July 23rd, 2016

आरबीआईले घटाउला त व्याजदर ? प्रतिक्षामा भारतीय जनता

rbiभारतीय केन्द्रीय बैङ्कले ब्याजदर कटौती गर्ने अनुमान गर्न थालिएको छ । राम्रो वर्षाले गेडागुडीको मूल्यवृद्धि घटेमा ‘रिजर्व बैङ्क अफ इण्डिया’ (आरबीआई)ले प्रमुख ब्याजदर २५ आधारबिन्दुले घटाउने अनुमान गरिएको छ । गर्मीयामको कमजोर फसलका कारण अहिले गेडागुडीको मुद्रास्फीति २७ प्रतिशतमा छ । ‘राम्रो वर्षाका कारण गत वर्षको तुलनामा अहिले गेडागुडीको खेतीपाती ३९ प्रतिशत बढेको छ, यसले गेडागुडीको मूल्यमा २० प्रतिशत कमी ल्याउने र मुद्रास्फीति मार्चसम्ममा ५ दशमलव १ प्रतिशतमा झार्नेछ,’ एक अनुसन्धान प्रतिवेदनमा बैङ्क अफ अमेरिकाको लगानी एकाइ मेरिल लिञ्चले भनेको छ ।

मनसुनले मुद्रास्फीति घटाउने, जुनमा कोर उपभोक्ता मूल्य सूचक (सीपीआई)मा आएको कमी र उच्च ब्याजदरले मे महीनामा औद्योगिक वृद्धिमा कमी आएको तथ्यहरूलाई दृष्टिगत गर्दै आरबीआईले नीतिगत ब्याजदर घटाउने मेरिल लिञ्चको भनाइ छ । ‘राम्रो वर्षाले गेडागुडीको मूल्यवृद्धि घटाएमा हामीले अपेक्षा गरेअनुरूप सन् २०१७ को अन्त्यसम्ममा सीपीआई आरबीआईको लक्षित बिन्दु ५ प्रतिशतमा आउने छ,’ प्रतिवेदनमा मेरिल लिञ्चले भनेको छ । बढ्दो मुद्रास्फीतिको चापतर्फ आंैल्याउँदै जुन महीनाको नीतिगत बैठकमा आरबीआई गभर्नर रघुराम राजनले ब्याजदर यथावत राख्ने निर्णय गरेका थिए । यद्यपि, मनसुनले मुद्रास्फीति घटाउन मद्दत गरेमा वर्षको अन्त्यतिर भने ब्याजदर घट्न सक्ने उनले सङ्केत गरेका थिए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]