July 29th, 2016

रविन्द्र भट्टराईको विश्लेषणमा : ‘सेयर लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु’  

rabindra bhattarai 1सेयर विश्लेषक रबिन्द्र भट्टराई एउटा सफल लेखक पनि हुन् । सेयर बजारको विश्लेषणसहितका अन्य केही पुस्तकसहित ‘सेयरबाट करोडपति’ भन्ने पुस्तकमार्फत उनले सफल लेखकको छवि बनाएका छन् । पछिल्लो समय उनले बजारमा ल्याएको सो पुस्तक सेयर बजारमा लगानी गर्न चाहनेहरुको लागि निकै उपयोगी पनि छ । लामो समय सेयर मार्केटको अनुभव संगालेका भट्टराई पछिल्लो समय बढेको सेयर बजारलाई ‘अस्वभाविक’ मान्नु नपर्ने बताउँछन् । उनका अनुसार ‘सिजन’ अनुसार सेयर बजार घट्बढ भइरहेकाले लगानीकर्ता कुन अवस्थामा कस्ता कुराप्रति ध्यान पुर्याउने भन्नेबारे सचेत हुनुपर्छ । सेयर बजारमा लामो अनुभव संगालेका उनै भट्टराईसंग लगानीकर्ताले कुन अवस्थामा कस्ता कुरा ध्यान पुर्याउने भन्नेबारे बैंकिङ खबर डटकमका लागि सहकर्मी नवराज कुँवरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :  
 
पछिल्लो सेयर बजारलाई कसरी विश्लेषण गर्नुभएको छ ?
पछिल्लो समय जुन रुपमा बजार बढिरहेको छ, त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ । बजारभित्रका कम्पनीहरुको कतिपयको मूल्य हेर्ने हो भने त्यहाँ ‘अस्वभाविकता’ पनि देख्न सकिन्छ । तर समग्र नेप्से परिसूचकमा अस्वभाविकता छैन ।

अहिले सेयर बजारमा लगानीकर्ताहरु बढिरहेका छन्, यसका मुख्य कारणहरु के हुन सक्छन् ?
जति मार्केट बढ्दै गयो, त्यतिनै नयाँ–नयाँ लगानीकर्ताहरु भित्रिदै जान्छन् । किनभने बजार बढेपछि यसको प्रचार–प्रसार बढी हुन्छ । उदाहरणका लागि, बजार बढ्दै गएपछि यससम्बन्धी खबरले मिडियामा प्राथमिकता पाउँछन् । त्यही प्राथमिकतामा परेका खबरहरुका आधारमा नै नयाँ लगानीकर्ताहरु सेयर बजारतर्फ आकर्षित हुन्छन् । त्यस्तै बजार बढ्दै जाँदा मिडियासहित यसबारे चिया पसल, बाटो–घाटोमा समेत चर्चा हुन्छ । बढ्दो बजारमा छोटो समयमा हुने फाइदाको आशमा पनि लगानीकर्ताहरु सेयर बजारतर्फ प्रेरित भईरहेका छन् । सेयर बजार सबैभन्दा छिटो छिर्न सक्ने र निश्कन सक्ने व्यापार पनि भएकाले यतापछि मानिसहरुको आकर्षण बढेको हो ।

प्राविधक रुपमा पनि मार्केट अहिले अलि सहज भएको छ । डिम्याट कार्यान्वयदेखि लिएर मार्केट डेक्सका कुराहरु भए र हालैको कुरा गर्ने हो भने ब्रोकरको कमिशन घटेको छ । भलै यसको असर पूर्ण रुपमा देखिने बेला त भएको छैन तर पनि नयाँ लगानीकर्ताहरुलाई यसले थोरबहूत आकर्षित गरेको छ । यसअघि चाहिँ बैंक वित्तीय संस्थाहरुको नाफा पनि अन्य कारणहरुभित्र पर्दछन् ।

भनेपछि ब्रोकरको कमिशन घटेपछि बजारमा त्यसको प्रभाव अहिले देखिएको छैन ?
ब्रोकरको कमिशन घटाउने प्रयास निकै लामो समयदेखि गरिदै आइएकोमा ढिलै भएपनि त्यो गतसाता घट्यो । बजारको दायरा बढाउनका लागि त्यसलाई एउटा स्वागतयोग्य कुरा मान्न सकिन्छ । त्यो घटेपछि इन्डेक्समा सुधार आएको छ । यसको बाँकी असर देख्नलाई अझै केही समय कुर्नुपर्ने हुन्छ ।

लगानीकर्ता आकर्षित गर्न र बजार बढाउन डिम्याटको व्यवस्थाको प्रभाव कति छ ?
डिम्याटको व्यवस्थाले त धेरै नै सजिलो भएको छ । कागजी कामहरुलाई विस्थापित गरी इलोक्ट्रोनिक माध्यमबाट सजिलै कारोबार गर्न सकिने भएको हुनाले पनि यसले मार्केटलाई निकै सजिलो बनाएको छ । वि.सं.२०५० सालबाट मार्केट सुरु भएर अहिले २०७२ सालमा कार्यान्वयन हुँदै गर्दा लगानीकर्ताले ठूलो भारी विसाएको महशुस गरेका छन् । यद्यपी अझै पनि त्यसका केही कमजोरीहरु छन् । त्यसलाई सुधार्न जरुरी छ । तर अहिलेलाई सुरुवात हुनु नै ठूलो कुरा हो । यसमा भएका कमजोरीहरुलाई विस्तारै सुधार्दै लैजानुपर्छ ।

कस्ता कमजोरी छन् ?
केन्द्रीय निक्षेप प्रणाली (सिडिएस)मा खाता खोल्ने पहुँचको कुरा छ । त्यस्तै सूचना तथा जानकारीहरु पूर्ण रुपमा नगरिनुले भोलि त्यहाँ समस्या देखिन सक्छ । जस्तो सिडिएसको खाता खोल्दै हामीले बैंक खाता लिने गरिएको छैन । कम्पनीहरुलाई नगद लाभांस वितरण गर्दा बैंक खातामै जम्मा गरिदिनु भनेर निर्देशन गरिसकेको अवस्था छ । तर सिडिएसकै खातामा हरेक लगानीकर्ताको बैंक खाता हुने हो भने ती बैंक खातामा कम्पनीहरुले नगद लाभांश जम्मा गरिदिन्थे । तर त्यसो नहुँदाको अवस्थामा कम्पनीको पनि लागत बढ्ने र लगानीकर्ताहरुलाई पनि थप समस्या हुन सक्छ ।

त्यस्तै अर्को एउटा कमजोरी, कोहीसंग १२ कित्ता शेयर छ, कम्पनीले १० प्रतिशत बोनस सेयर दियो, १.२ कित्ता आउँछ । त्यसमा १ कित्ता डिम्याट खातामा जम्मा गरिन्छ ०.२ कित्ता त्यहाँ देखिदैन । त्यो कम्पनीको रेकर्डमा त हुन्छ तर एउटा लगानीकर्ताले उसको व्यक्तिगत खातामा त्यो देख्न पाउँदैन । ११ कित्ता सेयर बेचेपनि उसको ०.२ प्रतिशत सेयर त बाँकी नै हुन्छ । तर लगानीकर्ताको आफ्नो खातामा त्यो ०.२ कित्ता नभएकाले उसलाई मेरो सेयर अझै बाँकी छ भन्ने हुँदैन । त्यसैले त्यो बाँकी कित्ता पनि खातामा देखिने व्यवस्था मिलाउने हो भने लगानीकर्ताले ०.२ कित्तालाई पनि ख्याल गरेर कारोबार गर्न सक्थ्यो । त्यस्तै अन्य कमजोरीहरुमा खातामा सेयर आउने कुरा, खाता बन्द गर्दा, खाताबाट अर्को खातामा सेयर स्थानान्तरण गर्दा र सेयर बेच्दा लगानीकर्ताले सम्बन्धित ठाउँमै पुग्नुपर्ने प्रक्रियालगायतका कमजोरीहरु छन् । आशा गरौँ यी कमजोरीहरु विस्तारै सुधारिदै जानेछन् ।

जे भएपनि अहिले बजार बढेको छ, बजारको भविष्यचाहिँ के देख्नुहुन्छ ?
यहाँ बजार नियामक निकाय र सञ्चालकलाई म के भन्न चाहान्छु भने, मार्केट बढ्दैमा बजार विकसित भयो भनेर भ्रम नपाले हुन्छ । आज मार्केट बढ्दैमा हाम्रो बजार विकसित भएको भन्न मिल्दैन । यो मार्केट त ०६५ सालमा पनि बढेको थियो । त्यसपछि ०६८ सालमा घट्यो, फेरी अहिले बढेको छ । यसको मतलव मार्केट आफ्नो ‘साइकल’अनुसार चलिराखेको हुन्छ । तर बजारको गतिभन्दा पनि यसको विकासलाई हामीले अझै अगाडी लिएर जानुपर्छ । अहिले नेप्सेको अटेरिपन र अर्गेल्याइँ देखिएको छ । किनभने धितोपत्र बोर्डले दिएका कतिपय निर्देशनहरु नेप्सेबाट पालना भएका छैनन् । जसले गर्दा हाम्रो बजारको विकास पछाडी धकेलिएको छ ।

भनेपछि 'धितोपत्र बोर्ड र नेप्सबीच समन्वय नमिल्दा बजार जोखिममा छ' भन्न खोज्नुभाको हो ?
धितोपत्र बोर्ड नियामक निकाय हो । उसले नियम कानुन बनाउने र त्यसलाई लागु गर्न निर्देशन दिने हो । कतिपय नेप्सेका पनि कानुनका कुराहरु छन् तर मुख्य रुपमा कानुनी विकासका कुरासम्बन्धी काम धितोपत्र बोर्डले नै गर्ने हो ।  बजारलाई भौतिक रुपमा विकास गर्ने काम नेप्सेको हो । अहिले पनि मेची–महाकालीका मान्छेहरुसंग शेयर छ । कृषि विकास बैंकका शेयर किन्नेहरु मेची–महाकालीमा छन्, तामाकोशीको शेयर किन्नेहरु मेची महाकालीमै छन् । पछिल्लो समय हाइड्रो पावरका सेयरहरु दुर्गम ठाउँहरुमा पनि बाँडिएको छ । यी मानिसहरुलाई ध्यानमा राखेर नेप्सेले उसको प्रणाली विकास गर्नुपर्छ । यहाँ काठमाडौँमा नेप्सेको ‘कोठेबारी’मा बस्नेलाई मात्र हेर्ने कुरा आउँदैन । जोसंग दूरदराजमा सेयर पुगेको छ, त्यसको सुविधाको लागि पनि उसले काम गर्नुपर्छ ।

विभिन्न कारणले गर्दा पछिल्लो समय बजारको ‘भोल्युम’ बढेको देखिन्छ, तर अन्तर्राष्ट्रियकरण हुने क्रममा हाम्रो सेयर बजार छ कि छैन ?
तपाईले भनेजस्तो दुईवटा अन्तर्राष्ट्रियकरण हुन्छ । एउटा, विदेशी लगानीकर्तालाई यहाँ भित्र्याएर सेयर बजारमा कारोबार गर्न छिराउने । अर्को, विदेशमा रहेका नेपालीहरुलाई त्यहाँबाट सिधै लगानी गर्न सक्ने वातावरण मिलाउने । विदेशी लगानीकर्तालाई हाम्रो सेयर मार्केटमा भित्र्याउने अवस्थामा त हामी छैनौँ । तर विदेशमा रहेका नेपालीहरुलाई यहाँको सेयर मार्केटमा सहज पहुँच दिन सक्ने हो भने त्यतापट्टिबाट चाहीँ हामीले हाम्रो सेयर मार्केटलाई अन्तर्राष्ट्रियकरण गर्न सक्छाँै ।

यतिबेलाको अवस्थामा लगानीकर्ताहरुका लागि सेयर मार्केट कतिको सुरक्षित छ ?
सेयर बजार भनेकै ‘रिस्क’को व्यापार हो । यसमा लगानी सुरक्षाको ग्यारेन्टी हुँदैन । यहाँ हरेक समय, हरेक व्यक्तिलाई जोखिम छ । मैले हिजो धितोपत्र बोर्डका कुराहरु पनि सुनिरहेको थिएँ, बोर्डका अध्यक्षले यहाँ साना लगानीकर्ता, नयाँ लगानीकर्तालाई जोखिम छ भन्दैहुनुहुन्थ्यो । तर म भन्छु, यहाँ सानालाई मात्रै हैन ठूला लगानीकर्तालाई पनि जोखिम छ ।

सेयर बजारमा नयाँ लगानीकर्ताहरुले कस्ता कुराहरुप्रति ध्यान पुर्याउनुपर्छ ?  
दोश्रो बजारमा अहिले नयाँ लगानीकर्ताहरु छिरिरहनुभएको छ । मैले आफुले तालीम दिने क्रममा पनि कतिपय नयाँ लगानीकर्ताहरुलाई भेटिरहेको छु । तर उहाँहरु पैसा लगाईसकेपछि आउनुभएको पाउँछु । यसको मतलव उहाँहरु हल्लाकै पछि लागेर मार्केटमा छिर्नुभएको हो । यसरी बाहिरी हल्लाको पछि लागेर मार्केटमा छिर्नु भनेको ठूलो रिस्क लिनु हो ।

त्यसो भए लगानीकर्ताले मार्केटमा छिर्नुअघि कुन–कुन कुरालाई ध्यान दिनुपर्छ ?
सबैभन्दा ठूलो कुरा त शिक्षा नै हो । बजारसम्बन्धी केही दिन अध्ययन गर्नुपर्छ । आफै मार्केटमा जानुपर्छ, त्यहाँको अवस्था बुझ्नुपर्छ । केही पनि नबुझिकन मार्केटमा गएर लगानी गर्ने एउटा ‘अनभिज्ञताको रिस्क’ले लगानी डुब्न सक्छ । त्यसैले मार्केटमा त्यहाँको अवस्थाबारे बुझेरमात्रै लगानी गर्नुपर्छ । बजारमा अझै अरु दुई वटा जोखिम हुन्छन् । कम्पनी डुब्दाको जोखिम र मार्केटमा गिरावट आउँदाको जोखिम । यी जोखिमहरुबाट बच्नका लागि अध्ययनको एकदमै जरुरी हुन्छ । मार्केट के हो, कम्पनी के हो ? कसरी कम्पनीले फाइदा दिन्छ भन्ने कुरा जान्नुपर्यो । त्यसपछि मार्केटमा प्रवेश गरेर सेयर किन्नुपर्यो । त्यो किन्दा पनि आफ्नो क्षमताअनुसार किन्नुपर्छ । अरुले कति लगानी गर्यो र कति कमायो भन्ने पाटोबाट लगानी गर्दा जोखिम उच्च हुन सक्छ ।

तेश्रो, अनुभवको कुरा हुन्छ । बजारमा छिरिसकेपछि थोरबहुत जोखिम हुन्छ । त्यहाँ आएको उतारचढावबाट आत्तिनुहुँदैन । पोखरीमा छिरिसकेपछि पानी तातो–चिसोको महशुस हुन्छ नै । त्यसबाट हतास भएर ‘ब्याक’ हुन खोज्नुहुँदैन । अनुभवकै लागि पनि थोरबहुत कारोबार गर्दै गर्नुपर्छ । र अर्को ‘एक्जिट’ को कुरा छ । बजारबाट निस्कँदा कि फाइदा लिएर निश्कने वा घाटा सहेर अथवा साँवामात्रै भएपनि लिएर निस्कने । तीन किसिमका एक्जिट हुन्छन् । त्यसैले कुन किसिमको एक्जिट आइपरेको अवस्थामा के गर्ने भन्ने कुरा बुझ्नुपर्छ ।

लगानीकर्ताले ध्यान पुर्याउनै पर्ने अर्को महत्वपूर्ण कुरा भनेको आफुले लगानी गर्दै गरेको कम्पनीको वित्तीय अवस्थाबारे राम्रोसंग बुझ्नुपर्छ । यदी आफुले लगानी गर्न लागेको कम्पनीबारे नबुझि हल्लाकै भरमा लगानी गर्नतिर लागियो भने त्यहाँ ठूलो जोखिम हुन सक्छ । त्यसैले कम्पनी छानेर लगानी गर्ने हो भने अहिले मार्केटमा धेरै सस्ता कम्पनीहरु पनि छन् । कति कम्पनी यस्ता पनि छन्, जसको वित्तीय अवस्थाले त्यो मूल्यलाई थेग्न सक्दैसक्दैन । भोलि ती कम्पनीहरु मूल्यका हिसाबले छिटै धरासायी हुन सक्छन् ।

सेयर बजारका पुराना लगानीकर्ताहरु एउटा कुनामा बसेर कम्पनीहरु हेरिरहेका हुन्छन्, तर नयाँ लगानीकर्ताहरु भने मार्केटमा अलि अपरिपक्व र हतारमा होमिने गरेकाले अलि बढी जोखिम हुनेजस्तो देखिन्छ, तपाई के देख्नुहुन्छ ?
मेरो विचारमा मार्केटमा नयाँ र पुराना लगानीकर्ता दुवैलाई जोखिम छ । तर पुरानासंग अलि बढी अनुभव हुन्छ । उनीहरुले कहाँ कति जोखिम भन्ने कुरा विश्लेषण गर्न सक्छन् । त्यसैले स्वभाविक रुपमा नयाँले अलि बढी जोखिम मोल्नैपर्छ ।

तपाई त लेखक पनि हुनुहुन्छ, सेयर मार्केट, यहाँभित्रको कारोबार, सफलता, असफलतालाई समेटेर यहाँले कितावहरु पनि लेख्नुभाको छ । पछिल्लो पटक ‘सेयरबाट करोडपति’ले पनी राम्रो ‘कारोबार’ पनि गर्यो, त्यो कितावको सार सटिकमा भन्दिनुस् न ।
सेयरबाट करोडपति भन्ने किताव नयाँ लगानीकर्ताका लागि एकदमै उपयोगी छ । यसमा सेयर बजारमा प्रवेशदेखि एक्जिटसम्मको अवस्थाबारे लेखिएको छ । सेयर मार्केटमा छिर्न चाहानेहरुले यसलाई राम्ररी अध्ययन गर्ने हो भने यसले निकै सहयोग पुर्याउँछ । सेयर बजारमा सूचना र स्रोत, सरकारी ऋणपत्र, ब्रोकर छनौट गर्ने तरिका, खरिद बिक्रीआदेश दिने तरिका, बजार निर्माता, केन्द्रीय निक्षेप प्रणाली, सेयर बाँडफाँड तरिका, क्रेडिट रेटिंग लगायतका विषयमाथी गहन विश्लेषण गरिएको छ । त्यस्तै सेयर छनौट गर्ने तरिका, कम्पनी विघटन वा खारेजी, शेयरमा किन लगानी गर्ने, लगानीका मन्त्रहरुलगायतका लगानीकर्तालाई अति आवश्यक पर्ने जानकारीहरु कितावमा छ ।

रबिन्द्रजी, अन्तिममा बजारमा छिर्न चाहने र छिरिसकेका लगानीकर्ताहरुलाई केही भन्न चाहानुहुन्छ ?
उहाँहरुलाई मेरो पहिलो अनुरोध, सेयर मार्केटमा छिर्नुअघि यथेष्ठ जानकारी लिनुहोस् । हल्लाका भरमा हतारिएर नछिर्नुस् । मार्केटले तपाईलाई १२ महिनानै अवसर दिइरहेको हुन्छ । सेयर मार्केट भनेको दुई महिनापछि बन्द हुने वा निश्चित समयको व्यापार हैन । यहाँ सँधैभरि कारोबार भईरहन्छ । बजारमा कहिले कम्पनी सस्तो भईरहेका हुन्छन्, कहिले महंगो भईरहेका हुन्छन् । त्यहाँ कुन कम्पनी कस्तो भनेर चिन्नुपर्छ । ‘मैले राख्ने सेयर र बेच्ने सेयर’ भनेर छुट्याउन सक्नुपर्छ । ती सबै कुरा छुट्याउन सक्ने हुनु भनेको शिक्षाले नै हो । त्यसैले शिक्षा लिएरमात्र सेयर बजारमा छिर्नुहोला भन्न चाहन्छु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]