February 2nd, 2016

सरकारले कृषिमा ‘प्याकेज प्रोग्राम’ बनाउँदै : ‘व्यबसायीकतालाई लगानी जरुरी’

yogendra kumar karkiनेपाललाई कृषिप्रधान देश भनिएतापनि नेपालमै उत्पादित कृषि खाद्यान्नले नेपालीको पेट भर्न सकिरहेको छैन । नेपालीहरु सबै आयातित खाद्यान्नमा बानी परेका छन् । आफ्ना खेतबारी बाँझै राखेर विदेशबाट आयातित खाद्यान्नले पेट भरिरहेछन् नेपालीहरु । उनीहरु भन्छन्, सरकारले ती खाली जमिनमा लहलह बाली फलाउन लगानी गरिदिनुपर्यो, अनुदान चाहियो, ऋण चाहियो आदि इत्यादि । आफ्ना खेतबारी बाँझो राखेर विदेशिनेहरुलाई तीनै खेतबारीमा फर्काउन सरकार के गरिरहेछ भन्ने प्रश्न सर्वसाधारणको छ । अर्कोतिर सरकार भन्छ, हामीले गरेको लगानी पूर्ण रुपमा प्रयोग हुने कुरामा हामीलाई शंका छ । यसरी हेर्दा, पहिले सरकारले लगानी गरोस् भन्ने जनता चाहान्छन् भने जनताले आँट देखाएपछि न हामीले साथ दिने हो भन्ने विचारमा सरकार रहेको छ । खासमा दोष कसको त ? नेपालमा कृषिलाई आर्थिक समृद्धिको आधारशिलाका रुपमा विकास गर्न जनताको हात के हुने र सरकारको के ? मिडिया इन्टरनेसनलले हालै राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा आधारित रहेर कृषि विकास मन्त्रालय योजना महाशाखा प्रमुख योगेन्द्र कुमार कार्कीले गरेको नेपालमा कृषि लगानी र कृषि कर्जासम्बन्धि विश्लेषण यहाँ प्रस्तुत गरिन्छ । 

व्यवसायिकता चाहियो
समग्र कृषि क्षेत्रको कुरा गर्दा म आफैँ पनि एक कृषकको छोरो भएको नाताले मैले पनि कृषिको व्यवसायिकताको लागि परेका समस्याहरुलाई नजिकबाट नियाल्न सकेको छु ।  नेपालको भैगोलिक बनोटलाई ध्यान दिने हो भने संसारका सबै प्रकारका बालीनाली, पशुपन्छि तथा जडिबुटिको लागि यो देशको माटोमा सम्भव छ । त्यस्तै, कृषि उत्पादनदेखि बजारीकरणसम्म सहजै सम्भव छ । यहाँको उत्पादनको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गरेर नेपालले आर्थिक रुपमा ठूलो फड्को मार्न सक्ने सम्भावना मैले देखेको छु ।  नेपालका जडिबुटि लगायत याक, भेडा,सुन्तला होस् वा खुर्सानी; कफी, अलैची, चिया या अदुवा; गाईपालन, बंगुरपालन, बाख्रापालन या माछापालन सबै व्यवसायको राम्ररी विकास गर्ने प्लाटफर्म नेपालमा छ । यसका लागि हामीले व्यवसायिकतालाई रोज्न जरुरी छ ।  तराईका जिल्लाहरुमा तेलहन बाली, धान, गहुँ, मकै लगायतका बालीहरुको राम्रो सम्भावना रहेको छ भने त्यहाँ त्यसकै खेती गरियोस । अरु जिल्लाहरुमा पनि माटो र हावापानीअनुसारको खेती गरियोस् अथवा त्यही अनुसारको व्यवसायो गरियोस् । पहाडी क्षेत्र चिया कफी वा बेसार वा अलैचीले भर्न सकिन्छ । हिमाली भेग औषधिको भण्डार र तराईका फाँटहरुमा अन्नबालिको उत्पादन गरे हामी  अघि बढ्न सक्छौँ । यसो भयो भने कृषिमा व्यवसायिकता आउनेछ ।

आत्तिनु व्यर्थ
अहिले हामीलाई करिब ५० लाख मेट्रिक टन धानको आवश्यकता पर्नेमा साँढे ४७ लाखको हाराहारीमा मात्रै उत्पादन हुने गरेको छ । बाँकी सबै आयात गर्ने गरिएको छ । नेपालका करिब १४ देखि १६ लाख हेक्टरमा धान बाली लगाइने गरेका छन्  । यसभन्दा बढी धान उत्पादन गर्न सक्ने क्षमता हामीसँगै छ । मित्रराष्ट चिन र भारतको कुरा गर्ने हो भने  ३.३५ मेटिकटन प्रतिहेक्टरको उत्पादन भैराखेको छ । करिब ३.३५ प्रतिशत मात्रै  हामीले उत्पादन बढाएको खण्डमा पनि हामीले  हामीलाई पुग्ने मात्रामा अर्थात ५१ को हाराहारीमा हाम्रो उत्पादन बढाउन सक्छौँ । मकैको कुरा गर्ने हो भने करिब ८९ लाख हेक्टरमा उत्पादन हुने गरेको छ । हामीले  उत्पादन गरेको मकैले नपुगेर हाल हामीले करिब ६७ अर्बको हाराहारीमा मकै  आयात  गर्ने गरेका छौँ । दलहन, तेलहन पनि करिब ४ अर्बको  हाराहारीम आयात गर्ने गरेको तथ्यांक छ । त्यस्तै, तरकारीमा पनि करिब ६७.६८ करोडको हाराहारीमा आयात  गर्ने गर्छौँ ।  तर यि सब आयातका  पाटोहरुलाई नियाल्ने हो भने हामीले  आज  गर्ने  आयातलाई प्रतिस्थापन  गर्न सक्छौँ । त्यसका लागि  हामीसँग पूर्वाधारको विकास हुनुपर्छ  । यसका अलावा व्यवसायिकतामा जाने हो भने त्यस किसीमका समस्या आउँदैन । त्यसैले  हामी आत्तिनु जरुरी छैन । हामीसँग प्रशस्त सम्भावनाहरु रहेका छन् ।

प्रशस्त चुनौती
हामीसँग भएका सम्भावनाहरुलाई हेर्ने हो भने चुनौतीलाई केलाउनुपर्छ । यस क्रममा पनि ससाना व्यवसाय भन्दा पनि राम्रो लगानीमा स्थापित उद्योगहरुले निरन्तर रुपमा काम गर्न सकेको उदाहरण हामीसामू प्रशस्तै छन् । कृषि क्षेत्रमा नीजि तथा सरकारी लगानी अत्यन्त न्यून  मात्रामा रहेको छ । ४ प्रतिशत भन्दा बढि बजेट पाउन नसकेको यथार्थका बिच  हामी कृषिमा व्यवसायिकताको लागि कुरा गरिरहेका छौँ । अब क्रमिक रुपमा हाम्रो लगानी बृद्धि हुदै गईरहेको छ । यसका साथै हामीकहाँ सरकारी लगानी पनि बढेको छ । बैंकिङ सेक्टरको बजेटलाई पनि नीति नियमबद्ध ढंगले कृषिमा लैजानुपर्छ र देशको सम्मुन्नतीको लागि कृषिको विकास गर्नुपर्छ । अहिले विगत २ वर्षदेखिको तथ्यांक हेर्दा धेरै नीतिनियम संगत तवरबाट मात्रै हाम्रो विकास भईरहेको छ । उदाहरणको लागि हेर्न हो भने कृषि पेशामा लाग्ने किसानहरु नपढेको नियम नबुझेको तथा थोरै लगानी गर्न पनि अन्कनाउने जस्तो स्थितीबाट आज विदेशमा कृषि अध्ययन गरेर नेपालमा आएका वैज्ञानिक, कृषिविज्ञ तथा विदेशमा केहि पैसा कमाएर नेपालमा आएर व्यवसाय सञ्चालन गर्ने उद्यमी, पत्रकार, राजनीतिज्ञ, जस्ता व्यक्तिहरु कृषि कर्ममा होमिएको अवस्थासम्म आइपुगेका छौँ । यसर्थ, कृषिको विकासका लागि  होमिएको यो जोसले पक्कै पनि नेपाल सरकारलाई कृषि विकासमा ध्यान पुर्याउन झकझकाउने छ  ।

सरकारका कर्तव्य
कृषकले मात्र नभएर सरकारले पनि यस सम्बन्धमा गौर गर्नु अत्यावश्यक हुन आउँछ । कृषिका क्षेत्रमा बनाइएको नितीहरुलाई राम्ररी अध्ययन गरेर कमीकमजोरी सच्याई त्यसलाई कार्यान्वयनमा ल्याउने जिम्मा सरकारकै हो । यसअनुरुप, कृषि विकास मन्त्रालयले पनि कृषिको विकासको लागि केहि प्रतिवद्धताहरु बनाएको छ । यसको विकासका लागि पनि  कृषि विकास मन्त्रालय योजनाबद्ध ढंगले अघि बढेको छ । कृषिसँग घनिष्ट सम्बन्ध भएका अन्य व्यवसायलाई पनि सँगसँगै विकास गर्ने हेतुले हामी अघि बढिरहेका छौँ । त्यसैले त्यसको विकासको लागि नेपाल सरकार स्वयम् पनि जिम्मेवार ढंगले अघि बढ्नुपर्छ ।   त्यो पोलिसी बनाउने काममा पनि हामीले सोच्न जरुरी छ । कृषि ऋण तथा प्रविधि, कृषि  सिँचाई वा व्यवसायिकता सबै विषयसँग सम्बन्ध राख्ने हरेक कुराहरु हामीसँगै छ । हामी हाम्रो कृषिको विकासका लागि बाहिर जानु पर्दैन । त्यसैले अबका दिनमा क्षेत्रीय, केन्द्रिय र स्थानियस्तरको बिचमा कुन रुपमा समन्वय छ भन्ने कुरालाई घनिभुत रुपमा एक आपसमा सरसल्लाह तथा समन्वय बढाएर अघि जानुपर्छ । नेपाल सरकारले कृषिमा प्याकेज प्रोग्रामको लागि पनि  सोँच बनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]