September 16th, 2018

‘स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीहरुले चलाउँदा बढी प्रभावकारी हुन्छ’

बीमाको पहुँच वृद्धि भएन भन्ने महशूस भइरहेको समयमा पछिल्लो समय नौ वटा जीवन बीमा कम्पनी थपिएका छन् । जसमध्येको एक हो युनियन लाईफ इन्स्योरेन्स लिमिटेड । पूराना बीमा कम्पनीहरुसँग प्रतिष्पर्धामा उत्रिएर आफू स्थापित हुनका लागि युनियनले ल्याएका नयाँ योजनासहितलाई समेटेर समग्र जीवन बीमा व्यवसायका विषयमा बैंकिङ खबर डटकमका लागि सहकर्मी विजय पराजुलीले युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णसँग कुराकारी गरेका छन् । प्रस्तुत छ, उनै कर्णसँगको कुराकानीको सम्पादित अंश : 

जीवन बीमाको वर्तमान अवस्था कस्तो छ ? व्यवसायिक सम्भावनाहरु केके छन् ?
अहिलेको समयमा जीवन बीमाको अवस्थामा एकदमै राम्रो छ । गत वर्षमा व्यापार बढेको छ । यसपालि पनि करिब ३० प्रतिशत र बढ्ला भन्ने आशा छ । जीवन बीमा कम्पनीहरुको व्यवसायिक सम्भावनाहरु धेरै छन् । त्यसकारणले नयाँ नयाँ बीमा कम्पनीहरु खोलिएका छन् । बीमा कम्पनीहरुले शाखा पनि विस्तार गरिरहेका छन् । त्यही हिसाबले विजनेस पनि बढिरहेको छ । नेपालमा भएका १८ वटै जीवन बीमा कम्पनीहरुले विजनेश रामै्र गरिरहेका छन् । अहिलेको सन्दर्भमा हेर्दा ११ प्रतिशत मानिसहरुले बीमा गरेका छन् । बाँकी ८९ प्रतिशत मानिसहरु बीमाको दायरा बाहिर रहेकाले बीमाको सबै मार्केट खाली छ । अधिकांश मानिसहरु बीमाको पहुँच बाहिर हुनाले अबको क्रममा बजारमा बीमाको सम्भावना धेरै रहेको छ ।

बीमा कम्पनीहरुका चुनौतीहरु के के हुन् ?
अहिलेको अवस्थामा बीमा कम्पनीहरुमा त्यति साह्रो चुनौती नभएता पनि केही चुनौती भने पक्कै रहेको छ । विशेषगरी मेनपावरको कुरामा चुनौती  रहेको थियो । समय थपिएका नौ वटा जीवन बीमा कम्पनीहरुलाई डिपार्टपेन्टल हेड नियुक्तिका लागि केही संख्यामा अनुभवी व्यक्ति आवश्यक पर्दछ । केही जनशक्ति पूराना बीमा कम्पनीहरुबाट ल्याइएको छ । तर, सबै कर्मचारी त्यसरी ल्याउन सकिँदैन । यसका लागि बीमा कम्पनीहरुले बजारबाट नयाँ नयाँ कर्मचारीहरु र मेनपावरहरुलाई ट्रेनिङ दिएर तयार गरे । जसकारण अहिलेको स्थितीमा मेनपावरको खासै खाँचो छैन । मेनपावरको खाँचो बजारमा भने पक्कै छ । तर, सबै बीमा कम्पनीहरुले आफैँले तालिम, प्रशिक्षण दिएर आफ्नो मेनपावरको खाँचोलाई समाधान गरिरहेका छन् । 

विकसित मुलुकका जीवन बीमा कम्पनी र नेपालका जीवन बीमा कम्पनीहरु बीच कस्ता भिन्नताहरु छन् ?
विकसित मुलुकको जीवन बीमा कम्पनी र नेपालको जीवन बीमा कम्पनीहरु बीच त्यस्तो केही भिन्नता छैन । मुलुकमा चलेका प्रोडक्टहरु यता उता वा सबै ठाउँमा जाने गर्दछन् । अन्य कम्पनीमा चलेका प्रोडक्टहरु पनि यहाँ चलेका हुन्छन् । हामीले पनि अन्य कम्पनीमा भएका प्रोडक्टहरु ल्याएका छौँ । र, अब विस्तारै विस्तारै अन्य कम्पनीहरुले पनि ल्याईरहेको छन् । उक्त प्रोडक्ट यहाँ आउनुपर्छ भन्ने जरुरी छैन र प्रोडक्टहरु ल्याउन पनि सकिँदैन । 

त्यस्तै, अहिले हामी बीमाका बजारमा धेरै नै पछि छौँ । यस हिसाबले  हेर्दा अन्य मुलुकभन्दा धेरै भिन्नता छ । छिमेकी देश भारत र चीनमा अर्कै किसिमका प्रोडक्टहरु छन् । उक्त प्रोडक्टहरु हामीले यहाँ ल्याएर प्रोभाइड गर्न सक्ने अवस्था छैन । नेपालको भन्दा अन्य मुलुकको मेनपावर धेरै अगाडि छ । बीमामा मात्र नभएर हामी धेरै कुरामा अन्य मुलुक भन्दा पछाडि रहेका छौं ।

जीवन बीमा कम्पनीहरु असक्षम भएर स्वास्थ्य बीमा कार्यक्रम सरकार आफैँले अगाडी बढाएको हो ? 
जीवन बीमा कम्पनीहरु स्वास्थ्य बीमा गर्नको लागि असक्षम भएका होइनन् । स्वास्थ्य बीमा कार्यक्रम सरकार आफैँले संचालन गर्न थालेको हो । वास्तवमा स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीहरुलाई दिनुपर्ने हो । सरकारले संचालन गरेर जुन हिसाबले बीमाको विकास हुनुपर्ने थियो, त्यो विकास बढेको छैन । स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीहरुलाई दिएको भए नम्बर अफ पोलिसीहरु धेरै हुनुका साथै मानिसहरु पनि यसप्रति जागरुक हुने थिए । 

सरकारको जीवन बीमा कम्पनी प्रति अलि अविस्वास जस्तो देखियो नि होइन ?
यो विस्वास र अविस्वासको कुरा होइन । यस अवस्थामा सरकारलाई अविस्वास होला भनेर पनि भन्न मिल्दैन । अविस्वास भएको भए ९ वटा नयाँ जीवन बीमा कम्पनीहरुलाई लाईसेन्स दिँदैन थियो । सुरुको लटमा सरकारले जुन हिसाबले स्वास्थ्य बीमा गरिरहेको छ त्यो खराब होइन । यो कदम चाल्नु राम्रो हो र बीमा कम्पनीलाई यो अभिभारा दिएको भए अझै राम्रो हुन्थ्यो ।

नेपालमा जीवन बीमा बुझ्ने मानिसको संख्या कति प्रतिशत छ र कस्ता मानिसलाई बुझाउन जरुरी छ ? 
हालसम्म ११ प्रतिशत मानिसहरु मात्र बीमाको दायरा भित्र रहेका छन् । यसभित्र मध्यम वर्गीय, उच्च वर्ग र कमाई धेरै हुने व्यक्तिहरु पर्दछन् । बीमा सबैले गर्नुपर्छ । अहिलेको अवस्थामा हरेक मानिसलाई सुरक्षा चाहिने हुनाले बीमा गर्नु जरुरी छ ।सबैलाई बुढेसकालमा पैसाको आवश्यकता पर्दछ । बीमाले उक्त आवश्यकतालाई परिपूर्ति गरि बुढेसकालमा आईपर्ने हरेक समस्यालाई सहज बनाउँछ । बीमाबाट आएको पैसाले आफ्नो छोराछोरीको पढाई खर्चदेखि लिएर विवाहसम्म गर्न सकिन्छ । घरको मुख्य कमाउने व्यक्तिको मृत्यु भएतापनि उसको अनुपस्थितीमा घरपरिवारको आर्थिक अवस्था सहज रुपमा चल्न सक्छ । 

बीमा पहुँच बढाउन के के गर्नुपर्ला ?
यस अवस्थामा पहाडी वा ग्रामीण क्षेत्रका मानिसहरुलाई बढि भन्दा बढि मात्रामा बीमाका बारेमा बुझाउनुपर्छ । गाउँकै व्यक्तिहरुलाई अभिकर्ता बनाउनुपर्छ । अभिकर्तालाई बीमा कम्पनीले तालिम, प्रक्षिण लगायतका कुराहरु दिर्नुपर्छ । बीमा गर्ने तरिका सिकाउनुपर्छ । मलाई लाग्छ यस्तो तरिका अपनाएर गयोे भने बढीभन्दा बढी व्यक्तिहरुको बीमा गर्न सकिन्छ । 

नयाँ जीवन बीमा कम्पनीहरुमा बढि हिस्सा म्यादी जीवन बीमाको देखिएको छ । वैदेशिक रोजगारी बन्द भएको अवस्थामा नयाँ जीवन बीमाको अवस्था कमजोर देखिने भयो नि ? 
नयाँ जीवन बीमा कम्पनीहरु वैदेशिक रोजगारी बीमामै आश्रित छ भन्ने पनि छैन । हामीले नै २६ करोड ८९ लाख वैदेशिक रोजगार बीमा बेचेका थियौँ । अन्य बीमा ५९ करोड ३५ लाखको बिक्री गरेका हौँ । त्यसैले, वैदेशिक रोजगारी मात्र बीमाको स्रोत हो भन्ने होइन । प्रायः बीमा कम्पनीहरु वैदेशिक रोजगारीमा निर्भर छैन । किनकी त्यस्को मार्केट सानो छ । हामीले तरलता र बीमा नै बढि बिक्री गरेको अवस्था छ ।

युनियन लाइफ इन्स्योरेन्सको शाखा कति छन् ? कति थपिँदैछन् ?
युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा नै ७० वटा शाखा विभिन्न स्थानमा संचालनमा ल्याईसकेको थियो । चालु आर्थिक वर्षमा २५ देखि ३० वटा शाखा संचालनमा ल्याउने योजना बनाएका छौँ । हरेक जिल्लामा हाम्रो बीमाको पहुँच हुनुपर्छ धारणा लिएर अगाडी बढीरहेका छौँ । 

युनियन लाईफ इन्स्योरेन्सले कस्तो बीमा योजनाहरु अघि सारिरहेको छ ?
हामीले अलि भिन्न खालका प्रोडक्टहरु ल्याएका छौँ । केही समयअघि मात्र नयाँ प्रोडक्ट मनिव्याक होल लाईफ प्रोडक्ट ल्याएका छौँ । यसमा म्याचुरिटीमा सबै पैसा एकैचोटी पाइन्छ । म्याचुरिटीपश्चात् पनि जोखिम वहन गर्छ । र ९९ वर्ष पुगेपछि पुनः बिमांक रकम विमितले पाउँछ । म्याचुरिटी पश्चात् र ९९ वर्षभन्दा अगाडी विमितको मृत्यु भएमा निजको हकवालाले विमांक रकम पाउँछ ।  आगामी दिनमा हामीले २/३ वटा नयाँ प्रोडक्टहरु ल्याउने योजना बनाएका छौँ । हामीलाई चाहिने र बजारमा बेच्न सकिने खालका प्रोडक्टहरु ल्याउने योजना छ । 

न्युन आय भएका व्यक्तिहरुका लागि युनियन लाईफ कम्पनीले कस्ता योजना सारेको छ ?
आर्थिक वर्ष २०७५/७६ मा नेपालमाका ७५ वटा जिल्लामा उपस्थित हुने योजना रहेको छ । हरेक जिल्लाको हरेक गाउँ, गाउँमा उपस्थित भयो भने अटोमेटिक सबै ठाउँमा बीमाको पहुँच पुग्छ । सकभर युनियन लाईफ कम्पनीले सदमुकाममै कार्यालय खोलेर बीमा अभिकर्तालाई विभिन्न किसिमका तालिमहरु दिने योजना समेत बनाएको छ । अभिकर्ता शहरका मात्र नभएर गाउँको पनि हुन्छन् । गाउँमा भएका अभिकर्ताहरुले गाउँमै भएका व्यक्तिहरुको बीमा गर्दछन् । यसरी हरेक वर्गमा हामीले यस वर्षमा बीमाको पहुँच पुग्ने खालका योजनाहरु अगाडी सारेका छौँ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]