July 22nd, 2016

विश्व अर्थतन्त्रमा वित्तीय संकटपछिकै ठूलो धक्का : वृद्धिदर ३ प्रतिशतबाट झर्ने

Glass globe with stock chartईयू छोड्ने पक्षमा बेलायतले गरेको मतदानले विश्व अर्थतन्त्रलाई पहिले नै प्रभाव पारेको अवस्थामा वृद्धिदरलाई ३ प्रतिशत तल झार्ने देखिएको छ । यो वृद्धिदर विश्वव्यापी वित्तीय संकटपछिकै न्यून हो । २००९ यता विश्वव्यापी वृद्धि ३ प्रतिशतभन्दा ओरालो लागेको छैन । उक्त समयमा विश्वव्यापी अर्थतन्त्र स्थिर भएको थियो ।

अन्तरराष्ट्रिय मुद्रा कोषले चालू वर्षका लागि विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण ०.१ प्रतिशतले कटौती गरेर ३.१ प्रतिशत कायम गरेको छ । तर, कोषले ब्रेक्जिटबाट आउन सक्ने प्रभावका कारण अनुमान गर्न कठिन भएको जनाएको छ । “ब्रेक्जिटको अवस्था अझै पनि समाधान गर्न नसकिने भएकाले आर्थिक र राजनीतिक अनिश्चिततामा विस्तार भएको छ र यसको नतिजा थप नकारात्मक हुन सक्छ,” कोषले भनेको छ ।

कोषले चालू वर्षका लागि बेलायतको वृद्धि ०.२ प्रतिशतले घटाएर १.७ प्रतिशत कायम गरेको छ । यसैगरी आगामी वर्षका लागि ०.९ प्रतिशतले कटाएर १.३ प्रतिशत कायम गरेको छ । कोषले चालू वर्षका लागि अमेरिकाको वृद्धि दरमा पनि कटौती गरेको छ । अमेरिकाको वृद्धिदरमा ०.२ प्रतिशतले कटौती गरिएको छ । कोषका अनुसार विश्वकै ठूलो अर्थतन्त्र यो वर्ष २.५ प्रतिशतले वृद्धि हुनेछ ।

कोषले २०१६ र २०१७ का लागि विश्वव्यापी वृद्धिका बारेमा थप दुई निराशाजनक अवस्था उतारेको छ । यो ब्रेक्जिट कसरी समाधान हुन्छ भन्ने विषयमा निर्भर रहन्छ । ओरालो लाग्ने परिवेशले वृद्धि यो वर्ष २.९ प्रतिशतमा झर्ने देखाएको छ । कठोर अवस्थाले २.८ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने देखाएको छ ।

योभन्दा पहिले कुनै पनि मुलुकले ईयू नछोडेकाले लगानीकर्ता र व्यवसाय चिन्तित देखिएका छन् । बेलायतले ईयूको बजारमा कस्तो खालेको पहुँच पाउँछ भन्ने विषय अझै स्पष्ट छैन । बेलायत सरकारले दुईवर्षे औपचारिक बहिर्गमनको प्रक्रिया यस वर्ष सुरु नहुने बताइसकेको छ । त्यसैले छुट्टिने कार्य सम्पन्न हुनका लागि कम्तीमा पनि २०१९ सम्म जान सक्छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]