July 28th, 2016

लघुबिमा कम्पनी खोल्ने तयारीमा बीमा कम्पनीहरु

insuranceबीमा कम्पनीहरुले छुट्टै लघुबिमा कम्पनी स्थापना गर्ने भएका छन् । जीवन बिमा, निर्जीवन बिमा तथा पुनर्बिमा कम्पनीको संयुक्त लगानीमा छुट्टै लघुबिमा कम्पनी खोल्ने तयारी गरिएको बिमकहरूले बताएका छन् । उनीहरूका अनुसार पुनर्बिमा कम्पनीको नेतृत्वमा ५० करोड रुपैयाँ बराबर चुक्ता पुँजी भएको लघुबिमा कम्पनी खुल्नेछ । जसरी बैंकहरूले लघुवित्त बैंकमार्फत विपन्नवर्गमा कर्जा लगानी गरिरहेका छन्, त्यसैगरी बिमा कम्पनीहरूले लघुबिमा कम्पनीमार्फत लघुबिमा योजना जारी गर्नेछन् । 

सरकारले चालू आर्थिक वर्ष ०७२/७३ को बजेटमार्फत बिमा कम्पनीहरूले अनिवार्य रूपमा ५ प्रतिशत लघुबिमा जारी गर्नुपर्ने प्रावधान राखेको छ । तर, बिमा कम्पनीहरूले एकै पटक पाँच प्रतिशत लघुबिमा जारी गर्न नसक्ने बताइरहेका छन् । अहिले कै अवस्थामा लघुबिमा योजना जारी गर्न कम्पनीहरूलाई असहज हुने भएकाले छुट्टै लघुबिमा कम्पनी स्थापना गर्ने निर्णय गरेको बिमकहरुले बताएका छन् । बिमा समितिले भने यस विषयमा आफू जानकार नभएको बताएको छ ।

समितिले जीवन बिमाअन्र्तगत दुइटा तथा निर्जीवनअन्तर्गत तीनवटा लघुबिमा योजना जारी गरेको छ । लघुबिमा निर्देशिका २०७१ अनुसार १ सय ५० रुपैयाँमा दुर्घटना लघुबिमा योजना खरिद गर्न सकिनेछ । यस योजनाको बिमांक रकम भने १ लाख ५० हजार रुपैयाँ छ । बिमितले बिमांक रकमको ०.१ प्रतिशत बिमा शुल्क भुक्तानी गर्नुपर्ने छ । त्यस्तै, ५ सय रुपैयाँमा गार्हस्थ्य लघुबिमा योजना खरिद गर्न सकिनेछ । यो रकम बिमांक रकमको ०.२५ प्रतिशत हो । यस योजनाको बिमांक रकम २ लाख रुपैयाँसम्म हुनेछ । स्वास्थ्य लघुबिमा योजनाको बिमा शुल्क १४ सय छ । यो रकम बिमांक रकमको ४ प्रतिशत हो । यस योजना खरिद गरेबापत एक परिवारका पाँच जना सदस्यले ३५ हजारसम्मको स्वास्थ्य उपचार पाउन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]