September 21st, 2018

तीन वित्तीय संस्थाले गरे लाभांश घोषणा

बैंकिङ खबर । मञ्जुश्री फाइनान्स लिमिटेड, कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गरेका छन् । 

मञ्जुश्रीले नौ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज ५ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको नौ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । जसअनुसार बैंकले हाल ८० करोड ४० लाख ६० हजार दुई १० रुपैयाँको नौ प्रतिशतले हुन आउने सात करोड २३ लाख ६५ हजार चार सय १९ रुपैयाँ नगद लाभांश दिनेछ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको  हो । नेशनल माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले ११ दशमलव २९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको असोज ४ गते बसेको संचालक समितिको बैठकले पाँच प्रतिशत बोनस सेयर र छ दशमलव २९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । जसअनुसार बैंकले दुई करोड ५३ लाख रुपैयाँ बराबरको बोनस सेयर र तीन करोड १८ लाख १४ हजार सात सय ५० रुपैयाँ नगद लाभांश दिनेछ ।

तीन वटै वित्तीय संस्थाको संचालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई सम्बन्धित  संस्थाको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]