August 5th, 2016

अन्तर्राष्ट्रिय बजारमा फैलिँदै नेपालको बीमा व्यवसाय

insuranceनेपालको बीमा क्षेत्र अब अन्तर्राष्ट्रिय बजारसम्म फैलिने भएको छ । नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरूले विदेशमा समेत सम्पर्क कार्यालय विस्तार गर्ने तयारी गरेका हुन् । विदेशमा सम्पर्क कार्यालय सञ्चालन गर्न नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कम्पनी, मेट लाइफ, गुराँसलगायतका कम्पनीहरूले प्रस्ताव गरेको बिमा समितिले जनाएको छ । समितिका अनुसार, बीमा कम्पनीहरु अधिकांश खाडीमुलुक, मलेसिया, अस्ट्रेलियालगायतका मुलुकमा सम्पर्क कार्यालय सञ्चालन गर्न इच्छुक देखिएका छन् ।  

बीमा कम्पनीलाई के फाइदा ?
विदेशमा कामदारका रूपमा रहेका नेपालीहरूलाई बिमासम्बन्धी सेवा प्रदान गर्न कार्यालय खोल्ने तयारी गरिएको बीमा कम्पनीहरुले जनाएका छन् । यस्ता कार्यालयहरुमार्फत बिदेशमा रहेका नेपाली कामदारहरुले म्यादी जीवन बिमा नवीकरण सेवा पाउनेछन् । साथै बीमा कम्पनीहरुले अन्य योजना पनि बिक्री गर्ने अवसर पाउनेछन् । यसले कम्पनीको व्यवसाय विस्तार हुनुका साथै कामदारहरू सुरक्षित रहने अपेक्षा गरिएको छ । 

व्यवस्थापिका संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा गएका कामदारको पुनः श्रम स्वीकृति तथा बीमा नवीकरणसम्बन्धी सेवा सम्बन्धित मुलुकमा गराउन निर्देशन दिएको थियो । सोहीअनुरूप समितिले पनि बीमा कम्पनीहरूलाई विदेशमा सम्पर्क कार्यालय सञ्चालन गर्न सल्लाह दिएको बताइएको छ । विदेशमा कार्यालय सञ्चालन गर्न बिमा समिति, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित मुलुकको नियमन निकायको अनुमति आवश्यक पर्छ । 

वैदेशिक रोजगारीका लागि खाडीलगायतका मुलुकहरूमा जाने नेपाली कामदाहरू दिनप्रतिदिन जोखिममा छन् । सम्बन्धित कम्पनीहरूले नेपाली कामदाहरूको सुरक्षामा चासो नराख्ने हुँदा दुर्घटनामा परेका कामदाहरूको बिचल्ली हुने गरेको समाचार आउन थालेपछि सरकारले २०६४ देखि म्यादी बिमासम्बन्धी व्यवस्था गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]