August 4th, 2016

‘राष्ट्रिय बचतपत्र’बारे सम्पूर्ण जानकारी

savingराष्ट्रिय बचतपत्र मध्यमकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका राष्ट्रिय बचतपत्र ४ र ५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गर्दछ । देशको आर्थिक विकासमा सहयोग पुर्याउन अर्थतन्त्रमा छरिएर रहेको स–सानो बचत रकम परिचालन गरी सरकारलाई आवश्यक पर्ने वित्तीय साधन जुटाउनु यस्तो बचतपत्र निष्काशन गरिन्छ । 

राष्ट्रिय बचतपत्र तोकिएको अवधिभित्र ओटीसी प्रक्रियाबाट निष्कासन गरिन्छ । राष्ट्रिय बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ । राष्ट्रिय बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ । 

कसले र कसरी किन्ने ?
राष्ट्रिय बचतपत्र सर्वसाधारण नेपाली नागरिकका अलावा समितिले तोके बमोजिमका संस्थाले खरिद गर्न सक्ने व्यवस्था छ । घटीमा १० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा राष्ट्रिय बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । प्राथमिक निष्कासनको समयमा व्यक्तिको हकमा देशभरका बजार निर्माताका साथै उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालय र संस्थाको हकमा राष्ट्रऋण व्यवस्थापन विभाग बिक्री प्रवन्धक रहने व्यवस्था छ । प्राथमिक निष्कासनका समयमा आवेदन फारम नेपाल राष्ट्र बैंकको वेबसाईटबाट डाउनलोड गरी भर्न सकिन्छ भने उपत्यका बाहिरका कार्यालय वा बजार निर्मातामार्फत पनि प्राप्त गर्न सकिन्छ । राष्ट्रिय बचतपत्र खरिद आवेदन फारम र खरिद गर्न चाहेको रकम व्यक्तिले देशभरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयमा पेश गर्न सक्दछन् भने संस्थाले खरिद गर्न चाहेको रकम राष्ट्रिय बचतपत्र आवेदन खातामा जम्मा गरी सो भौचर सहितको आवेदन फारम राष्ट्रऋण व्यवस्थापन विभाग समक्ष पेश गर्नु पर्दछ । राष्ट्रिय बचतपत्र खरिद गर्नको लागि आवेदन साथ व्यक्तिको हकमा नागरिकताको प्रतिलिपि, नाबालकको नाममा खरिद गर्ने भए नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संस्थाको हकमा संस्था दर्ता प्रमाणपत्र लगायत सोसँग सम्बन्धित तोकिए बमोजिमका अन्य कागजात पेश गर्नुपर्दछ । आह्वान रकम भन्दा कम वा बराबर आवेदन परेमा माग अनुसार र आह्वान रकम भन्दा बढी रकमको लागि आवेदन प्राप्त हुन आएको अवस्थामा खुला बजार सञ्चालन समितिको निर्णयानुसार बाँडफाँट गरिन्छ । आवेदनको साथमा रकम बुझाएको मिति देखि निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको बचतपत्रको लागि तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज पनि प्रदान गरिन्छ ।   

केके छन् सुविधा ?
व्यक्तिहरूले खरिद गरेको राष्ट्रिय बचतपत्रको दोस्रो बजार कारोबार देश भरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरू मार्फत गर्न सकिन्छ भने संस्थाको हकमा बजार निर्माता मार्फत तोकिए बमोजिम हुने व्यवस्था छ । सूचना राष्ट्रिय बचतपत्र निष्कासनको सूचना नेपाल राष्ट्र बैंकको वेबसाइट (www.nrb.org.np), राष्ट्रिय स्तरका दैनिक पत्रिका तथा अनलाइन पत्रिकाहरूमा प्रकाशित गरिन्छ । सफल आवेदनकर्तालाई प्रमाण स्वरूप तोकिएको ढाँचामा प्रमाणपत्र उपलब्ध गराइन्छ । यस्तो प्रमाणपत्र प्रमिशरी नोटद्दज्ञ वा स्टकको रूपमा आवेदन पेश गरेको कार्यालयबाट उपलब्ध गराइन्छ । आवेदन फारममा नै प्रमिशरी नोट लिने कि स्टक लिने हो खुलाउनु पर्दछ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट नै प्रदान गरिने व्यवस्था छ । 

राष्ट्रिय बचतपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिन्छ भने तोकिएको मितिमा साँवा भुक्तानी गरिन्छ । राष्ट्रिय बचतपत्रको लागि निर्धारित ब्याजको हिसाब गर्दा ३ सय ६० दिन बराबरको १ वर्ष र ३० दिनको एक महिना मानी गणना गर्नु पर्दछ । आयकर सम्बन्धी व्यवस्था राष्ट्रिय बचतपत्रमा गरिएको लगानीबाट आर्जित ब्याज आम्दानीमा आयकर लाग्दछ । राष्ट्रिय बचतपत्रको प्रमाणपत्र भुक्तानी मिति अगावै यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन दिन पाइने व्यवस्था छ । राष्ट्रिय बचतपत्रमा लगानी गर्दा ६/६ महिनामा ब्याज पाइने, चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकमको जोखिम नहुने र अप्रत्यक्ष रूपमा देश विकास कार्यमा संलग्न हुन पाइने हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]