August 11th, 2016

बैतडीबासीको दुर्भाग्य : जहाँ चल्दैन नेपाली पैसा

teraiनेपालीहरु नै नेपाली नोटबारे अनविज्ञ रहेको करा सुन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर, नेपालमा यस्ता धेरै ठाउँ छन् जहाँ नेपाली मुद्राभन्दा बढी भारतीय मुद्राको बर्चस्व छ । विशेषतः नेपाल र भारतको सीमा जोडिएका क्षेत्रहरुमा भारतीय मुद्रामा कारोबार हुने गर्दछ । कतिपय यस्ता स्थानमा त वित्तीय कारोबार नै भारतीय बैंकसँग हुने गरेका छन् । नेपाली बैंकहरुले सीमावर्ती क्षेत्रसम्म पहुँच पुर्याउन नसक्दा यसरी धमाधम नेपाली रुपैयाँ नजानिँदो रुपमा विदेश पलायन भइरहेको छ । 

नेपाली मुद्रा नचल्ने नेपाली भुभागमा पर्ने एउटा क्षेत्रको हो बैतडीको तल्लोस्वराड क्षेत्र । सदरमुकामबाट दुई दिनको पैदल यात्रापछि पुगिने उक्त क्षेत्रनजिक पछिल्लो समय सडकको पहुँच पुगेको छ । बैतडीको दुर्गम स्थलमध्येको एक यो क्षेत्रमा नेपाली मुद्रा चल्दैन । त्यसो भए यहाँका मानिसहरु कसरी कारोबार गर्छन् त ? 

भारतसँग सिमाना जोडिएको उक्त क्षेत्रमा भारतीय मुद्रामा कारोबार हुन्छ । बल्लबल्ल मोटरबाटो पुगेको यो क्षेत्रमा नेपाली मुद्राको कारोबार भित्रिन सकेको छैन । दैनिक किनमेलका लागि समेत उनीहरु भारत र भारतीय नोटमा नै निर्भर छन् । विभिन्न घाट हुँदै भारत पुगेर किनमेल गर्ने त्यहाँका अधिकांश स्थानीय नेपाली नोटबारे नै अनविज्ञ रहेको बताउँछन् । 

यसरी जिल्लाको कुलाउ, पञ्चेश्वर, महाकाली, शर्मालीलगायतका गाविसका स्थानीयहरूको दैनिक किनबेच नै भारतीय बजारबाट गर्ने भएपछि त्यहाँ नेपाली मुद्रा चल्ने त कुरै भएन । प्रायः नागरिकता र पासपोर्ट लिनका लागि मात्रै बैतडी सदरमुकाम पुग्छन् उनीहरु । नत्र अन्य किनमेलका लागि भने भारतीय बजार नै नजिक र सस्तो पनि पर्ने स्थानीयहरु बताउँछन् । त्यस क्षेत्रका अधिकांश नेपालीको रोजगारी पनि भारतका विभिन्न सहरमै हुने भएकाले पनि भारतीय रुपैयाँ बढी चल्तीमा आउँछ । 

अलि पछिल्लो समय भने अवस्था केही फेरिएको हो कि, जस्तो भान हुन थालेको छ । पाटन पञ्चेश्वर सडक खण्ड विस्तार भएसँगै सदरमुकाम केही नजिक महसुस भएपछि त्यहाँका स्थानीयवासीले नेपाली नोट चिन्न थालेका छन् । 

नेपाली बैंकहरुले दुर्गम भेगहरुमा आफ्नो पहुँच विस्तार गर्न नसक्दा नै यो समस्या देखिएको छ । यसरी दिनहुँजसो नेपालीहरु भारतीय बजारसँग जोडिँदा नेपालको अर्थतन्त्रलाई नै असर परिरहेको हुन्छ । यसलाई रोक्नु आवश्यक छ । उनीहरुलाई नेपाली बजारमा नेपाली नोटको प्रयोगबाट सामान किन्ने बनाउनु जरुरी छ । र यसका लागि सो क्षेत्रलाई वित्तीय पहुँचमा समेट्नु अति आवश्यक हुन आउँछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]