July 5th, 2018

सेयर बजारमा लामो समयपछि हरियाली

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ३६.०१ अंकले बढेर १२२४.४१ अंकमा पुगेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः २६.७७, ५८.६, ३७.२८, ५२.०२, ८.७८, ३२२.४३, ८.४८ र ५.९ अंकले बढेका छन् । व्यापार समूह स्थिर रहेको छ भने उत्पादनमूलक ३७.३४ अंकले घटेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि क्रमशः सुधार आउन थालेको छ । बुधबार २५ करोडको कारोबार भएको बजारमा विहीबार ४६ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १६८ वटा कम्पनीको १२ लाख एक हजार चार सय ३३ कित्ता सेयर छ  हजार छ सय २४ पटक खरिदविक्री हुँदा ४६ करोड २० लाख १८ हजार छ सय ३० रुपैयाँको कारोबार भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको तीन करोड ६७ लाख तथा छिमेक लघुवित्त र प्राइम बैंकको दुई करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, नविल बैंक, नविल बैंक प्रोमोटर, सानिमा माई हाइड्रो र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनीको ९६ लाख र मेगा बैंकको ९२ लाखमाथिको कारोबार भएको छ ।

युनाइटेड इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्त र युनाइटेड मोदी हाइड्रोका सेयरधनीले नौ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र कालिका माइक्रोक्रेडिटका सेयरधनीले आठ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । एनसीसी बैंक, सूर्या लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

जम्मा ११ वटा कम्पनीका सेयरधनीले मात्रै गुमाएका छन् । रैराङ हाइड्रो र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले क्रमशः ७.२७ र ५.७१ प्रतिशतका दरले गुमाएका छन् । युनिलिभर नेपाल, काबेली विकास बैंक, लक्ष्मी इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड, जेविल्स फाइनान्स, खानीखोला हाइड्रो, लक्ष्मी भ्यालु फण्ड र मितेरी डेभलपमेन्ट बैंकका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]