July 26th, 2016

महँगो व्याजको प्रलोभनमा ‘फस्दै लघुवित्त बैंकहरु’

economic (1)लघुवित्त संस्थाले प्रवाह गर्ने कर्जामा पछिल्ला दिनमा समस्या बढिरहेको छ । तथ्यांकअनुसार लघुवित्त संस्थामा भाखा नाघेको कर्जा शतप्रतिशतले बढेको छ । चैतसम्ममा यसरी भाखा नाघेको कर्जा परिमाण ९० करोड ६५ लाख ७४ हजार रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ९२.५५ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमासमा ३६ लघुवित्त संस्थाहरूले प्रवाह गरेको कर्जामध्ये ४७ करोड ८ लाख १७ हजार रुपैयाँबराबरको कर्जाको मात्र भाखा नाघेको थियो । 

यसरी फस्दैछ लघुवित्तको कर्जा लगानी
लघुवित्त संस्थाहरूले बिनाधितो कर्जा प्रवाह गर्ने गर्दछन् । यसले गर्दा पनि लघुवित्तले प्रवाह गरेको कर्जा समयमै फिर्ता नआउने जोखिम बढिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिनाधितो कर्जा प्रवाह गर्ने ४१ लघुवित्तमा भाखा नाघेको ऋणीको संख्या ६३ हजार ४ सय ८६ जना पुगेको छ । समयमा ऋण नतिर्ने ऋणीको संख्या पनि गत आवको चैत मसान्तसम्मको तुलनामा धेरै हो । गत आवमा यसरी ऋण लिई तिर्न ढिलो गर्ने ऋणीको संख्या ३२ हजार ७ सय ४२ मात्र थियो । गत आवमा सबैभन्दा धेरै भाखा नाघेको कर्जा नेपाल ग्रामीण विकास बैंक रहेको छ । बैंकको ३६ करोड ८५ लाख रुपैयाँ भाखा नाघेको कर्जा छ ।

महँगो व्याजको लोभ
लघुवित्त बैंकहरु अहिले २० प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दै आइरहेका छन् । महँगो व्याजदर पाइने भएकाले जतिसक्दो धेरै कर्जा लगानी गरेर छिटै समृद्ध बन्ने होडमा लघुवित्त बैंकहरु लाग्दा समग्र संस्था नै जोखिममा पर्ने स्थिती देखिएको छ । धेरै व्याज पाइने लोभमा आफूबाट ऋण लिएको ऋणीले सो रकम फिर्ता गर्न सक्ने आधारहरु केके छन् भनेर नै नखोजिँदा यस्तो समस्या देखा परेको हो । लगानी गर्ने समयमा आफूले लगानी गरेको रकम नउठेको खण्डमा के गर्ने भन्ने पूर्वयोजना नबनाई नाफामुखी भएर लाग्नाले आज लघुवित्त बैंकले प्रवाह गरेका अधिकतम कर्जा असुली हुन सकेको छैन ।

समान्यतयाः कर्जाको समयावधि भन्दा पनि कर्जा प्रवाह गरेको ३ महिना नाघेपछि त्यो कर्जालाई भाखा नाघेको कर्जामा राखिन्छ । हरेक वर्षको चैत महिना कर्जाको भाखा धेरै नाघ्ने गर्दछ । किनकि, त्यो समयमा कृषक हिउँदे खेतीको समयमा हुने भएकाले कर्जा चुक्ता गर्न सक्दैनन् । लामो समयसम्म चलेको तराई आन्दोलनका कारण चालू आवको तेस्रो त्रैमासमा भाखा नाघेको कर्जा बढेको लघुवित्त बैंकहरु बताउँछन् ।


लघुवित्तबाट दिएको ऋणको दुरुपयोग
लघुवित्त बैंकबाट ऋण लिएर थुप्रै महिला तथा कृषकहरु व्यावसायिक उद्यमी बनेका छन् । तर, लघुवित्त बैंकबाट ऋण लिएर अनुत्पादक काममा खर्च गर्ने जमातको पनि कमी छैन । राष्ट्र बैंकका अनुसार माइक्रोफाइनान्सको सुविधा उपभोग गर्नेमा धेरै तराईका कृषक छन् । तराई जिल्ला दाइजो प्रथाको समस्याले नराम्ररी गाँजिएको क्षेत्र हो । त्यसैले, लघुवित्तबाट लिएको ऋणलाई यहाँका कतिपय महिलाले छोरीलाई दाइजो दिन ऋण लिने, श्रीमान्का लागि खर्च जुटाइदिने, विदेश जानका लागि खर्च जुटाउने जस्ता अनुत्पादक काममा समेत प्रयोग गर्ने गरेको पाइन्छ । 

रौताहट जिल्लाकी विना कुस्वाहा भन्छिन्, “लघुवित्तले हामीजस्ता थुप्रै महिलालाई उद्यमी बनाएको छ । तर, कतिपय महिलाले लघुवित्तबाट पैसा लिएर अन्य क्षेत्रमा खर्च गरेका पनि छन् । खासगरी तराईका महिलाहरु घरभित्रकै काममा सिमित हुने भएकोले महिलाहरुले  लघुवित्तबाट ऋण निकालेर श्रीमान्लाई खर्च गर्न दिजे गरेका छन् । गरीब र विपन्न वर्गका मानिसले जर्बजस्ती लघुवित्तबाट ऋण निकालेर दाइजो दिने गरेका छन् । थोरै व्यक्तिले मात्र लघुवित्तको पैसा उद्यमी क्षेत्रमा प्रयोग गर्छन तर अधिकांशले दाइजोलाई नै प्राथमिकतामा राख्छन् । मैले पनि गत बर्षमात्रै छोरीको बिहे गरिदिएँ । दाइजो नदिए छोरीको विहे नै हुँदैन । दिउँ भने खानलाउनको समेत दुःख छ । तराईका समुदायको चलन नै त्यस्तै भएकोले लघुवित्तबाट झिकेको पैसा दाइजोमा खर्च गरेकी थिए ।” 

यसरी लघुवित्तबाट लिएको ऋण उत्पादनमूलक क्षेत्र तथा कुनै उद्यममा नलगाए उनीहरुले समयमै सो रकम तिर्न सक्दैनन् । किनकि आम्दानीको अन्य भरपर्दो स्रोत नहुने वर्गले नै लघुवित्त बैंकबाट ऋण लिने गर्दछन् । त्यसैले, धितोबिना कर्जा दिने भएकाले संस्थाहरू पनि चनाखो र होसियार भएर लगानी गर्नुपर्छ । प्रतिकूल परिस्थितिको जोखिम व्यवस्थापन गर्न संस्थाले सक्नुपर्छ । आफूले दिएको कर्जा उपभोक्ताले कुन क्षेत्रमा खर्च गरिरहेका छन् भन्ने कुराको समेत संस्थालाई ज्ञान हुनुपर्छ । यसरी लघुवित्तको कर्जाको दुरुपयोग हुन नदिन ठोस कदम चालिनु आवश्यक छ । 


जोखिमबाट बच्न लघुवित्त संस्थाले के गर्ने ?
लघुवित्त कम्पनीले प्रवाह गरेको कर्जाले भाखा नाघ्नु भनेको संस्थालाई नै खतरा हुनु हो । कर्जाको भाखा नाघेको अवस्थामा संस्थाले जोखिम व्यवस्थाबाट रकम छुट्याउनुपर्छ । भाखा नाघेको कर्जाको अंशले नै संस्थाले प्रवाह गरेको कर्जाको अवस्थालाई दिशा स्पष्ट गर्छ । लघुवित्त संस्थाले प्रवाह गरेको कर्जाको जोखिम बढ्ने देखिएपछि त्यसको लागि अनिवार्य ‘प्रोभिजनिङ’ पनि गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षको चैतसम्ममा ४१ लघु वित्तीय संस्थाले एक अर्ब ३२ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था पनि गरेका छन् । ऋणीले कर्जा चुक्ता गर्नुपर्ने मितिको ९० दिन नाघेको खण्डमा भाखा नाघेको कर्जा मानिन्छ । त्यसमा संस्थाले ९१ दिनको कर्जाका लागि कुल कर्जा रकमको २५ प्रतिशत ६ महिनाकोलाई ५० प्रतिशत र एक वर्ष बढी नाघेकोलाई सय प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]