fbpx
Sunday , September 23 2018

नेपालमा लघुबीमाको सुरुवात र विकासक्रम

September 14, 2018

बैंकिङ खबर । परम्परागत गुठी व्यवस्थाले एक किसिमको लघुवित्त तथा लघुबीमा दुवैको काम गरेको थियो । मन्दिर, धर्मशाला, घाट, मृत्युगुठी, विद्यालयजस्ता सार्वजनिक क्षेत्रको निर्माण व्यवस्थापनमा गुठी व्यवस्था महत्वपूर्ण थियो । न्यून आय भएका समुदायको संरक्षण र उन्नतिमा गुठी व्यवस्था नयाँ वित्तीय व्यवस्था नआँउदासम्म एकमात्र स्रोतका रूपमा रहेको थियो । नेपाल आधुनिक राज्यव्यवस्थामा प्रवेश गरेपछि यस्ता दानदातव्य र कल्याणकारी व्यवस्था भन्दा नयाँ व्यावसायिक क्षेत्रले प्रश्रय पाएको छ । र, नयाँ व्यवसाय तीव्र अघि बढेको देखिन्छ । कृषि विकास बैंकको साना किसान विकास आयोजना संस्थागत रूपमा लघुवित्तको कार्य गर्न अग्रणी देखियो भने राष्ट्रिय बीमा संस्थानले कृषि विकास तथा अन्य बैंकसँग सहकार्य गर्दै लघुबीमाहरूले प्रारम्भिक कार्यहरू गरेको इतिहास छ । व्यावसायिक रूपमा प्रारम्भमा बैंक लगानी र पशुबीमा तथा साना लगानीको सुरक्षाको बीमा गरेर तथा कर्जाबापतको जीवन बीमा गरेर लघुबीमाको प्रारम्भ भएको थियो ।

नेपालको वित्तीय क्षेत्रमा अहिले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू मुख्य वित्तीय संस्थाका रुपमा रहेका छन् । यस क्षेत्रमा सहकारी संस्था, गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (लघुवित्तको कारोबार गर्ने) र हुलाक बचत बंैकले पनि उल्लेख्य वित्तीय कारोबार गर्दै आएका छन् । यी वित्तीय संस्थाको कामकारबाही तथा कारोबारलाई नेपाल राष्ट्र बंैक, सहकारी विभाग, सामाजिक संङ राष्ट्रिय समन्वय परिषद्, हुलाक सेवा विभागले नियमन गर्दै आएका छन् । 

लघुबीमामा राष्ट्रिय र अन्तराष्ट्रिय प्रयास 
निम्न मध्यमवर्गीय र गरीबीको रेखाभन्दा तलका व्यक्तिको हितमा सरकारी र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले पशुधन, बाली, मौसम र स्वास्थ्य बीमा गर्न निकै प्रशंसनीय प्रयास थालेका छन् ।

अन्तराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले बिल–मेलिण्डा गेट्स फाउण्डेशनसँग मिलेर नयाँ र जनमुखी बीमा उत्पादनको विकास र बीमा विशेषज्ञहरूलाई तालीम दिँदै आएको छ । त्यसैगरी बीमा नियमहरूको अन्तराष्ट्रिय संस्था आईएआईएसले पनि लघुवित्तमा निकै महत्वपूर्ण लगानी र उपलब्धिपूर्ण कार्य गरेको देखिन्छ ।

लघुवित्तका चुनौतीहरू पनि उल्लेखनीय छन् । जनचेतनाको तथा साक्षरता न्यून भएकाले बीमाको व्यावहारिक कार्यान्वयनमा थुप्रै समस्या छन् । अत्याधिक बढी सञ्चालन खर्च लघुबीमाको प्रमुख चुनौतीका रूपमा रहेको छ । एजेण्ट खर्च, बीमाशुल्क सङ्कलन, दाबी भुक्तानीका समस्या, उपलब्ध उत्पादनहरू निम्नमध्यमवर्ग र निम्नवर्गका जनतासम्म पुग्न नसक्नु पनि लघुबीमाका चुनौती नै हुन् । बीमासम्बन्धी सूचना र समझदारीको अभाव, न्यून माग, सेवा र सुरक्षण भरपर्दानहुनु पनि यस क्षेत्रको चुनौती हो । स्थानीय पुनर्बीमा नभएकाले ठूलो जोखीमबाट पर्न सक्ने आर्थिक भार तिर्न कम्पनी नै अघि सर्नु परेको छ । बीमा व्यवसायमा नाफाको प्रतिशतसमेत कम छ । बीमाको नियामक निकायमा पनि बीमा क्षेत्रको विश्लेषण र अनुसन्धान गर्ने सक्षम जनशक्तिको अभाव छ । नियामक निकायको यो कमजोर पक्षले बीमामा थप चुनौती सृजना गरेको छ ।

शहरीक्षेत्रका उच्च र मध्यमवर्गका व्यक्ति तथा संघसंस्थालाई बीमामा जोड्न बीमा कम्पनीहरूले ठूलो सङख्यामा अभिकर्ता परिचालन गरेको देखिन्छ । ठूला बीमा कम्पनीहरू शहरकेन्द्रित छन् । ग्रामीण क्षेत्रका बजारमा रहेको आर्थिक क्रियाकलापलाई लघुबीमाले मात्र समेटेको देखिन्छ । तीव्र गतिमा बढेको सूचनाप्रविधि, ग्रामीण क्षेत्रमा खुलेका सहकारी संस्था र वैदेशिक रोजगारबाट भित्रने विप्रेषण बीमाका लागि नयाँ आर्थिक स्रोत हुन् । यी स्रोतलाई लघुबीमाको अवधारणामार्फत आकर्षित गरी लघुबीमा कम्पनीहरू अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशातर्फ केन्द्रित छन् ।

स्वीकृत बीमा परम्परा र सैद्धान्तिक अवधारणा अन्तर्गत बीमा कम्पनीहरूले सञ्चालन गर्ने लघुबीमाहरू सानो बीमांश भए पनि विशेष रूपले डिजाइन गरिएका हुन्छन् । लघुबीमाका उत्पादन सामाजिक सुरक्षण र बजारकेन्द्रित सोच राखी अन्य उत्पादनसरह नै नियमन गरिनुपर्ने वस्तु हुन् । नीतिनिर्माता, बैंक र वित्तीय क्षेत्रका लगानीकर्ता(दाता) हरूले यसलाई व्यावसायिक सीमाभित्र सञ्चालन गर्ने वातावरण बनाउनु जरुरी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.