July 13th, 2018

राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या २०० नाघ्यो

बैंकिङ खबर । सरकारी स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंकको  शाखा संख्या दुई सय नाघेको छ । शुक्रबारदेखि दुई वटा नयाँ शाखाहरु संचालनमा आएसँगै बैंकको शाखा संख्या २०१ पुगेको छ । यी शाखाहरुले मुलुकका ७३ जिल्लामा सेवा दिइरहेका छन् ।

शुक्रबार बैंकले डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं. ४ स्थित इल निलदहमा शाखा कार्यालय मुड्केचुला र पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ५ स्थित शाखा कार्यालय सुवर्णपुरबाट कारोबार शुभारम्भ गरेको छ । 

यी दुई शाखाबाहेक राष्ट्रिय वाणिज्य बैंकले यसै साता सात वटा शाखा विस्तार गरेको छ । बैंकले विहीबार (२८ गते) मात्रै मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउँपालिका वडा नं. ४ स्थित हुम्देमा शाखा कार्यालय नेस्याङ्ग, रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ स्थित शाखा कार्यालय मौलापुर, रौतहट जिल्लाको इशनाथ गाउँपालिका वडा नं. २ स्थित औरेयामा शाखा कार्यालय इशनाथ र मोरङ्ग जिल्लाको कटहरी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय कटहरीबाट कारोबार सुरु गरेको थियो । त्यस्तै, सोमबार (असार २५ गते)देखि सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं. ६ स्थित कपिलाकोट शाखा कार्यालय, बझाङ्ग जिल्लाको मष्टा गाउँपालिका वडा नं. ३ स्थित भातेखोलामा मष्टा शाखा कार्यालय र ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित शाखा हाङ्गपाङ्ग कार्यालयबाट कारोबार सुरु गरेको थियो ।

सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप राष्ट्रिय वाणिज्य बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । 

शाखा कार्यालयबाहेक बैंकले १३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्गमार्फत पनि सेवा दिइरहेको छ ।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले एक खर्ब ५३ अर्ब निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब कर्जा लगानी गरि तीन अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]