September 17th, 2018

सिराहाको जनता उ.मा.वि.मा स्वदेशी लघुवित्तद्धारा फुटबल प्रतियोगिता सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ २९ गते बाल दिवसको अवसर पारेर सिराहा जिल्ला, सुखीपुर नगरपालिका अन्तर्गत जनता उ.मा.वि. मा छात्रास्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । वित्तीय साक्षरता, महिला सशक्तिकरण तथा योजना निर्माण गर्ने सम्मको तहमा महिलाहरुको नेतृत्वदायी भुमिका आवश्यक रहेको ठहर गर्दै स्वदेशी लघुवित्त वित्तीय संस्थाले विद्यालयका छात्राहरुको सकृय सहभागितामा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

जनता उच्च मा.विमा सम्पन्न भएको महिला फुटबल कार्यक्रम त्यस क्षेत्रको इतिहासमै पहिलो कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक बताउँछन् । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भन्छन्, “स्वदेशी लघुवित्तले आयोजना गरेको यस कार्यक्रमले सुखीपुर र यस विद्यालयमा नयाँ इतिहास निर्माण गरेको छ । महिला सशक्तिकरणलाई बलियो र सकृय गराउँदै अघि बढ्नको निमित्त महिलाहरुकै सहभागितामा यस्तो कार्यक्रमहरु आवश्यक छ । आउँदो दिनमा समेत स्वदेशी परिवारसँग समन्वयको आशा राख्दछु ।”

स्वदेशी लघुवित्त वित्तीय संस्था लि. को तर्फबाट आएका सामाजिक विकास अधिकृत विकल काफ्लेले कार्यक्रममा सहभागी छात्राहरुलाई मेडल तथा त्यसको अतिरिक्त सेनिटरी प्याड वितरण गरेका थिए । कुनै पनि कार्यक्रममा सेनिटरी प्याड वितरण भएको सुखीपुर नगरपालिकाको लागि अर्को रेर्कड हो ।

आफ्नो मन्तब्यको क्रममा सामाजिक विकास अधिकृत विकल काफ्लेले महिनावारी सरफाईका कुरालाई असामान्य रुपमा लिने र दैनिक गफहरुका विषयबाट टाढा राख्न नहुने बताए । उनले भने, “सेनिटरी प्याडलाई हामीले हाम्रो जीवनको महत्वपुर्ण आवश्यकता ठान्न अझै पनि हिच्किचाउँछौं र यसको सहि प्रयोगको निमिक्त खुलेर विचार आदानप्रदान गर्न सक्दैनौं भने हामलिे महिला सशक्तिकरणको निमित्त गरेका हर कार्यक्रम कमजोर गफ मात्रै हुनेछ ।” आफ्नो मन्तब्यलाई टुङ्ग्याउँदै उनले महिला जागरण तथा महिलाहरुको चेतना अभिवृद्धि गर्नको निमित्त आवश्यक रहने हर कार्यक्रममा हामी समन्वयको निमित्त तयार रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी इन्स्पेक्टर, जनपथ प्रहरीका असई, स्थानीय युवा, बुद्धिजीवि, विद्यालय व्यवस्थापन समिति, स्वदेशी लघुवित्तका कर्मचारी तथा स्थानीय बासिन्दाहरुगरी करीब २०० भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो । 

महिलाहरुलाई वित्तीय सेवा, महिला चेतनामुखी अभियान र अन्य सिपमुलक तथा महिलाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने खालका कार्यक्रमहरु उपलब्ध गराउने उद्देश्यले भर्खरै मात्र स्वदेशी लघुवित्तको शाखा कार्यलय सुखीपुर नगरपालिकामा स्थापना भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]