July 9th, 2018

लघुवित्तलाई कष्ट अफ फण्डको आधारमा कर्जा दिनुपर्छ 

मिन बहादुर बोहोरा । नेपालमा लघुवित्त वित्तीय संस्थाहरुले धेरै राम्रो काम गरिरहेका छन् । बैंकहरु नपुगेका ठाउँहरुमा पुगेर लघुवित्तहरुले वित्तीय सेवा प्रदान गरेका छन् । आफ्ना दाजुभाई, माईतिहरु, इष्टमित्रले एक रुपैयाँ नपत्याएको मान्छेहरु लघुवित्तबाट विनाधितो कर्जा लिई उद्यमी बनेका छन् । लघुवित्तको  महत्व सहरवासीलाई भन्दा पनि दुर्गम भेगका वासिन्दाहरुलाई बढी थाहा हुन्छ । 

लघुवित्तको संख्या धेरै भएको छैन
अहिले लघुवित्तहरुको संख्या धेरै बढिसकेको छ । नयाँ नयाँ संस्थाहरुले पनि अहिले लाइसेन्स पाइरहेका छन् । त्यसैले, लघुवित्तहरुको भीड भयो, संख्या अनावश्यक भयो भन्ने कुराहरु आइरहेको छ । अझै पनि हाम्रो देशका कतिपय गाउँमा बाटोघाटो, बत्ती नपुगेका कारणले बैंकिङ सेवा सुविधाहरु पाइँदैनन् ।  पुर्व पश्चिम राजमार्ग, पृथ्वि राजमार्ग, सिद्धार्थ राजमार्ग लगायतका हाइवेको छेउछाउमा बैंकहरुको भीड देखिन्छ । तर, सडक नै नपुगेका, विद्युत् नभएका, इन्टरनेट नभएका भित्रि ग्रामीण भेगहरुमा बैंकहरु पुगेका छैनन् । अहिले राष्ट्र बैंकले हरेक गाउँपालिकामा एउटा कमर्सियल बैंक नै पुर्याउने नीति लिएका कारण यो अवस्थामा केही सुधार आएको छ । कतिपय गाउँहरुमा लघुवित्त संस्थाहरु पनि जाने क्रममा रहेका छन् । यसरी अझै पनि वित्तीय पहुँच मुलुकभर विस्तार नभएको परिप्रेक्ष्यमा लघुवित्तको संख्या धेरै भएको भन्ने अवस्था छैन । राष्ट्र बैंकले अब लाइसेन्स दिन लागेका संस्थाहरुलाई व्यवस्थापन गरी ग्रामीण भेगहरुमा पठाउन सक्यो भने वित्तीय पहुँचमा अझ बढी जनता समेटिन सक्नेछन् ।

रोजगारीका अवसर प्रशस्त छन्
मान्छेहरु रोजगारी पाइँदैन भन्दै भौतारिरहेका छन् । गाउँतिर गयो भने रोजगारी गर्ने व्यक्ति नै पाइँदैन । खासमा अवसर नपाएर भन्दा पनि नदेखेर प्रायः नेपालीहरु बेरोजगार घुमिरहेका छन्, वैदेशिक रोजगारीमा गइरहेका छन् । मान्छेहरुले एकैपटक ठूलो सपना देखदा यस्तो समस्या आएको हो । गाउँगाउँमा गएर लघुवित्तहरुले उद्यमी जन्माइरहेका छन् । ती उद्यमहरुबाट कतिलाई रोजगारी मिलेको छ । बैंक तथा वित्तीय संस्था आफैँले पनि कर्मचारीहरु नियुक्त गरिरहेका छन् । शाखा विस्तारका लागि बैंकहरुलाई कर्मचारीको आवश्यकता परिरहेको हुन्छ । यस्ता अवसरहरु नदेख्दा समस्या भएको छ ।

लघुवित्त र नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले हासम्म लघुवित्त क्षेत्रलाई धेरै सहयोग गरेको छ । अबका दिनमा राष्ट्र बैंकले लघुवित्तहरुलाई कष्ट अफ फण्डको आधारमा होलसेल रुपमा क वर्ग, ख र ग वर्गका बैंकबाट कर्जा लिने व्यवस्था मिलाउनुपर्छ । यति भये भने हामी अझ दुर्गम गाउँसम्म शाखा लिएर जान सक्छौँ । त्यस्तै, अहिलेसम्म लघुवित्तले केके काम गर्यो भन्ने कुराको यकिन तथ्यांक  छैन । त्यसैले, माइक्रोफाइनान्सले केके काम गर्यो ? समाजिक स्तरलाई अगाडी बढाइरहेको छ कि छैन ? लगायतका कुराहरुको अध्ययन गरियो भने धेरै राम्रो  हुन्छ । यी दुई काम राष्ट्र बैंकले लघुवित्तका लागि गरिदेओस् भन्ने हाम्रो चाहना हो । (कालिका माइक्रोके्रडिट डेभलोमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बोहोराद्धारा मिडिया इन्टरनेलले आयोजना गरेको एक कार्यक्रममा व्यक्त विचारमा आधारित)  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]