September 2nd, 2018

राष्ट्र बैंकको कार्यालयमा प्रदेश मन्त्रीको धर्ना

बैंकिङ खबर । प्रदेश सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका छन् । आइतबार मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेको हो ।

प्रदेश सरकारले आइतबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिएपनि संघीय सरकार मातहतका कार्यालयहरु खुलेका छन् । यसअघि रक्षाबन्धनको दिन प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै अन्तरिम मामिलामन्त्री यादवले नै राष्ट्र बैंकको जनकपुर कार्यालयको मुलगेटमा ताला लगाएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक र समग्र वित्तीय प्रणाली केन्द्रीय सरकारको मातहतमा हुने स्पष्ट कानुनी व्यवस्था रहेको छ । तर, प्रदेश सरकारले  २०७४ मा बनेको र २०७५ भदौ बाट लागु भएको देवानी कार्यविधिको दफा ५१ लाई आधार मानेर आफूले घोषणा गरेको विदाको अवज्ञा गरेको प्रति आपत्ति जनाएको छ । उक्त कार्यविधिको स्पष्टिकरणमा ‘यस दफाको प्रयोजनको लागि सार्वजनिक बिदा भन्नाले नेपाल सरकार वा प्रदेशको हकमा सम्बन्धित प्रदेश सरकारले सरकारी कार्यालय वा अदालत बिदा हुने भनी सुचित गरेको पुरै वा आधा दिनको बिदा सम्झन पर्छ’ भनिएको छ ।.उक्त बुँदामा नेपाल राष्ट्र बैंक प्रदेश सरकार माताहतमा रहने भन्ने उल्लेख गरिएको छैन ।  

नेपाल राष्ट्र बैंकले आवश्यक परेको खण्डमा ३६५  दिन नै सेवा दिँदै आएको छ । आफू मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई समेत राजस्व संकलन लगायतका सरकारी प्रयोजनका लागि भन्दै कतिपय शनिबारको विदा समेत कटौती गरी कार्यालय संचालन गर्न निर्देशन दिने गरेको छ । यसरी केन्द्रीय सरकारले समेत हस्तक्षेप नगरेको राष्ट्र बैंकमा प्रदेश सरकारले आफ्नो निर्णयको अवज्ञा गरेको भन्दै कार्यालयमै पुगेर ताला लगाउनु जायज देखिँदैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]