July 5th, 2018

बीमा बजारमा थपियो नयाँ कम्पनी

बैंकिङ खबर । विहीबारदेखि नेपालको बीमा बजारमा नयाँ बीमा कम्पनी थपिएको छ । बीमा समितिवाट अनुमति लिएर संचालनको तयारीमा रहेको निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले दर्ता भएको दश बर्षपछि आफ्नो औपचारिक कारोबार थालेको छ । यससँगै नेपालमा निर्जिवन बीमा कम्पनीको संख्या १९ पुगेको छ ।

कम्पनीको कर्पोरेट कार्यालय सिटिसि मल, सुन्धारामा रहेको छ । ०६४ साल चैत्र २० गते कम्पनी दर्ता भई कारोबार अनुमतिका लागि बीमा समितिमा आवेदन गरेको थियो । यसै आर्थिक बर्षमा कम्पनीले संचालन अनुमति पाएको थियो ।

कम्पनीमा नेपालको प्रतिष्ठित व्यापारिक घराना, वाणिज्य बैंक, इन्भेष्मेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रबद्र्धक, पर्यटन व्यवसायीका साथै विभिन्न सरकारी, गैर सरकारी संस्थाको उच्चपदमा रहि सेवावाट अवकास प्राप्त व्यक्तिहरु समेतको लगानी रहेको छ । 

कम्पनीको संस्थापक सेयरधनी समुहमा १०४ जना संस्थापक सेयरधनीहरु रहेका छन् भने यस कम्पनीको प्रथम संचालक समितिमा बिनोद प्रसाद बिष्ट, मिन बहादुर गुरुङ्ग, आजाद श्रेष्ठ, राजेन्द्र प्रसाद कायस्थ, सागर गुरुङ्ग संचालक रहेका छन् । यस्तै बैद्यनाथ प्रसाद उपाध्याय कम्पनी सचिव रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्री नियुक्त भइसकेका छन् ।

कम्पनीको एक अर्ब रुपैयाँ जारी पुँजीमध्ये ७० करोड रुपैयाँ संस्थापकहरुले लगानी गरिसकेका छन् । बाँकि ३० करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने कम्पनीको योजना छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]