July 27th, 2016

‘शेयरमा लगानी गर्दा यस्ता कुरामा ख्याल गरौँ’

narendra-man-shresthaनरेन्द्रमान श्रेष्ठ – पुँजी बजारको पछिल्लो अवस्थालाई नियाल्ने हो भने शेयर बजारमा लगानीकर्ताहरु बढिरहेका छन् । आईपीओ प्राथमिक शेयरमा होस् वा दोस्रो बजारमा होस्, लगानीकर्ताहरूको आकर्षण बढिरहेकै पाइन्छ । पछिल्लो समयमा प्राथमिक शेयरमा आवेदन दिनेहरूको भीड, नेप्सेले नयाँ रेकर्डहरू कायम गरेको र नेप्सेमा दिनको लगभग पौने तीन अर्ब रुपियाँ बराबरको कारोबारले पनि लगानीकर्ताहरूको आकर्षण बढेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । तर दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरू भने सचेत हुनुपर्ने देखिन्छ ।
 
पछिल्लो समयमा कम्पनीले प्राथमिक शेयर जारी गरेपछि आवेदन दिनेहरूको भीड लाग्ने गरेको छ । माग गरेभन्दा कैयौं गुणासम्म आवेदन पर्ने बताइन्छ। यसमा साना लगानीकर्ताहरूदेखि ठूला र कर्पाेरेट लगानीकर्ताहरूको समेत आकर्षण रहेको देखिन्छ । तर अब सामूहिक लगानीकर्ताहरूले भने प्राथमिक शेयरमा लगानी गर्न नपाउने भएका छन् भन्ने चर्चा छ । प्राथमिक शेयर जारी गर्दा ५ प्रतिशत सामूहिक लगानीकर्ता म्युचल फन्डहरूलाई छुट्याइने व्यवस्था थियो । अब भने यो व्यवस्था हट्ने चर्चा छ । यसबाट सर्वसाधारण लगानीकर्ताहरूलाई केही राहत हुने देखिन्छ ।
 
पछिल्लो समयमा प्राथमिक शेयरमा आवेदन दिने लगानीकर्ताहरूको चापले गर्दा आईपीओमा आवेदन दिने लगानीकर्ताले सास्ती भोग्नुपरिरहेको छ । लगानीकर्ताहरूले आवेदन संकलन केन्द्रहरूमा घाम–पानी नभनी घण्टौं लाइनमा बस्नुपरेको छ । लगानीकर्ता बढेपछि भीड हुनु त स्वाभाविक हो तर पनि आवेदन संकलन केन्द्रहरूको कमी, संकलन केन्द्रमा व्यवस्थापनको कमोजोरी, जनशक्तिको कमी आदि र झोले प्रवृत्तिका कारणले साना लगानीकर्ताले सास्ती भोग्नुपरिरहेको हो । आवेदन संकलन केन्द्रहरूको संख्यामा वृद्धि र व्यवस्थित गर्न सकेको भए साना लगानीकर्ताका लागि सहज हुने थियो । त्यसो त आवेदन दिनेहरूको भीडका कारणले कम पुँजी संकलन गर्नेहरूका लागि प्राथमिक शेयर निष्कासन खर्चिलो हुने बताइन्छ । सायद यस कारणले नै कम मात्र संकलन केन्द्रहरूको व्यवस्था गरेको हो कि ? जे भए पनि प्राथमिक शेयर जारी गर्ने आरटीएस कम्पनीहरूले बढी आवेदन संकलन केन्द्रहरूको व्यवस्था गरी सर्वसाधारण आवेदनकर्तालाई आवेदन दिन सहज बनाइदिनुपर्छ । यसमा नेपाल धितोपत्र बोर्डको पनि ध्यान जानुपर्दछ । आरटीएसहरूले सीमित मात्र संकलन केन्द्रको व्यवस्थाले गर्दा माइक्रो फाइनान्स र खानीखोला हाइड्रो पावरको आवेदन दिने सर्वसाधारण लगानीकर्ताले दिनभरिजसो लाइनमा बसेर आवेदन बुझाउनुपर्यो ।
 
प्राथमिक शेयरमा लगानी गर्दा जोखिम कम हुने र न्यूनतम ५ हजारदेखि लगानी गर्न सकिने भएकाले भएकाले साना लगानीकर्ताहरू बढी आकर्षित हुने गरेका हुन् । प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण बढे पनि यसमा केही अनिमियता हुने गरेको चर्चा पनि चल्ने गरेको छ । आवेदन दिने मिति सकिए पनि केही संकलन केन्द्रको केही स्टाफसँगको मिलेमतोमा ठूला लगानीकर्ताले आवेदन दिने गरेको भनेर पनि चर्चा चल्ने गरेको छ । साथै प्राथमिक शेयर आवेदनमा धेरै जनाको नागरिकताको फोटोकपी संकलन गरी एकै जनाले धेरै प्रति आवेदन गर्ने गरेका कारणले पनि साना लगानीकर्ताले सास्ती भोग्नुपरेको छ। यसले साना लगानीकर्तालाई शेयर नपर्ने सम्भावना पनि रहन्छ भने यस्ता झोले आवेदन दिनेहरूलाई बढी शेयर पर्ने सम्भावनासमेत रहन्छ। आवश्यकताभन्दासय २ सय गुणा बढी आवेदन पर्ने यस्तै झोले प्रवृत्तिले नै हो ।
 
नेपाल धितोपत्र बोर्डले केही नियमहरू बनाएको पनि छ । प्राथमिक शेयरमा आवेदन गर्दा एउटै चेकबाट एकाघरका परिवारको बाहेक अरूको आवेदन दिन नपाउने नियम लागू गरेको छ। आगामी साउन १ गतेबाट प्राथमिक शेयरमा आवेदन दिँदा अनिवार्यरूपमा डिम्याट नं. उल्लेख गर्नुपर्ने भएको छ। लगानीकर्ताहरूलाई परिचयपत्रको व्यवस्था गरिने भनेर पनि चर्चा चलेको छ । त्यसै गरी एएसबीए (एप्लिकेसन सपोर्टेड बाई एकाउन्ट) प्रणाली लागू गर्ने भएको छ । यो सेवा लागू भएपछि लामो विवरण भएको फाराम भर्नु नपर्ने, आवेदन फाराममा उल्लेख गरिए बराबरको रकम आवेदकको बैंक खातामा नै ब्लक गरिदिने र शेयरको बाँडफाँडपछि शेयर परे बराबरको रकम खातामा कटाई खातालाई ओपन गरिदिने व्यवस्था हुने बताइन्छ । यो व्यवस्था लागू भएपछि यसबाट लगानीकर्तालाई सजिलो हुने र अहिलेको जस्तो झोले प्रवृत्ति कम हुने सम्बन्धित सरोकारवालाको भनाइ छ । यसले गर्दा लगानीकर्तामा उत्साह थपिने र शेयर बजार अझै बढ्ने देखिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]