June 28th, 2016

कमोडिटी बजारमा पहिलोपटक अण्डाको भौतिक हस्तान्तरण

eggनेपाली कमोडिटी बजारमा पहिलोपटक भौतिक हस्तान्तरण हुने कृषिजन्य उत्पादनको रुपमा अण्डाको कारोबार सुरु भएको छ । मेक्स नेपालले नवलपरासीस्थित न्यू भैरव पोल्ट्री फर्मसँग सहकार्य गरेर सो कारोबार सुरु गरेको हो । इच्छुक क्रेताले थोरै रकम प्रारम्भिक मार्जिन तिरेर आफ्नो खरिद आदेश सुनिश्चित गर्न पाउने छन् । हालको लागि यस भौतिक हस्तान्तरण दुम्किबास नवलपरासीबाट लिनु पर्नेछ । 
 
ठूलो र मध्यम गरी दुई प्रकारका अण्डाको कारोबार हुनेछ । भौतिक हस्तान्तरण हुने अण्डा एक बाकसको एकाइमा उपलब्ध हुनेछ । एउटा बाकसमा सात वटा क्रेट हुन्छ । प्रत्येक क्रेटमा ३० वटा अण्डा हुनेछ । अण्डाको गुणस्तरका बारेमा करार विवरणमा विस्तृत रुपमा खुलाइएको मेक्सले जानकारी दिएको छ । अण्डा चर्केको वा फुटेको भएमा कारोबार हुनेछैन । कुनै किसिमको दागसमेत लागेमा कारोबार नहुने करार सम्झौता गरिएको छ । मध्यम आकारको अण्डाको एक लटमा १० देखि १२ केजी र ठूलो आकारको चाहिँ १२ केजी भन्दा बढीको हुनेछ । भौतिक हस्तान्तरण गर्दाको समयमा अण्डा ७ दिन भन्दा पुरानो हुने छैन । 
 
कमोडिटी बजारले अनलाइनमार्फत् केन्द्रीय बजारको सिर्जना गर्दछ । मध्यस्थकर्ताको आवश्यकता नपर्ने हुँदा दुवै पक्षले निष्पक्ष तथा प्रतिस्पर्धी मूल्यमा कारोबार गर्न पाउँछन् । मेक्सले भविष्यमा यस्ता अन्य फर्म तथा बिक्रेता गाभ्दै लैजाने लक्ष्य लिएको छ । मेक्स नेपालले थप कृषिजन्य वस्तुहरू कारोबारमा ल्याउन सम्भाव्यता अध्ययन गरिरहेको बताएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]