September 21st, 2018

ग्रामीण विकास लघुवित्तको विशेष साधारणसभा : १ः०.५ अनुपातमा हकप्रद सेयर पारित

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा असोज ५ गते शुक्रबार सम्पन्न भएको छ । सभाले १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने र एक कित्ता भन्दा कम हिस्सामामा रहेका संस्थापक/सर्वसाधारण सेयरधनीहरुलाई कम्तीमा एक कित्ता हकप्रद सेयर प्रदान गर्ने निर्णय गरेको छ । 

संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा उल्लेख भएको पुँजी संरचनामा संशोधन गर्ने र हकप्रद सेयर आवेदन गर्ने हक जुन समूहको सेयरधनी संस्थापक/सर्वसाधारणको हो, सोहि समूह अन्तर्गत भर्न हक हस्तान्तरण गर्न दिने निर्णय समेत सभाले गरेको छ । यसरी हकप्रद सेयर निश्कासन भएपश्चात संस्थाको चुक्ता पुँजी रु. ९८ करोड २५ लाख पुग्ने भएको छ ।  

संस्थाका सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले स्वागत मन्तव्य राख्दै हकप्रद सेयर जारी गर्नुपर्ने आवश्यकता वारेमा विस्तृत रूपमा प्रकाश पार्दै हकप्रद शेयर जारी पश्चात पुँजीकोषमा सुधार एवं पुँजीको अवस्था सुदृढ भई संस्थाको व्यवसाय विस्तारमा ठूलो मद्दत मिल्ने बताए ।
 
सञ्चालक समितिको तर्फबाट अध्यक्ष माणिकरत्न शाक्यले सभामा विशेष प्रस्ताव र संस्थाको आ.व.२०७४/७५ को आषाढ मसान्तसम्मको संक्षिप्त प्रगति विवरण पेश गर्दै संस्थाले हकप्रद सेयर जारी गरेपश्चात नियमन व्यवस्था अनुसार न्यूनतम पुँजीकोष कायम भई शाखा सञ्जालको विस्तारबाट व्यवसाय विस्तार गर्न सघाउ पुग्ने धारणा राख्दै संस्थाले आगामी दिनमा अझ सुदृढ ढंगले व्यवसायीक रूपले प्रतिस्पर्धी भई कार्य गर्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेपाल सरकारको तर्फबाट सभामा प्रतिनिधित्व गरेका आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले नेपाल सरकारको गरिबी निवारण गर्ने अभियानमा  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गरेको कार्यको प्रशंसा गर्दै विषेश साधारण सभाको सफलताको कामना गरे ।   
 
लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रूपमा इजाजतपत्र प्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आ.व. २०७४/७५ को आषाढ मसान्तसम्म देशका ५७ जिल्लामा रहेका १८८ वटा शाखा कार्यालयहरू मार्फत ३५८ विभिन्न स्थानिय तहमा सेवा प्रदान गर्दै आईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]