July 19th, 2018

हजारौँलाई बैंकिङ क्षेत्रमा रोजगारीको अवसर

बैंकिङ खबर । वित्तीय क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर आउँदैछ । बैंक तथा वित्तीय संस्थाहरु शाखा विस्तारमा लागी परेको हुँदा हजारौँको संख्यामा रोजगारी खुल्न लागेको छ । बैंक तथा वित्तीय संस्थाहरु आफैँ गाउँगाउँमा पुग्ने भएकाले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनेछ ।

वाणिज्य बैंकहरु ७५३ वटै स्थानीय तहमा शाखा पुर्याउने कार्यमा जुटेका छन् । २७ वटा बैंक मिलेर धमाधम आफ्ना शाखाहरु विस्तार गरिरहेका छन् । ती शाखाहरुका लागि बैंकले स्थानीय लेभलबाट कर्मचारी छनौट गर्नेछन् । २०७५ असार २४ गतेसम्मको तथ्यांकअनुसार संघीय व्यवस्था अन्तर्गत गठित ७५३ स्थानीय तहहरुमध्ये ५५६ तहमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको छ । बाँकी १९७ वटा स्थानीय तहमा पनि छिटै वाणिज्य बैंकहरुले शाखा विस्तार गर्नेछन् ।

यसबाहेक, विकास बैंकहरुले पनि शाखा विस्तारलाई प्राथमिकतामा राखेर आफ्नो योजनाहरु बनाइरहेका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरु पूर्वदेखि पश्चिम र  हिमालदेखि तराईसम्म फैलिँदै छन् । लघुवित्तको त संख्या नै थपिँदैछ । अहिले ६३ वटा लघुवित्त संस्थाहरु संचालन रहेका छन् । संचालन अनुमतिका लागि नयाँ आवेदन लिन बन्द गरेपनि राष्ट्र बैंकले पहिले नै आइसकेको आवेदनलाई अनुमति दिइरहेको छ । यसआधारमा बढ्दै जाने माइक्रोफाइनान्सहरुलाई पनि कर्मचारीको आवश्यकता पर्ने हुन्छ ।

यसरी, अबका दिनहरुमा बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी अवसर सिर्जना हुने भएकाले व्यवस्थापन संकायमा अध्ययन सकेर बसेका व्यक्तिहरुले तयारी गर्नु राम्रो हुन्छ । बैंकिङ नीति तथा नियमहरु, बैंकमा प्रयोग हुने गरेका प्रविधिहरु लगायतका कुराहरुको अध्ययन गर्दै गरे यो पटक तपाईँले खाडी मुलुक जानेबारे सोच्नु पर्दैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]