August 12th, 2016

बैंकर्स रविनाको विश्लेषण : यसकारण बलियो छ ‘मेगा बैंक’

rabina deshrajरविना देशराज श्रेष्ठ मेगा बैंककी नायब प्रबन्धक तथा विजनेश अफिसर हुन् । ग्रामिण बैंकिङ क्षेत्रमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदर टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करियरको सुरुवात गरेकी हुन, भने स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । चलचित्र क्षेत्रलाई निक्कै नै प्रेम गर्ने रविना एक मोडलका रुपमा पनि चिनिन्छिन् । देश विकास र सामाजिक कार्यमा योगदान दिएबापत एसियास्तरिय “२१ सेञ्चुरी गोल्डेन फोनिक्स”,‘ लेडि अफ एक्सिलेन्सी ’ जस्ता अन्तराष्टिय अवार्ड समेत प्राप्त गर्न सफल श्रेष्ठको सपना नेपालका गाउँ/गाउँमा बैंकिङ सुविधा पुर्याउनु हो । शाखारहित बैंकिङ सेवा उपलब्ध गराउनमा मेगा बैंक सबैभन्दा अगाडि रहेको दाबी गर्ने बैंकर, रविना देशराज श्रेष्ठसँग मेगा बैंक र उनका केहि व्यक्तिगत विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी शारदा भण्डारीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

मेगा बैंकका ५सकारात्मक पक्षहरु के÷के हुन् ? बुँदागत रुपमा भनिदिनुस् न ।
नमुना बैंक :
हालसम्म नेपालमा संचालनमा आएका ‘ए’ क्लास अर्थात् कमर्सियल बैंकहरुमध्ये मेगा बैंक एक नमुना बैंक हो । सानो÷सानो बचतले जिन्दगीमा नै परिवर्तन ल्याउँछ, अनि आर्थिक हिसाबले सक्षम भएसँगै सम्पुर्ण जीवन नै सफल हुनसक्छ, भन्ने साहस नेपाली मध्यमस्तरका जनतासमक्ष जुटाउनमा हाम्रो बैंकले गरेको प्रयास सफल भएको छ । हाम्रो बैंक नेपालको ७५ जिल्लामध्ये ६३ जिल्लाका मध्यमस्तर जनताबाट जम्मा भएको पुँजीबाट संचालन भएको बैंक हो । मेगा बैंक कुनै ५/१० जना धनाढ्य नेपाली र त्यस्तै धनी संस्थाबाट चलेको बैंक होइन । हाम्रो बैंक १२ सय १९ जना सबै वर्ग र स्तरका नेपाली जनताको प्रोमोटरबाट चलेको बैंक हो । 

नयाँ कामको सुरुवात :
बैंकिङको ‘ब’ नजानेका, कृषि र पशुपालनबाट संकलन भएको रकम वर्षौदेखि घरको बाकसमा राख्ने नेपालका दुर्गम भेगका मानिसहरु सामु पुगेर वित्तीय साक्षारता र यसको महत्वको विषयमा जानकारी दिने काममा हाम्रो बैंक निक्कै नै अगाडि छ । हामीले बैंकको शाखा स्थापनाका लागि सम्भव भएसम्म शाखा नै स्थापना गरेर नागरिकलाई बैंकिङ सुविधा उपलब्ध गराएका छौँ । शाखा स्थापनाका लागि सम्भव नभएका र कुनै पनि बैंक पुग्न नसकेको स्थानका जनतालाई पनि हाम्रो बैंकले बैंक बचत र सुविधाबाट भने वञ्चित गराएको छैन । प्रायः नेपालका सबै दुर्गम स्थानहरुमा हाम्रो बैंकले शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । त्यस्तै विदेशमा रहेका दाजुभाईहरुले कमाएको रकम हुण्डीबाट घरसम्म पुर्याउने प्रावधानको अन्त्यका लागि हाम्रो बैंकले विभिन्न आइएनजीओहरुको सहकार्यमा मेगा रेमिट्यान्सको संचालन गरेको छ । साथै हामीले ल्याएको ट्याब बैंकिङ सेवाले पनि मानिसहरुमा बैंकिङ पहुंच पुगेको छ । जसको सुरुवात हाम्रै बैंकले गरेको थियो । हाम्रो बैंकले गरेका यी सबै प्रयासबाट पक्कै पनि वित्तीय साक्षरताबाट पिछडिएका नेपाली नागरिकहरुलाई औपचारीक बैंकिङ सेवा प्राप्त गर्नका लागि सहयोग पुगेको छ ।

व्यबहारीक नारा : ‘हलोदेखि हाइड्रोसम्म’ 
हाम्रो बैंकको पहुंच सहरदेखि गाउँसम्म, विपन्नदेखि सम्पन्न वर्गसम्म, सुगमदेखि दुर्गम भेगसम्म पुर्याउने योजनाअनुरुप तयार गरिएको नारा बास्तवमा नै साकार भएको छ । विगतका दिनहरुमा हाम्रो बैंकको बैंकिङ नारा नारामा मात्र सीमित हुन्छ तर व्यबहारमा लागु हुँदैन भनेर भन्ने व्यक्ति तथा संस्थाहरु पनि कम थिएनन् । तर आज हाम्रो बैंकले गरेका कार्यहरुबाट यस्ता संस्था र व्यक्तिहरुको आवाज नै बन्द भएको छ । मेगा बैंकको लगानी तथा पहुंच हाइड्रोमा मात्र भयो, तर हलोमा भएन भन्नेहरु आज आएर सेवा र पहुंचका बारेमा हाम्रै बैंकको उदाहरण दिन थालेका छन् । हामी हलोमा धेरै गएका छौं र आगामी दिनहरुमा पनि अझ बढि प्रायोरिटिमा हलोलाई नै लिएर अगाडि बढ्छौँ । यसका धेरै उदाहरणहरु छन् । नेपालको दुर्गम जिल्ला अन्तर्गतको रसुवाको स्याफ्रुङबेसीमा हाम्रो बैंकको शाखा स्थापना गरेका छौँ । रसुवा जिल्लामा हामीले १० हजारओटा बैंक खाता खालेका छौँ । चिलिमे हाइड्रो पावरमा आवद्ध व्यक्तिहरुलाई त्यहाँका बासिन्दासामु सेयर वितरण गर्नका लागि मेगा बैंकले सहकार्य गरेको छ । यो त उदाहरण मात्र हो । यसबाहेक साफेबगर, जोगबुढा जस्ता नेपालका दुर्गम स्थानहरुमा मेगा बैंकले आफ्नो शाखा संचालनमा ल्याएर त्यहाँका जनताहरुलाई बैंकिङ सेवा उपलब्ध गराएको छ । यसकारण पनि हाम्रो बैंकको हलोदेखि हाइड्रोसम्म भन्ने नारा सार्थक बनेको छ । 

सिइओ र ब्राण्डिङ
यसअघि हाम्रो बैंकको सिइओले बैंकिङ क्षेत्रमा दिएको योगदानका विषयमा धेरै नै चर्चा भइसकेको छ । हाम्रो बैंक यस्तो व्यक्तिको नेतृत्वमा  चलेको बैंक हो, जुन बैंकको ब्राण्ड सिइओको नाममा जोडिएको छ । कुनैपनि संस्थाको उदेश्य तब सफल हुन्छ जब उक्त संस्थाको नेतृत्व पक्ष वलियो हुन्छ । यसर्थ, हाम्रो बैंकको नेतृत्व गर्ने टिमका सबै सदस्यहरु दक्ष तथा अनुभवी छन् । यो हाम्रो बैंकको एक सकारात्मक पक्ष हो । एकपटक हाम्रो बैंकले निष्काशन गरेको सेयर कारोबारले रेकर्ड कायम गरेको थियो । मतलब सेयर जारी पछि संकलन भएको रकम बैंकले अपेक्षा गरेभन्दा निकै नै बढि थियो । यो हाम्रो ब्राण्डको प्रभाव भन्ने मलाइ लाग्छ ।

मुनाफा, डिभिडेन्ट र सेवा
मेगा बैंकसँगै स्थापना भएका बैंकहरुको तुलनामा हाम्रो बैंकको नाफा माथि नै छ । नाफासँगै बैंकले लगानीकर्तालाई दिने डिभिडेन्ट पनि उत्तिकै छ । मुख्य कुरा भनेको संस्थाले दिने सेवा हो । हाम्रो बैंकले दिने सेवा सबै तह, तप्का र ओहोदाका नेपाली नागरिकले सहज रुपमा प्राप्त गर्न सक्छन् ।

मेगा बैंकले कुन/कुन क्षेत्रमा लगानी गरेको छ ?
मेगा बैंक १२ सय १९ जना सर्वसाधारण जनताको बैंक हो । हाम्रो लगानी पनि सर्वसाधारण जनताको हितको लागि भएको छ । साना तथा मध्यम स्तरका उद्योगहरुमा नै बढि लगानी गरिएको छ । हाम्रो बैंकको नाराले नै प्रष्ट पार्छ, हाम्रो बैंकको लगानी हलोदेखि हाइड्रो सम्म छ । केहि समय अघि हाम्रो बैंकले महिला प्रोत्साहन र उत्थानका लागि भनेर अन्तराष्टिय स्तरको कार्यक्रम गरेको थियो । यसमा हाम्रो बैंकले महिला उद्यमीहरुलाई अझ राम्रो उद्यमी बन्नका लागि प्रोत्साहन हुने किसिमका कामहरु गरेका थियो । त्यस्तै हामिले नेपालका विकट क्षेत्रका गाउँ गाउँमा गएर बैंकिङ साक्षारताका विषयमा तालिमहरु दिने जस्ता कामहरु पनि गरेका छौँ । यो हाम्रो बैंकको हलो तिरको लगानी हो, भने ठुला ठुला आयोजनाहरुमा पनि हाम्रो बैंकको लगानी रहेको छ । चिलिमे हाइड्रो पावर देखि अन्तराष्टिय स्तरका कार्यहरुमा पनि हाम्रो बैंकको लगानी रहेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाइ तोकेको ८ अर्व चुक्ता पुँजी पुर्याउनका लागि मेगा बैंकको योजना के छ ? कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरमा जाने यहाँहरुको योजना छ कि छैन ?
यसअघि पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँग हाम्रो बैंक मर्जर भइसकेको छ । हामीले राष्ट्र बैंकसमक्ष  बैंकको  पुँजी योजना पेश गरिसकेका छौँ । मर्जरपछिको पुँजी वृद्धिले पनि हामीलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउन सहयोग गरेको छ । यसबाहेक राइट सेयर निष्काशनबाट पुँजी संकलन गर्ने हाम्रो योजना छ । तर तत्कालका लागि अरु कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने हाम्रो बैंकको प्लान छैन । 

मेगा बैंक बलियो छ भन्ने ३ आधारहरु के के हुन् ?
कम जोखिम
मेगा बैंकले जनतासामु आफ्नो पृथक पहिचान बनाइसकेको छ । मेगा बैंकमा लगानी गर्ने लगानीकर्तादेखि बैंकका कर्मचारी, बैंकमा लगानी गर्न चाहने लगानीकर्ताहरु र व्यबस्थापन समुहसम्मका कोही कसैले पनि यो बैंक कहिँ कतै तलमाथि होला या भोलिका दिनमा मेगा बैंक नरहला भनेर चिन्तन गर्नुपर्ने कुनै विषय छैन । हामी त बैंकका कर्मचारी मात्र हौँ । उच्च आम्दानी हुने व्यक्ति तथा संस्थादेखि न्युन आम्दानी भएका व्यक्ति तथा संस्थाहरु यस बैंकका प्रोमोटरहरु छन् । त्यसैले एक व्यक्ति या कुनै एक संस्थाले बैंक बन्द गर्ने संभावना नै छैन । 

सेवा :
हाम्रो बैंक सबै नेपालीहरुको बैंक हो । संस्थामा मुल्यभन्दा सेवाको भुमिका महत्वपुर्ण हुन्छ । हाम्रो बैंक स्थापना भएकै नेपालको सुगम भेगका जनतादेखि कुनाकुनामा बसोबास गरेका नागरिकहरुलाई वित्तीय साक्षारता र बैंकिङ सुविधा उपलब्ध गराउनका लागि हो । हाम्रो बैंक स्थापनाको लक्ष्यअनुरुप अगाडि बढिरहेको छ । गाउँ गाउँमा पुगेर हाम्रो बैंकले बैंकिङ सेवा प्रदान गरेको छ । महिला, बच्चा, वृद्ध सबैले हाम्रो बैंकको सेवा प्राप्त गरेका छन् । उद्यमी बन्न चाहनेहरुलार्ई सुपथ ब्याजदरमा ऋण उपलब्ध गराएको छ, भने उद्यमी बनेर संकलन गरेको पुँजी व्यवस्थापनका लागि पनि हाम्रो बैंकले सहयोग गरेको छ ।

व्यबस्थापन टिम :
संस्था बलियो छ या कमजोर भन्ने कुराको मुल्याङ्कनको लागि व्यबस्थापन टिमको महत्वपुर्ण भुमिका रहेको हुन्छ । हाम्रो बैंकको व्यबस्थापन टिममा रहेका सबै सदस्यहरु अनुभवी तथा वौद्धिक हुनुहुन्छ । यसकारण पनि हाम्रो बैंकका हरेक निर्णयहरु सहि र समयसापेक्ष हुन्छन् । यो हाम्रो बैंकको अर्को बलियो पक्ष हो ।

rabina deshraj 1तपाईको व्यक्तिगत विषयमा केहि जानकारी दिनुहोस् न ।
मेरो जन्म नेपालमा भएपनि पढाइ भारतमा भयो । सुरुमा अर्थशास्त्र र पछि रुलर डेभलपमेन्ट विषय लिएर मैले इन्डियाबाटै पढाई गरेँ । मेरो बैंकिङ क्षेत्रको प्रवेश स्टान्डर्ड चाटर्ड बैंकबाट इन्टर्न तह देखि भएको हो । उतिबेला उक्त बैंकमा इन्टर्न भएर मैले गरेको कामले स्टान्डर्ड बैंकका सिइओ लगायत बैंक वोर्डका सबैजनाको मन जित्न सफल भएँ । त्यसपछि म त्यहि बैंकको कर्मचारी भएर काम गरेँ । केहि वर्ष पछि नविल बैंकमा काम गरियो र अहिले मेगा बैंकमा बैंकको जिम्मेवार पद लिएर काम गरिरहेकी छुँ । मेरो बिहे नेपालमै भएको हो । मेरा साथमा १७ र २३ वर्षका दुईजना छोराहरु छन् । एक छोरो आयुष्मान देशराज श्रेष्ठ जोशी जो चपलि हाइट २ को हिरो हो । अर्को छोरा आशिरमान श्रेष्ठ जोशी, ऊ पनि फिल्मि क्षेत्रमै काम गर्छ । हाल म एकल महिला हुँ । मेरो श्रीमान र म एकसाथ नबसेको ७ वर्ष भयो । मेरा छोराहरुको लागि मेरो श्रीमान बुबा हो, भने मेरा लागि हामी दुई साथी हौँ ।

एकातर्फ तपाइँ चलचित्र क्षेत्र मन पराउने व्यक्ति केहि चलचित्रमा काम पनि गर्नुभएको छ र एक मोडल पनि हुनुहुन्छ । अर्कोतिर तपाइँले एक सफल बैंकर्स भएर बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाइसक्नुभएको छ । यहाँको भोलिको राजाइको क्षेत्र कुन हुनसक्छ ?
हो तपाइँले भनेजस्तै मलाई चलचित्र क्षेत्र मनपर्छ र मैले चलचित्रको क्षेत्रमा काम गरेकी पनि छु । तर बैंकिङ क्षेत्रमा मैले २५ बर्षभन्दा बढि समय बिताइसकेँ । अहिले मलाई बैंकिङ क्षेत्र पनि उत्तिकै मन पर्छ जति चलचित्र क्षेत्र मन पर्छ । मेगा बैंकमा काम गर्न थालेपछि मेगा बैंकलाई साथमा लिएर देश तथा विदेशका सामान्य जनता र पिछडिएका महिलाहरुको हितको लागि मैले धेरै कार्यहरु गरेँ । म एक बैंकर भएपछि, जसलाई बैंकको बिषयमा ज्ञान छैन उनिहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्छ । जहाँ बैंक पुगेका छैनन्, त्यहाँ बैंकिङ सेवा तथा सुविधा पुर्याउनका लागि पहल गर्नुपर्छ भन्ने मेरो धाराण छ । त्यसैले अब म आफ्नो कर्तव्य सम्झेर सर्वसाधारणलाई बैंकिङ सेवा तथा सुविधा दिने काममा नै लाग्छु । यसर्थ नेपाली भएर जन्मेपछि नेपाल र नेपाली जनताको हितको लागि पेशागत आधरमा नै किन नहोस् सबैले अरुको हितको लागि काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]