June 7th, 2016

सहकारी क्षेत्रमा तरलता थुप्रिनुका प्रमुख ३ कारण

moneyसहकारी क्षेत्रमा तरलता वृद्धि हुँदै गएको छ । सहकारीमा रहेको बचत रकम परिचालनका लागि ठोस कार्ययोजना नहुँदा बचत गरिएको रकम उत्पादनमुखी क्षेत्रमा लगाउने विषयमा सम्बन्धित निकायको ध्यान जान नसक्दा पछिल्लो समयमा सहकारीमा तरलता देखिएको हो । सहकारीमार्फत गरिबी निवारण गर्ने र ग्रामीण अर्थतन्त्र सबल बनाउने लक्ष्य लिइए पनि अधिकांश सहकारीहरु सहर केन्द्रित हुने र त्यसमा पनि उत्पादनमूलकभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु खोल्ने क्रम भएपछि सहकारीमा बचत धेरै भएको हो । सहकारी विभागको तथ्यांकअनुसार हाल सहकारीमा ८७ अर्ब रुपैँया तरलता रहेको छ । हाल मुलुकभर ३२ हजार सहकारी संस्था सञ्चालनमा छन् । सहकारी विभागको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको हालको अवधिसम्म ती सहकारी संस्थाहरुमा ६४ अर्ब ६२ करोड १४ लाख ३ हजार रुपैँया शेयर पुँजी मात्रै रहेको छ । त्यस्तै, २ खर्ब ८ अर्ब निक्षेप संकलन रहेको छ भने १ अर्ब ८५ अर्ब मात्रै ऋण लगानी रहेको छ । 

उत्पादन क्षेत्रमा लगानी भएन
सहकारी संस्थाहरुले करोडौँ रुपैँयाको कारोबार गर्ने भए पनि उत्पादन क्षेत्रमा लगानी वृद्धि गर्न नसक्दा र सरकारले सहकारीमा भएको रकम परिचालन गर्ने ठोस कार्ययोजना बनाउन नसक्दा सहकारीमा तरलता वृद्धि भएको हो । सरकारले सहकारीमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने नीति ल्याए पनि सहकारीलाई कुन तरिकाबाट परिचालन गर्ने र सहकारीमा सञ्चित रकम ठूला परियोजनाहरुमा कसरी लगाउने भन्ने स्पष्ट योजना ल्याउन नसक्दा तरलताको समस्या देखिएको हो ।  

लगानीको दायरा संकुचित
सरकारले संविधानमै अर्थतन्त्रको एक खम्बाको रुपमा सहकारी क्षेत्रलाई समेत समावेश गरेको छ । सहकारीमार्फत गरिने लगानीको अवस्था संकुचित गरिँदा सहकारीमा भएको बचत परिचालनमा समस्या भएको सहकारीकर्मीहरुको गुनासो छ । सहकारीलाई उत्पादनमूलक क्षेत्रसँग जोडेर ग्रामीण अर्थतन्त्र सबल बनाउने र गरीबी घटाउने लक्ष्य राखिए पनि सहकारीमा भएको बचत परिचालनमा ठोस नीति लिन नसक्दा सहकारीमा बचत थुप्रिने क्रमले तीव्रता पाएको विभागको ठहर छ ।  

बचत तथा ऋण सहकारी संस्थाको बढ्दो संख्या
पैसाको मात्रै कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरु बढी हुँदा पनि तरलता वृद्धि हुँदै गएको सरोकारवालाहरुको तर्क छ । ग्रामीण क्षेत्रका अधिकांश सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्ने र मुनाफा बाँटफाँट गर्ने तथा सञ्चालकहरुले चाहेको क्षेत्रमा मात्रै रकम परिचालन गर्ने अभ्यास देखिँदै आएको छ । सहकारी संस्थालाई स्वायत्त व्यवसायिक निकायका रुपमा हेरिएपनि पैसाको कारोबारमा मात्रै लक्षित हुँदा तरलता थुप्रिएको हो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांक हेर्दा, बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या १३ हजार ५ सय ३५ रहेको छ । यी संस्थाहरुमा १ खर्ब ४८ अर्ब ९३ करोड ८८ लाख २२ हजार रुपैँया निक्षेप संकलन रहेको छ । विभागको तथ्यांकअनुसार, बहुउद्देश्यीय सहकारी संस्था ४ हजार २ सय ९, कृषि सहकारी ९ हजार ५ सय ६२, दुग्ध सहकारी १ हजार ७ सय २४, विद्युत् सहकारी ४ सय ४५, तरकारी तथा फलफूल सहकारी २ सय ३४, चिया सहकारी १ सय १९, कफि सहकारी १ सय ७३, जडिबुटी सहकारी २ सय, मौरीपालन सहकारी १ सय ११, सञ्चार सहकारी १ सय २९, स्वास्थ्य सहकारी १ सय १७, उखु सहकारी ५३, जुनार सहकारी ४५ र अन्य सहकारी १ हजार ८४ वटा रहेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]