September 8th, 2018

स्वास्थ्य बीमा कार्यक्रम के हो ? यस्ता छन् सुविधाहरु

बैंकिङ खबर । आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गरी आर्थिक कठिनाइ भोग्न नपरोस् र स्वास्थ्य सेवामा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारले ल्याएको बृहत् सामाजिक साझेदारी कार्यक्रम हो । स्वास्थ्य बीमा कार्यक्रम परिवारमा आधारित कार्यक्रम हो । स्वास्थ्य सेवाको क्षेत्रमा पूर्वभुक्तानी र जोखिम न्यूनीकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्ने, वित्तीय साधनको समतामूलक परिचालन गर्ने र स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षता र जवाफदेहितामा सुधार ल्याउनुपर्ने यस कार्यक्रमको उद्देश्य रहेको छ ।  

यस कार्यक्रममा सदस्य बन्न चाहेको खण्डमा घर दैलोमा दर्ता सहयोगीहरू पुग्छन् र ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार रु. २५०० तिर्नुपर्छ र यदि ५ जनाभन्दा बढी सदस्य भए, प्रति थप सदस्य रु. ४२५ को दरले थप रकम तिर्नुपर्छ । आवश्यक पर्दा प्राथमिक स्वास्थ्य केन्द्र तथा सूचीकृत स्वास्थ्य संस्थाबाट अन्तरङ्ग सेवामा परीक्षात्मक, शल्यक्रिया र औषधिजस्ता शुल्क लाग्ने सेवाका हकमा ५ जनाको परिवारका लागि प्रतिपरिवार ५० हजारसम्मको सेवा बीमामार्फंत उपलब्ध गराइनेछ । यदि ५ भन्दा थप सदस्य भए रु. १० हजारको दरले बढी रु. १,००,००० सम्मको सेवा उपलब्ध गराइन्छ । 

नेपाल सरकारबाट निःशुल्क उपलब्ध गराइएका सम्पूर्ण स्वास्थ्य सुविधाहरू यथावत रहनेछन् । स्वास्थ्य बीमा कार्यक्रममा कस्मेटिक सर्जरी, सहायक यन्त्रहरू जस्तै कृत्रिम अङ्गहरू, वर्षमा एक पटकमा रु. ५०० भन्दा बढी मूल्यको चस्मा, सुन्ने यन्त्र, कृत्रिम गर्भधारणका सेवाहरू, लिङ्ग परिवर्तन, व्यक्तिगत झैझगडा भई चोटपटक लागि सेवा, मादक वा लागू पदार्थ सेवनका कारणबाट भएको दुर्घटनासम्बन्धी उपचार र भर्गपतन सेवा यसले व्यहोर्र्दैन ।  

स्वास्थ्य बीमा कार्यक्रममा जो कोही जुनसुकै समयमा सदस्य बन्न सकिन्छ । तर सदस्यको व्यक्तिगत विवरण सूचना प्रणालीमा राख्नुपर्ने भएकोले सेवा लिन केही समय कुर्नुपर्ने हुन्छ । जस्तैः वैशाख, जेठ र असारमा सदस्य बन्नेले भदौ १ गतेबाट अर्काे साउन मसान्तसम्म सेवा पाउन सक्छ, त्यसैगरी साउन भदौ, असोजमा सदस्य भएकाहरूले मंसिर १ गतेबाट कार्तिक मसान्तसम्म, कार्तिक, मंसिर, पुसकाहरूले फागुन १ गतेबाट र माघ, फागुन, चैत मसान्तमा दर्ता गर्नेहरूको भने जेठ १ गतेबाट वैशाख मसान्तसम्म सेवा क्रियाशील हुनेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]