August 9th, 2016

दुर्गम रोज्दै ‘प्रभु इन्स्योरेन्स’,’सीईओ सञ्चित बज्राचार्यसँगको अन्तर्वार्ता’

प्रभु इन्स्योरेन्स हालै स्थापनाको २१ औँ वर्षमा प्रवेश गरेको छ । सुरुमा एलाइन्स इन्स्योरेन्सका नामबाट खुलेको कम्पनी पछि प्रभु ग्रुपमा प्रवेश गरेर प्रभु इन्स्योरेन्स लिमिटेड भएर संचालित छ । अहिले कम्पनीको पुँजी ३३ करोड छ । कम्पनीले केही वर्षमै पुँजी सय करोड पुर्याउने घोषणा पनि गरेको छ । यसैसन्दर्भमा यहाँसम्म आइपुग्दा सामना गरेका चुनौति र आगामी दिनका योजना सुनाइरहँदा आइपर्न सक्ने समस्याबारे सोही कम्पनीका कार्यकारी अधिकृत सन्चित बज्राचार्यसंग बैंकिङ खबर डटकमका सहकर्मी नवराज कुँवरले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिन्छ :

sanchit bajracharyaअहिलेसम्म प्रभु इन्स्योरेन्सले प्राप्त गरेका ठोस उपलब्धि के–के हुन् ?
प्रथमतः हामीले ग्राहकहरुलाई दिएको सन्तुष्टि नै हाम्रो ठोस उपलब्धि हो । यसबाहेक, २०७२ बैशाख १२ गते जुन बिनाशकारी भूकम्प गयो, त्यसताका जति दाबी भुक्तानीहरु हामीले उपलब्ध गरायौँ त्यसलाई पनि हामीले महत्वपूर्ण उपलब्धि नै मानेका छौँ ।  

ग्राहक सन्तुष्ट पार्न कस्ता चुनौतिहरु सामना गर्नुभयो ? के छन बीमा क्षेत्रमा चुनौतिहरु ?
बीमा क्षेत्रको मुख्य चुनौति भनेको जनचेतनाको कमी हो । बीमाका बारेमा धेरै नेपालीहरु अनविज्ञ छन् । फिल्डकै अनुभवलाई आधार मानेर भन्ने हो भने बीमा क्षेत्रलाई अघि बढ्नबाट रोक्ने र यसको विस्तारमा समस्या देखिनुको एउटै कारण हो जनचेतनाको कमी । जनस्तरमा यससम्बन्धी जानकारी र यसका फाइदाबारे सूचना नपुग्नु नै बीमा क्षेत्रको मुख्य चुनौति हो ।   

नेपालमा बीमा सुरु भएको निकै लामो समय भईसकेको छ । यतिबेला पनि जनचेतनाकै कमी हुनु भनेको त अझै लामो समयसम्म बीमा क्षेत्र विस्तार हुन नसक्नु हो, अब कसरी यस्ता चुनौति हटाउन सकिएला ?

ठिकै भन्नुभयो, यतिबेला पनि जनचेतनाको कमी हुनु भनेको विडम्बना नै हो । तर यत्रो समय हामीले संघर्ष गरेका छौँ । अहिले कम्तिमा ५÷७ प्रतिशत नेपालीले बीमा बुझेका छन् । बीमा गरेका पनि छन् । अब बाँकी नेपालीहरुलाई पनि बीमाबारे जानकारी गराउनुपर्छ । यसका लागि पाठ्यक्रममै बीमा साक्षरता अथवा बीमा शिक्षा समावेश गरिनुपर्छ । यसो गरिने हो भने केही लामो समय लागेपनि भविष्यमा बीमा क्षेत्र राम्रोसंग विस्तार हुन सक्दछ ।

बीमा क्षेत्रमा समस्या के छन् ?
यहाँ पनि कुरा बीमा शिक्षासंगै जोडिन्छ । यदी नेपालमा बीमा भनेको यस्तो हो र यसका फाइदा यस्ता हुन्छन् भन्ने कुरा सबैलाई थाहा हुने हो भने यहाँ अरु केही समस्या छैनन् । केही नीतिगत समस्या भए भने ती कुराहरु समयसन्दर्भ अनुसार परिमार्जन गर्दै लैजान सकिन्छ । तर यहाँ बुझाउनै गार्हो हुनु चाहिँ सबैभन्दा ठूलो समस्या हो ।

बीमा के हो ? के छन् यसका फाइदाहरु ?
बीमा जोखीम व्यवस्थापन गर्न अपनाइने एक किसिमको सम्झौता हो । बीमाको काम त्यसबेला हुन्छ, जब कसैमाथि जोखिमको स्थिति निम्तिन्छ । त्यहाँ बिमाले ठूलो संरक्षण गरेको हुन्छ । यो एउटा जोखिमसंग सम्बन्धित विषय भएकाले कहिले, कहाँ, कसरी र कति बेला हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । जोखीमबाट सुरक्षित रहनको लागि बीमा गरिन्छ । मानौँ, तपाईको एउटा प्लान्ट छ, त्यो प्लान्टले तपाईको गुजारा चलाएको छ । त्यो मर्यो अथवा ध्वस्त भयो भने आर्थिक संकट पर्छ । यदि सानो प्लान्ट हो भने खासै फरक नपर्ला र धेरै लगानी पनि नडुब्ला तर त्यो प्लान्ट मरिसकेपछि फेरी नयाँ प्लान्ट स्थापना गर्नको लागि तपाईसँग पैसा छैन भने त्यस्तो ठाउँमा बीमाले महत्वपूर्ण काम गरेको हुन्छ । यस्ता अन्य थुप्रै फाइदा बिमा गर्दा हुन्छ ।

बीमा क्षेत्रका चुनौति र समस्या निराकरणमा बीमा समितिको भूमिका कस्तो देख्नुहुन्छ ?
मेरो बिचारमा बीमा क्षेत्रका समस्या र चुनौति निराकरणका लागि बीमा समितिको ‘भाइटल रोल’ हुन्छ । बीमा समितिले आफ्नो तर्फबाट निर्वाह गरिरहेको भूमिका छ, त्यसलाई सराहनीय मान्नुपर्छ । पछिल्लो समय बीमा कम्पनीहरुले पनि पुँजी वृद्धि गर्नुपर्ने व्यवस्थाको कुरा आईरहेको छ ।

कतिको सान्दर्भिक र सम्भावित छ यस्तो व्यवस्था आएमा कार्यान्वयन हुन् ?
बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने कुरा आफैमा नकारात्मक हैन । तर त्यो आवश्यकता र समय सापेक्षरुपमा अनुसार हुनुपर्छ । अहिले तत्कालै त त्यो सम्भव नहोला । तर यस्तो अवस्था आइहालेको अवस्थामा केही गर्नुपर्छ भनेर बीमा कम्पनीहरुले सोच्ने बेला चाहिँ भएको छ ।

तपाईहरुको प्रभु इन्स्योरेन्सका आगामी योजनाहरु सुनाइदिनुस न ।
पहिलो कुरा त हामी जनचेतना वृद्धि गर्नेतिरै केन्द्रित हुन्छौँ । त्यसका लागि हामी ग्रामिण क्षेत्रहरुसम्म पुग्नेछौं । त्यहाँ पुगेर हामी हाम्रो कम्पनीको शाखाहरु विस्तार गर्ने छाँै । हामी अब राम्रोमात्रै हैन, उत्कृष्ट सेवा प्रदान गरेर अगाडी बढ्ने छौं । अनलाईन पद्धति हामीले सुरु गरिसकेका छौँ । त्यसलाई पनि ग्रामिण क्षेत्रसम्म पुर्याउनेछौं । र अरुभन्दा छिटो–छरितो सेवा प्रदान गर्नेछौं । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]