fbpx

विकट जिल्ला बाजुरामा पनि  हजारौँ उद्यमी जन्माउँदै लघुवित्त

August 1, 2018

रेखा चन्द/बैंकिङ खबर । जिल्लागत आधारमा हेर्दा, प्रायः जसोमा कुनै न कुनै बैंक तथा वित्तीय संस्था पुगेका छन् । तर, जिल्लाका अलि सुगम स्थान छानेर बैंकहरु स्थापित भएका छन् । यसले गर्दा, अझै पनि विपन्न वर्गकाका मानिसहरु वित्तीय पहुँचमा समेटिन सकेका छैनन् । विपन्न वर्ग एवम् दुर्गम भेगका जनतालाई लक्षित गरिएको लघुवित्त कार्यक्रम समेत सबै गाउँमा पुग्न सकेका छैनन् । हिमाली एवम् पहाडी भेगका अधिकांश स्थानहरुमा अझै पनि लघुवित्तको सेवा पुग्न सकेको छैन । 

बाजुरामा पाँच लघुवित्त
वाणिज्य बैंककै शाखा हरेक स्थानीय तहमा पुर्याउने भनिरहँदा अतिविकट मानिएको बाजुरा जिल्लाभरमा हालसम्म जम्मा पाँच वटा लघुवित्त पुगेका छन् । जसमध्ये, चार वटा त मार्तडी बडीमालिका नगरपालिकामै छन् । यस जिल्लामा नै केन्द्रीय कार्यालय राखेर भने हालसम्म कुनै पनि लघुवित्त वित्तीय संस्था संचालनमा आएका छैनन् ।

हजारौँ उद्यमी
जम्मा पाँच वटा लघुवित्तले यहाँका थुप्रै व्यक्तिलाई उद्यमी बनाएका छन् । एउटा शाखाले झन्डै हजार उद्यमी जन्माएको छ । निर्धन उत्थान बैंक लिमिटेडले मात्र ९२३ जनालाई उद्यमी बनाएको मार्तडी बडीमालिका नगरपालिकास्थित निर्धन उत्थान बैंकका शाखा प्रबन्धक नारायनदत्त सापकोटाले बताए । बाजुराका सर्वसाधारणले विशेषगरी होटेल, मोबाइल पसल, कपडा पसल, किराना पसल, भैंसी पालन जस्ता कार्यका लागि लघुवित्तको कर्जा उपभोग गर्ने गरेका छन् । 

कर्जाको दुरुपयोग पनि
जिल्लामा कर्जाको सदुपयोग गरेर उद्यमशीलतातर्फ लाग्ने मात्रै छैनन्, दुरुपयोग गर्नेहरु पनि छन् । मानिसहरुले एउटा व्यवसाय गर्छु भनेर लिएको कर्जा अन्य घरायशी समस्यामा खर्च गर्ने गरेको पाइएको छ । पहाड तथा तराईमा जस्तो ३।४ सय घर नभई एकदमै पातलो वस्ती हुने यस भेगमा सबै लघुवित्तहरु घर घरमा गएर सदस्य बनाइरहेका छन् । त्यसैले, यहाँका प्रायः व्यक्तिहरु एकभन्दा बढी लघुवित्तमा सदस्य बनेका छन् । यसले गर्दा पनि लघुवित्तको कर्जाको दुरुपयोग बढीरहेको निर्धन उत्थान बैंकका शाखा प्रबन्धक सापकोटाको बुझाई छ ।

स्थानीयको सपोर्ट सहकारीलाई
जिल्लामा स्थानीय निकायको सपोर्ट भने माइक्रोफाइनान्सभन्दा बढी सहकारी संस्थालाई छ । स्थानीय व्यक्तिहरु नै मिलेर संचालन गरिएको हुँदा स्थानीय नियकाहरुले सहकारीलाई नै बढावा दिन खोज्छन् । यद्यपि, सहकारीका कारण माइक्रोफाइनान्सलाई अप्ठेरो भने नपर्ने निर्धन उत्थान बैंकका शाखा प्रबन्धक सापकोटा बताउँछन् । सहकारीको तुलनामा माइक्रोफाइनान्सहरुले धेरै सस्तोमा कर्जा दिने भएकाले माइक्रोफाइनान्सहरुप्रति सर्वसाधारणको आकर्षण राम्रै रहेको उनले बताए । गाउँका अगुवा मानिनेहरुले  आफूलाई फाइदा हुने कामलाई मात्रै बढावा दिने र आफूलाई व्यक्तिगत फाइदा नहुँदा स्थानीयवासीहरुलाई भड्काउने गर्दछन् । यसरी, स्थानीय निकाय एवम् ठूला नेताहरुकै असहयोगका बाबजुद पनि बाजुरामा माइक्रोफाइनान्स क्षेत्रले राम्रै स्थान बनाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.