July 1st, 2016

‘वैदेशिक रोजगार बचतपत्र’ : किन र कसका लागि ? 

nrbरुपा कोइराला । बैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्सलाई मुलुकको उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्यस्वरुप सरकारले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने गरेको छ । यसैबिच नेपाल सरकारको तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा वैदेशिक रोजगार बचतपत्र २०७८“क” यहि असार २९ गते निष्कासन गरिँदै छ । ३३ करोड रुपैँयाको यो बचतपत्र पाँच वर्षे अवधिको रहेको छ । यसको मतलब २०७७ असार २० गते सो बचतपत्र परिपम्व हुनेछ र खरिदकर्ताले सावाँ फिर्ता पाउनेछन् । सो अवधिभित्र प्रत्येक ६ महिनामा ९ प्रतिशत व्यादरले व्याज दिइनेछ । अहिले बैंकहरूले बचतमा ४–५ प्रतिशतसम्म ब्याज दिएको अवस्थामा बचतपत्रको लगानी फाइदाजनक छ । गत सातामात्र खुलेको वैदेशिक रोजगार बचतपत्र २०७७ (क) को ब्याजदर पनि ९ प्रतिशत छ । बचतपत्र धितो राखी कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने सुविधा पनि छ ।

कसले खरिद गर्न पाउँछ ?
विदेशमा काम गर्ने नेपालीले वैदेशिक मुद्रामा मात्र बचतपत्र किन्न सक्ने व्यवस्था रहेकोमा संसोधन गरी नेपालबाट पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेको वा मुलुकबाहिरको रोगजारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली आफू वा परिवारका सदस्यले बचतपत्र खरिद गर्न पाउँछन् । परिवारका बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले बचतपत्र खरिद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

कसरी लिने ?
बचतपत्र खरिदमा केही सीमाहरु तोकिएका छन् । जसअनुसार खरिदकर्ताले घटिमा पाँच हजार रुपैँया र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पाँच हजारले भाग गर्दा निशेष भाग जाने अंकको बचतपत्र खरिद गर्नुपर्ने छ । खरिदकर्ताले यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीलले आफ्नो या आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा र छोरी) को नाममा खरिद गर्न सक्ने प्रावधान रहेको छ । 

बचतपत्र खरिदमा न्युन आकर्षण
सरकारले रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नका लागि वैदेशिक रोजगार बचतपत्रमार्फत पुँजी संकलन गर्दै आइरहेको छ । सरकारले करिब ७ वर्षअघि साउदी अरेबिया, मलेसिया, कतार, दुबई र दक्षिण कोरियामा कार्यरत नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने घोषणा गरेको थियो । यद्यपि, बचतपत्र विक्रि भने न्यून हुने गरेको छ । सरकारले आर्थिक वर्ष ०६६/६७ देखि बचतपत्रको अवधारणा सुरु गरेको थियो । पहिलो वर्ष नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँको बचतपत्र निष्कासन गरेकोमा ४० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो । त्यसयता प्रत्येक वर्ष जारी भएका बचतपत्रको बिक्रीमा केही वृद्धि देखिए पनि जारी सबै बिक्री भने हुन सकेको छैन ।

गत वर्ष २५ करोडको बचतपत्र जारी भएकोमा ८ करोड ३७ लाख बराबरको बिक्री भएको थियो । यो नै अहिलेसम्मकै ठूलो बिक्री हो । हालसम्म राष्ट्र बैंकले ८ अर्ब ७५ करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिसके पनि त्यसको साढे २ प्रतिशत (२१ करोड ९० लाख २५ हजार) मात्र बिक्री भएको छ । सुरुवाती वर्षहरूमा भन्दा पछिल्ला वर्षहरूमा बिक्रीदरमा केही सुधार भने देखिएको छ । राष्ट्र बैंकले ०७० मा ‘वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने कार्यविधि– ०६७’ संसोधन गरेपछि सुधार आएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दाभन्दा बचतपत्र खरिदमा धेरै फाइदा हुने भए पनि प्रचार गर्न भने सकिएको छैन । यो वर्ष विभिन्न देशमा प्रचार कार्यक्रम गर्न प्रस्ताव गरेको भएपनि अर्थले बजेट नदिँदा सम्भव नभएको विभागको दाबी छ । 

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये हालसम्म तुलनात्मक रूपमा सबैभन्दा अप्रभावकारी भएको उपकरण वैदेशिक रोजगार बचतपत्र नै हो । यसो हुनुमा बचतपत्रबारे गैरआवासीय नेपालीको सचेतना र पहुँचको अभाव मुख्य समस्या देखिएको छ । प्रवासमा रहेका धेरैजसो नेपालीलाई बचतपत्रबारे थाहै छैन । बचतपत्र कहिले जारी हुने, फाराम कहाँ पाउने, रकम कुन ठाउँबाट पठाउने, विनिमय दर कति हुने, बचतपत्रको लागि कति व्याजदर दिने लगायतका विषयमा राष्ट्र बैंकले आफ्नो साइटमा राख्ने गरेको भएपनि त्यसको प्रभाव खासै देखिएको छैन । सबैभन्दा पहिले ऋणपत्रबारे थाहा नै नपाउने र थाहा पाए पनि धेरैले नबुझ्ने हुँदा उनीहरूको विश्वास प्राप्त हुन नसकेको विज्ञहरू बताउँछन् । ऋणपत्र बिक्री गर्ने एजेन्टसम्म कामदार र गैरआवासीय नेपालीले पहुँच नपाउनु अर्को समस्या भएको जानकारहरुको भनाई छ । 
 
रेमिट्यान्स कम्पनीका एजेन्ट प्रभावकारी भएनन्
बचतपत्र बेच्नका लागि अहिले निजी रेमिट्यान्स कम्पनी र बैंकहरुले एजेन्ट लिएका छन् । उनीहरु बैदेशिक रोजगारमा रहेका नेपालीहरुको दैलोमा पुगिरहेका छन् । उनीहरु विक्रि एजेन्ट भएकाले यसको प्रचारप्रसारमा अझ वढि क्रियाशिलता देखाउँछन् भन्ने सरकारी विश्वास छ । तर पनि परिणामले यसको गतिलो प्रभाव देखाएको छैन ।  

खाँचो : सचेतनाकै
कतिपय जानकारहरु भन्छन्, ‘बचतपत्र बिक्रीमा ह्रास आउनुको मुख्य कारण भनेको सचेतनाको कमी नै हो । बचतपत्र किन्नेलाई घाटा नै छैन, ब्याज पनि बढि आउँछ, राष्ट्रको विकासमा आफ्नो भूमिका पनि रहन्छ । बुझाउन सक्ने हो भने जो कोहीले पनि किन्छ ।’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले बचतपत्रबारे थप सचेतनाका लागि योजना बनाईरहेको बताए । ‘विगतमा असफल जस्तै भएको बचतपत्रबारे प्रवासमा रहेका नेपालीहरुलाई मजाले बुझाउन नसकिएको हामीले महशुस गर्यौँ’ ती अधिकारीले भने, ‘अब यसलाई प्रभावकारी बनाउन सचेतना र यसबारे जानकारी प्रवासमा रहेका नेपालीहरुसम्म पुर्याउने गरी तयारी गरिरहेका छौँ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]