June 7th, 2016

५ तारे होटल र रिसोर्टहरुमा यसरी उर्लियो बैँकिङ लगानी

economicपछिल्लो समयमा मुलुकको पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी उत्साहजनक रूपमा बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्ममा पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४८ अर्ब ३० करोड लगानी गरेका छन् । यो लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीको समयमा पनि वित्तीय संस्थाले लगानी वृद्धि गरेको पाइएको छ । बैंकहरूले मुख्यतः होटलमा लगानी गर्ने गरेका छन् । यसबाहेक पर्यटन क्षेत्र अन्तर्गतका होटल, ट्रेकिङ, रिसोर्ट, माउन्टेनियरिङ, र्याफ्टिङ लगायतमा वाणिज्य बैंकसहित विकास बैंक र फाइनान्स कम्पनीले लगानी गरेका छन् । 

राष्ट्र बैंकको चालू आवको चैतसम्मको तथ्यांकअनुसार होटल क्षेत्रमा ३६ अर्ब ५६ करोड रुपैयाँ लगानी भएको छ । गत आवको तुलनामा चालू आवमा होटलमा लगानी २१ प्रतिशतले वृद्धि भएको हो । ०७१ साल चैतमा होटलमा वित्तीय संस्थाको लगानी २८ अर्ब ५४ करोड रुपैयाँ थियो । 

यसैगरी ट्रेकिङ, रिसोर्ट, माउन्टेनियरिङ, र्याफ्टिङ लगायतका क्षेत्रमा ११ अर्ब ७४ करोड रुपैयाँ लगानी भएको छ । ०७१ चैतसम्ममा यी क्षेत्रहरूमा बैंकको लगानी १० अर्ब ७८ करोड रुपैयाँ मात्र थियो । अघिल्लो वर्षको तुलनामा यो क्षेत्रमा ५.३ प्रतिशतले लगानी वृद्धि भएको हो । 

लगानी बढ्नुका कारणहरु
पर्यटन देशको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि यस क्षेत्रमा लगानी खासै बढ्न सकेको थिएन । पछिल्लो समय विश्वमा ‘राम्रा ट्रेन्ड’ बनाएका होटल नेपालमा पनि खुल्ने भएपछि बैंकहरूले लगानी बढाएको देखिन्छ । सेराटन, म्यारियोट, स्टारउड अलफ्ट लगायतको व्यवस्थापनमा सञ्चालन हुने होटलहरू राजधानीमै निर्माणाधीन छन् । पछिल्लो समयमा राजधानीको आसपासका क्षेत्रमा पनि होटल तथा रिसोर्टको संख्या बढेको छ । यी क्षेत्रमा होटल विस्तार भएपछि बैंकहरूको लगानी विस्तार भएको व्यवसायीहरू बताउँछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]