July 15th, 2018

नेपाल बैंकको शाखा १५५ पुग्दै, अब कहाँ-कहाँ खुल्दैछन् ?

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले बैंकिङ पहुँचभन्दा बाहिर रहेका विभिन्न स्थानहरुमा शाखा विस्तार गर्ने योजना बनाएको छ । हालसम्म बैंकले १३६ वटा शाखा मार्फत बैंकिङ सेवा दिँदै आएको छ । कुल शाखामध्ये, नेपाल बैंकका सबैभन्दा धेरै ४१ वटा शाखा प्रदेश नं. ३ मा रहेका छन् भने सबैभन्दा थोरै प्रदेश नं. ६ र ७ मा ५।५ वटा मात्रै रहेका छन् । यसबाहेक, बैंकले प्रदेश नं १ मा २६ वटा, प्रदेश नं २ मा २५ वटा, प्रदेश नं ४ मा १८ वटा र प्रदेश नं ५ मा १८ वटा शाखा संचालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै नेपाल बैंकका १६ वटा शाखा संचालनमा रहेका छन् । बैंकको क्षेत्रीय कार्यलयहरु विराटनगर, विरगञ्ज, नेपालगञ्ज र पोखरामा रहेका छन् । 

बैंकले आगामी दिनमा पनि शाखा विस्तारलाई प्राथमिकतामा राख्ने योजना बनाएको छ । सबै स्थानीय तहहरुमा बैंकिङ पहुँच पुर्याउने राष्ट्र बैंकको योजनालाई सघाउँदै नेपाल बैंकले विभिन्न १९ गाउँपालिका तथा नगरपालिकामा शाखा विस्तार गर्ने तयारी तीव्र पारेको छ । 

बैंकले प्रदेश नं. १स्थित इलामको देउमाई नगरपालीका, धनकुटाको पाख्रीबास नगरपालीका र मोरङको सुन्दरछरैया नगरपालीकामा शाखा विस्तार गर्दैछ । प्रदेश नं २ स्थित बर्दिबास नगरपालीकामा पनि छिटै नै नेपाल बैंकको शाखा पुग्दैछ । प्रदेश नं ३ स्थित सिन्धुलीको दुधौली नगरपालीका, धादिङको निलकण्ठ नगरपालीका, काठमाडौँको बानेश्वर र मकावनपुरको हेटौँडामा शाखा विस्तार गर्न लागेको बैंकले प्रदेश नं ४ स्थित गोरखाको सिरान्चोक गाउँपालीका र कास्कीको तालचोकमा नयाँ शाखा स्थापना गर्न लागेको छ । यसबाहेक, प्रदेश नं ५मा रुपन्देहीको सैनामैना नगरपालीका र आभासत्य गाउँपालीका, गुल्मीको चन्द्रकोट गाउँपालीका तथा दाङको तुलसीपुर उपमाहनगरपालीकामा पनि नेपाल बैंकको शाखा छिटै विस्तारित हुँदैछन् । प्रदेश नं ६ मा रोल्पाको राप्ती गाउँपालीका र माडी गाउँपालीका तथा डोल्पाको जगदउल्ला गाउँपालीकामा शाखा विस्तार गर्ने तयारीमा रहेको नेपाल बैंकले प्रदेश नं ७ मा कञ्चनपूरको शुक्लाफाट नगरपालीका र वेदकोट नगरपालीकामा समेत शाखा कार्यालयहरु संचालनमा ल्याउँदैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]