July 21st, 2016

वित्तीय संकटपछिको बेलायत : फाइदामा बुढापाका मात्रै

economicवित्तीय संकटपछि आम्दानीमा भएको सुधारले पाका उमेरका बेलायतीलाई मात्रै फाइदा भएको छ । लन्डनस्थित स्वतन्त्र अनुसन्धान संस्था फिस्कल इन्स्टिच्युटले विगत सात वर्षको अवधिमा उमेरका आधारमा कसरी आम्दानी वृद्धिमा विविधता आयो भन्ने विषयमा तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो । आईएफएका एसोसिएट निर्देशक रोबर्ट जोइस भन्छन्, “पाका उमेरका मानिसहरूले औसतमा २००७ देखि २००८ को तुलनामा बढी लाभ लिएका छन् ।” 

हाल बेलायतका ६० वर्ष वा सोभन्दा माथिको उमेरका दुई सदस्यीय परिवारको मध्यम साप्ताहिक आम्दानी ४ सय ४४ पाउन्डको हाराहारीमा छ । यो उक्त अवधिमा सालाखाला ४३ पाउन्डले बढी हो । यसको तुलनामा २२ देखि ३० वर्ष उमेरका युवा परिवारको मध्यम आम्दानी समान अवधिमा ७ प्रतिशतले ओरालो लागेको छ । यो अवधिमा उनीहरूको आम्दानीमा ३८ पाउन्डले गिरावट आएर ५ सय ५ कायम भएको छ । यसैगरी ३१ देखि ५९ उमेरका परिवारको आम्दानी बल्ल संकटपूर्वको अवस्था अर्थात् प्रतिसाता ५ सय २४ पाउन्डमा आइपुगेको छ । सात वर्षको अवधिका कामकाजी उमेरको आम्दानीमा कुनै वृद्धि नहुनु अस्वाभाविक भएको लेखकले बताएका छन् ।

पाका उमेरका मानिसले सरकारी लाभ र बचत तथा पेन्सनबाट भएको उच्च आम्दानीबाट लाभ लिएको आईएफएसको निष्कर्ष छ । यो समूहमाझ रहेको उच्च रोजगारीले पनि औसत आम्दानीमा वृद्धि गराएको छ । बेलायतमा पाको उमेर समूहमा पनि काम गर्ने प्रवृत्ति अझै विद्यमान छ । यसको तुलनामा २२ देखि ३० वर्ष उमेर समूहका युवा वयष्कको मध्यम आम्दानी अन्य कुनै पनि समूहको दाँजोमा खराब भएको लेखकले बताए । यो समूहका मानिसले श्रमबजारको आम्दानीमा भारी गिरावट आएको पाएसँगै यस्तो अवस्था सिर्जना भएको हो ।

प्रतिवेदनले कर कट्टीपछिको आम्दानी र सरकारी भत्ताको आधारमा यो मूल्यांकन गरेको हो । युवा पुस्ताले अघिल्लो पुस्ताको दाँजोमा कम आम्दानी गर्ने रिजोलुसन फाउन्डेसनले सार्वजनिक गरेको केही दिनपछि आईएफएसबाट यो तथ्य सार्वजनिक भएको हो । पेन्सन भुक्तानीको घाटा पूर्तिका लागि कम्पनीहरूले युवालाई दिने ज्याला कसेकाले पाका उमेर र अवकाशप्राप्त मानिसले लाभ लिएको र युवा पुस्ता मारमा परेको बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]