमासम्बन्धी बाध्यकारी व्यवस्था ल्याएको छ । त्यसैले पनि बीमा कम्पनीहरु आ–आफु मिलेर लघुबीमा कम्पनी खोल्ने कुराकानी भईरहेको छ । जीवन बीमा, निर्जीवन तथा पुनर्बिमा कम्पनीहरु संयुक्त लगानीमा लघुबीमा कम्पनी खोल्ने कुरा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]