June 29th, 2016

बुधबारदेखि इलाममा सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम, यसरी लिनुस् सुविधा

health insuranceइलाम जिल्लामा बुधबारदेखि सामाजिक सुरक्षा स्वास्थ्य विकास कार्यक्रम (स्वास्थ्य बिमा) सुरू भएको छ । जिल्ला स्वास्थ्य सुरक्षा संयोजन समितिका अनुसार असारमा स्वास्थ्य बिमा गरेका नागरिकले भदौबाट सेवा पाउने छन् । कार्यक्रममार्फत वर्षको तीन चरणमा बिमा दर्ता गरिने छ । वैशाख, जेठ र असारमा दर्ता गरेकाले भदौदेखि सुविधा पाउने छन् । साउन, भदौ, असोजमा बिमा दर्ता गराएकाले मङ्सिरदेखि सुविधा पाउने छन् । त्यस्तै कात्तिक, मङ्सिर, पुसमा बिमा गराएकाले फागुनदेखि र माघ, फागुन, चैत महिनामा बिमा दर्ता गरेकाहरूले जेठदेखि सुविधा पाउने बताइएको छ ।

सामाजिक स्वास्थ्य विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले यसअघि कैलालीमा सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएपछि इलाममा समेत सफल हुने विश्वास व्यक्त गरे । “कार्यक्रम प्रभावकारी रुपमा लागु गर्न कर्मचारी र स्वयम् सेविकालाई तालिम दिएर दक्ष बनाएका छौँ,” उनले भने ।

स्वास्थ्य बिमाका लागि पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार ५ सय रुपैयाँ तिर्नु पर्नेछ भने एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिने छ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिने छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल र सरकारी स्वामित्वका केन्द्रीय अस्पतालबाट उपचार सुरू गरिने निर्देशक लोहनीले बताए । पाँचजना भन्दा बढी भएका परिवारले प्रति सदस्य ४ सय २५ रुपैयाँका दरले बिमा रकम थप्नुपर्नेछ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत अधिकतम एक लाखसम्मको स्वास्थ्य सेवा प्रदान गरिने व्यवस्था मिलाइने छ । बिमा बर्से्िन उत्ति नै रकम तिरेर नवीकरण गर्नुपर्नेछ । बिमा गरेको परिवारको सदस्यले स्वास्थ्य सेवा लिनका लागि परिचय–पत्र लिएर स्वास्थ्य संस्था जानुपर्ने छ भने उपचार खर्चबापतको रकम कार्यक्रममार्फत सिधै स्वास्थ्य संस्थाले पाउने छन् । जिल्लामा ६४ जना कर्मचारी परिचालन गरिएका छन् । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]