June 15th, 2016

शेयर विश्लेषक रबिन्द्र भट्टराई भन्छन् – ‘शेयर बजार अझै बढ्छ’

rabindra-bhattarai-1शेयर कारोबारले मंगलबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । एकै दिन दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार आठ सय ५७ रुपैयाँको कारोबार भएर पुँजी बजारको २३ वर्षे इतिहासमै नयाँ कीर्तिमान बनायो । यही सन्दर्भमा शेयर बजार अकासिनुका कारणबारे शेयर विश्लेषक रविन्द्र भट्टराईसंग सहकर्मी शारदा भण्डारीले गरेको कुराकानीमा आधारित यो विश्लेषण यहाँ प्रस्तुत गरिन्छ ।

बिमा कम्पनी मुख्य कारण
बिमाको भाउ माथि जानुमा कम्पनीको चुक्ता पुँजी कम हुनु एउटा मुख्य कारण हो । किनभने बिमा कम्पनीहरूको चुक्ता पुँजी निकै कम भएकाले थोरै व्यक्तिले पनि शेयर होल्ड गर्न सक्ने अवस्था छ । त्यस्तै प्रविधिमा आएको छलाङले पनि बजारलाई नयाँ उचाइमा पुर्याएको हो ।

नयाँसंगै पुराना लगानीकर्ताहरुले निरन्तरता दिनु
केही समययता शेयर बजार बढिरहेकै छ । अहिले सोही क्रमले निरन्तरता पाएको छ । नयाँ लगानीकर्ता थपिनु, पुराना लगानीकर्ताले पनि कारोबारलाई निरन्तरता दिनु शेयर बजार बढ्नुको अर्को कारण बनेको छ ।

बैंकहरुको ब्याज सस्तो हुनु
लगानीमैत्री वातावरणको अभावमा बैंक तथा वित्तिय संस्थामा अधिक तरलता सिर्जना हुनु र तरलता वृद्धि समस्या समाधान गर्नका निमित्त बैंक तथा वित्तीय संस्थाहरु व्याज दरमा कमी ल्याउनु पनि एउटा कारण हो । यसबाट स्प्रेड दरका कारणले गर्दा बचतकर्ताले पाउने ब्याजमा पनि कमी आउनु र बैंकमा राखिएको पैसाले निकै थोरै प्रतिफल पाउँदा केही ठुलो रकम दोस्रो बजारतर्फ गएको प्रष्ट हुन्छ । किनकि अहिले बचतमा पैसा राख्नु भन्दा दोस्रो बजारमै धेरै प्रतिफल देखिन्छ  ।

पूँजी बृद्धिको योजनाको कारण
त्यस्तै बैंक, विकास बैंक तथा फाईनान्स कम्पनीमा आएको पूँजी वृद्धिको योजना र बीमा तथा लघुवित्त कम्पनीहरुमा भविष्यमा आउन सक्ने पूँजी वृद्धिको योजनाका कारण ती शेयरबाट लगानीकर्ताले राम्रै बोनस, राइट शेयर प्राप्त गर्ने अवस्थामा पुग्न सफल भए  ।  बोनस शेयर र राईटको लोभमा पनि लगानीकर्ताहरु दोश्रोे बजार तर्फ आकर्षित भएको पाईन्छ ।

हल्लाले पनि बढायो शेयर बजार
शेयरबजारमा अर्थशास्त्रले मात्रै हैन मनोविज्ञानले पनि भूमिका खेल्छ । जसका कारण केही हदसम्म बजार वृद्धिको एउटा कारण मध्य यो कारण पनि एक हो । बाहिर आउने हल्लाहरुले यसमा प्रभाव पार्छ । साथीभाईहरुले पूँजीबजारबाट गरेको आम्दानीले प्रभाव पार्छ । हल्ला र अरुको देखासिकीले पनि पूँजी बजारमा प्रभाव पार्ने भएकाले शेयर बजार बढ्नुको यो अर्को कारण हो ।

केही समय अझै बढ्न सक्छ
मेरो विचारमा शेयरबजार अहिले नै ओरालो लाग्ने देखिदैन । अझै केहि समयसम्म बढ्ने  देखिन्छ । धितोपत्र बोर्डबाट वैज्ञानिक बजार निर्माणका निमित्त केही राम्रा कदम चालिएका छन । त्यस्तै स्वचालित कारोबार प्रणालीको शुरुवात भएमा नेपाली दोश्रोे बजार देशका अन्य क्षेत्रमा फैलिने छ र छरिएको पूँजी दोश्रोे बजारमा आई बजार झन आकाशिने अवस्था सिर्जना हुने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]