July 31st, 2018

दुर्गम भेगलाई ध्यानमा राखेर लघुवित्त कार्यक्रम सञ्चालन गर्नुपर्छ

लघुवित्त वित्तीय संस्थाहरुले दुर्गम भेगसम्म पुगी विपन्न वर्गका मानिसलाई ससानो कर्जा उपलब्ध गराएर उद्यमी बनाइरहेका छन् । गाउँगाउँमा गएर गरीब वर्गको जीवनस्तर उकास्न लघुवित्त क्षेत्रले ठूलो भूमिका खेलिरहेको छ । कर्जा मात्र नभएर व्यवसायी तालिम समेत दिएर थुप्रै उद्यमीहरुको उत्पादन लघुवित्तहरुले गरिरहेका छन् । यसैबीच, लघुवित्त र उद्यमशीलता, लघुवित्त क्षेत्रका समस्या लगायतका विषयमा केन्द्रीत रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी विजय पराजुलीले सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृ बलराम पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

लघुवित्त भनेको के हो ? यसले के के काम गर्दछ ?
बास्तवमा, लघुवित्त भनेको गरिबहरुलाई लक्षित गरिएको एउटा कार्यक्रम हो । लघुवित्तले गरिब तथा न्युन आय भएका मानीसहरुको सामाजिक तथा आर्थिक पहुँचमा अभिबृद्धि गर्दछ । यस्ता वित्तीय संस्थाहरुले ग्रामिण क्षेत्रका जनताहरुको आर्थिक स्तर माथि उकास्न महत्वपुर्ण भुमिका निर्वाह गरेका हुन्छन् । खासगरी गरिब तथा विपन्न वर्गलाई लक्षित गरी लघुवित्त विकास बैंकहरु सञ्चालनमा आएका हुन् । स्वदेशमै बसेर थोरै लगानीबाट उद्यमशिलता हासिल गर्नका लागि लघुवित्तहरुले महत्वपुर्ण भुमिका खेलेका हुन्छन् । 
समग्रमा भन्दा, लघुवित्तले गरिबी निवारणको एउटा साधनको रुपमा काम गर्दछ । आर्थिक रुपमा विपन्न वर्गहरुमा वित्तीय पँहुच पुर्याउन लघुवित्त वित्तीय संस्थाले भुमिका खेलेको हुन्छ । नेपालमा मात्र नभई विश्वव्यापी रुपमा नै गरिब व्यक्तिहरुको जीवन स्तर सुधार गर्नको लागि लघुवित्त कार्यक्रमको अवधारणा ल्याइएको हो ।  

देशको अर्थतन्त्रमा लघुवित्तको कस्तो भुमिका रहेको हुन्छ ?
देशको अर्थतन्त्रमा लघुवित्तले एउटा मेरुदण्डको रुपमा काम गर्दै आएको छ । नेपाल एउटा गरिब मुलुक हो, जहाँ सेवा तथा सुविधाहरुको विकास प्रचुर मात्रामा भएको छैन । अहिलेको समयमा पनि कतिपय सर्वसाधारणहरु बैंकिङ सेवा सुविधा लिनबाट बञ्चित रहेका छन् । यस्तो अवस्थामा लघुवित्त वित्तीय संस्थाले सहयोग गर्दै आएको छ । आर्थिक स्थितीमा सुधार गर्ने उद्देश्यले नै लघुवित्त कार्यक्रम ल्याइएको हो । देशको विभिन्न दुरदराजमा रहेका गरिबहरुमा वित्तीय पँहुच पुर्याउने उद्देश्यले लघुवित्तलाई बढी प्रथामिकता दिएर सञ्चालन गरिएको हो । तर, गरिब मानीसहरुको जीवनस्तर आर्थिक रुपमा मात्रै सुधार गर्दैमा उनीहरुको स्तरोन्नति हुन्छ भन्ने हैन । आर्थिक अवस्था सँगसँगै सामाजिक रुपमा सुसुचित गराउने पाटोलाई पनि ध्यान दिनु जरुरी छ । कुनै गरिब मानिसलाई पैसा दिएर मात्र उसको अवस्थामा सुधार आउँदैन । त्यसको लागि सामाजिक रुपमा सिपको विकासलाई पनि सँगसँगै लैजानुपर्छ । अनि मात्र मानिसहरुको जीवनशैलीमा सुधार आउँछ । यसका लागि लघुवित्तहरुले ठूलो भूमिका खेलिरहेका छन् ।
  

लघुवित्त र लघुउद्यमशीलताबीच सम्बन्ध कस्तो हुन्छ ?
लघुवित्त र लघुउद्यमशीलता फरक फरक विषयहरु हुन् । लघुवित्तको खासमा चार वटा प्रोडक्टहरु हुन्छन् : लघुकर्जा, लघुबचत, लघु रेमिट्न्यस र सिप विकास । साथै, लघुवित्तमा अहिले लघुबिमा पनि समायोजन हुन्छ । यी चार वटा प्रोडक्टहरुलाई समेटेर गरिबी तथा विपन्न वर्गहरुलाई मध्यनजर गर्दै लैजाने कार्यक्रम नै लघुवित्त हो । लघुउद्यमशिलता भनेको कुनै उद्यमी, सानो सानो स्केलको उद्योग, सानो सानो सिप विकास गर्ने उद्देश्यले स्थापित फ्याक्ट्री लगायत हुन् ।

यी दुई फरक विषय भए तापनि एक अर्कासँग अन्तरसम्बन्धित छन् । लघुवित्तले सानो सानो कर्जा उपलब्ध गराउँछ । साथमा विभिन्न तालिमहरुमार्फत सीप विकास र ज्ञान प्रवाहको काम पनि गर्छ । नेपालको सन्दर्भमा लघुवित्तको उद्देश्य भनेको उद्यमशीलतालाई नै सक्रिय रुपले अगाडी बढाउने, सिपको विकास गर्ने र उद्यमी बन्न चाहनेलाई कर्जा दिएर सहयोग गर्ने हो । 

लघुवित्तको संख्या बढ्दा वित्तीय क्षेत्रमा कस्तो असर पर्छ ? 
लघुवित्तको संख्या बढ्दा वित्तीय क्षेत्रमा असर पर्छ जस्तो मलाई विल्कुल लाग्दैन । लघुवित्तले गरिब तथा विपन्न वर्गहरुलाई ध्यानमा राखेर सानो सानो कर्जा धितो बिना उपलब्ध गराउँछ भने अन्य बैंकहरुले ठूला ठूला व्यवसायका लागि कर्जा दिन्छन् । लघुवित्तको पहुँच प्रायः जसो गाउँ गाउँमा रहेको हुन्छ । अब थपिने लघुवित्तहरु पनि ग्रामीण भेगमा नै बढी केन्द्रित हुन्छन् । यरकारण, लघुवित्तको ग्राहक र कार्यक्षेत्र नै फरक हुने भएकाले लघुवित्तको संख्या बढ्दा वित्तीय क्षेत्रलाई फरक पर्दैन ।

लघुवित्त क्षेत्रमा लगानीयोग्य पुँजीको अवस्था कस्तो रहेको छ ?
अहिलेको समयमा लघुवित्तहरुमा लगानीयोग्य पुँजीको अभाब मुख्य समस्या हो । भर्खरै आएको मौद्रिक नीतिले यो विषयलाई समेटेको छ । मौद्रिक नीति पछि लघुवित्तहरुले केही राहत पाएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्सलाई आफ्नो कुल लगानीको ५ प्रतिशत लघुवित्त कार्यक्रम अर्थात विपन्न वर्गमा लगानी गर्नुपर्र्छ भनिएको छ । त्यसले बजारमा पुँजीको प्रर्याप्तता बृद्धि गर्दछ । वाणिज्य बैंकहरुमा सिसिडी रेसियो घटइाएको छ । नेपाल राष्ट्र बैंकमा रहेको रकम पनि बजारमा आउने अवस्था रहेको छ । यदि त्यो रकम बजारमा आयो भने लघुवित्तलाई सहज हुन्छ ।

तपाईँ आबद्ध रहनुभएको सिभिल लघुवित्तको बारेमा बताईदिनहोस् न ।
सिभिल लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । तत्कालीन अवस्थामा आइएलएफसिओ भन्ने फाइनान्स कम्पनीको साहयक कम्पनीको रुपमा सिभिल लघुवित्तको स्थापना २०६९ सालमा भएको हो । आइएलएफसिओ फाइनान्स कम्पनी सिभिल बैंकमा मर्ज भएपछि सिभिल लघुवित्त सिभिल बैंकको सब्सिडायरी कम्पनीको रुपमा काम गर्दै आएको छ । हालसम्म सिभिल लघुवित्तले २५ वटा शाखाहरु विस्तार गरिसकेको छ । गत  आर्थिक वर्षमा यस लघुवित्तले ६० करोडको कारोबार गरेको छ । साथै, यसले लघुबचत पनि गर्दै आएको छ । गरिब तथा विपन्न वर्गहरुलाई सानो सानो पैसा पनि बचत गर्नुपर्छ भनेर शिक्षा दिँदै आएको छ । 

अहिलेको समयमा लघुवित्त वित्तीय संस्था सस्याहरु के के छन् ?
लघुवित्तहरु गाउँमा भन्दा पनि सहरकेन्द्रीत भएका छन् । सहरमा धेरै बैंक तथा वित्तीय संस्थाहरु भएकाले त्यहाँका जनताले वित्तीय सेवा पाइरहेका छन् । तर, गाउँमा बैंक पुग्न सकेका छैनन् । त्यसमाथि, लघुवित्तहरु पनि सहरकेन्द्रीत भइदिँदा ग्रामीण भेगका जनताहरु वित्तीय पहुँचमा आउन सकेका छैनन् । 

अघिल्लो वर्ष लघुवित्तमा पुँजीको धेरै नै अभाव थियो । नेपाल राष्ट्र बैंकले पनि १८ प्रतिशतभन्दा बढी व्याजमा कर्जा दिन नपाउने व्यवस्था गरेको थियो । लघुवित्तको प्रसाशनिक खर्चहरु अरु वित्तीय संस्थाहरुको भन्दा बढी हुन्छ । गाउँ गाउँमा जानुपर्छ । यसका लागि लघुवित्तहरुमा पुँजीको अभाव हुन्छ । दुर्गम तथा गाउँ गाउँमा जादा बढी खर्च लाग्ने हुँदा लघुवित्तमा पुँजीको अभाव देखिन्छ । 

पछिल्लो समयमा आएर वाणिज्य बैंक र विकास बैंकहरुले पनि लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । यसले गर्दा, एउटै व्यक्तिले  धेरै ठाउँबाट कर्जा लिने समस्या बढ्दो रुपमा देखिएको छ । लघुवित्तहरुको शाखा तथा उपशाखा मात्र नभएर संस्थाहरु नै धेरै रहेका छन् । यो संख्या अझै बढ्ने क्रममा छ ।  यसले अस्वस्थ प्रतिष्पर्धा बढाएको छ भने दोहोरो कर्जा प्रणालीलाई पनि बढावा दिएको छ । धेरै संस्थाबाट एउटै व्यक्तिले कर्जा लिँदा कर्जाको भार बढिरहेको छ । यसले लघुवित्त क्षेत्रमा ठूलो चुनौति सिर्जना गरेको छ ।  

यी समस्यालाई कसरी समधान गर्न सकिन्छ ?
प्रतिस्पर्धा कम गर्ने अर्थात दोहोरो कर्जा समस्या हटाउन शाखा खोल्ने नीतिमा कम गर्नुपर्छ । अन्य कुराहरुमा त मौद्रीक नीतिले लघुवित्त क्षेत्रका समस्याहरुलाई केही हदसम्म सहज बनाएको छ । लघुकर्जा सामुहिक जमानीको आधारमा कर्जाको सिमा ७ लाखबाट १० लाखसम्म लगानी गर्न पाउने भनिएको छ । यो लगानीकर्ताहरुलाई सहजीकरणको विषय बनेको छ । 

अन्त्यमा, के भन्न चाहानुहुन्छ कि ?
दुर्गम  केन्द्रित भनिए तापनि अझै हिमाली क्षेत्र लगायत पहाडी भेगका दुर्गम अर्थात भौगोलिक विकटता भएको ठाउँमा लघुवित्तले समेत सेवा पुर्याउन सकेका छैनन् । कतिपय  तराईका विपन्न वर्गमा समेत लघुवित्तको सेवा पुग्न सकेको छैन । त्यसकारण आगामी दिनहरुमा लघुवित्त कार्यक्रमहरुलाई अगाडी लैजाँदा ती भेगहरुलाई ध्यानमा राखेर लैजानुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]